बैशाख २७, २०८२ शनिबार

रातारात गरिएको समाजवादीको एकता मसी नसुक्दै विभाजित

काठमाडौं । राजपासँग एकीकरण घोषणा गरेको विज्ञप्तिको मसी सुक्न नपाउँदै समाजवादी पार्टी विभाजित भएको छ । समाजवादीका करिब १० जना सांसद्ले पार्टी विभाजनको घोषणा गरेका हुन् ।

सनराइज खबरको सम्पर्कमा आएका समाजवादीका एक सांसद्ले भने– ‘उहाँहरुको एकीकरण घोषणाको अर्थ छैन । विज्ञप्ति दिएर पार्टी एकीकरण हुँदैन । हामी भोलि संसदीय दल विभाजन गरेर नयाँ दल दर्ता गर्छाैं ।’

समाजवादीका ती सांसद्ले समाजवादी र राजपा दुई पार्टी प्रचण्ड, बाबुराम र शेरबहादुर देउवाको स्वार्थमा समाप्त भएको दावी गरे । उनले भने– ‘राजपा र समाजवादीमा रहेकाहरुबाट मधेसी जनताले केही आश नगरे हुन्छ । मधेस आन्दोलनलाई हामी अब जनतामुखी बनाउँछौं । उहाँहरुले हामीलाई बदनाम गर्न खोज्दै हुनुहुन्छ । अपहरणमा परेको देखि लिएर अनेक किसिमका दुष्प्रचार गरिरहनुभएको छ ।’

‘दल विभाजन गर्छौं भनेर उहाँहरुले चाहिँ हामीलाई अपहरणको प्रयास गर्नुभएको छ, हामीलाई उहाँहरुबाट खतरा भएको छ, त्यसैले दल दर्ता नगरी हामीसँग रहेका साथीहरुको नाम भन्दैनौं’– समाजवादीका ती सांसद्ले सनराइज खबरलाई बताए ।

‘हामी बहुमत सांसद् छौं । उहाँहरुले केन्द्रीय समितिको बैठक नराखी र निर्णय नगरी गर्नुभएको एकीकरणको अर्थ छैन, त्यो एकीकरण मिडियालाई मसला मात्र हो, तर, हामी बकाइदा वैधानिक रुपमा विभाजित भएका छौं’– उनले भने – ‘उहाँहरुको एकीकरणले कानुनी मान्यता पाउँदैन तर हाम्रो विभाजनले कानुन अनुसार तत्कालै कानुनी मान्यता पाउँछ ।’

सनराइज खवरबाट साभार

प्रकाशित मिति : बैशाख १३, २०७७ शनिबार  ७ : ५६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]