जेष्ठ १, २०८२ बुधबार

झापाका मानवअधिकारकर्मीबिच चरम विवाद

बिर्तामोड । झापाका मानव अधिकारकर्मीले केहि दिनदेखि सामाजिक सञ्जालमा दोहोरी खेलिरहेका छन् । राष्ट्रिय मानव अधिकार प्रतिष्ठान र मानव अधिकार सञ्जालमा आवद्ध अधिकारकर्मीको विवाद सामाजिक सञ्जाल फेसबुकमा छताछुल्ल गर्ने काम भइरहेको छ ।

मानव अधिकारकर्मीलाई बौद्धिक जमातको अग्रस्थानमा राखिए पनि झापामा देखिएको पछिल्लो गतिविधिले उनीहरुको अभियानमा नागरिक तहबाट प्रश्न उठेको छ । दुवै संस्थाको अस्तित्वको लडाई जस्तै देखिने विवादले अधिकारकर्मीलाई दुईधु्रवमा विभाजन गरेको छ । सामाजिक सञ्जालमा गरिएका टिप्पणीले एकले अर्कालाई स्वीकार्नै नसकेको देखिन्छ ।

प्रतिष्ठानले बुधबार प्रेस विज्ञप्ति सार्वजनिक गर्दै मानव अधिकार सञ्जालका अध्यक्ष विष्णु खरेलले सार्वजनिक गरेको अभिव्यक्ति प्रति आपत्ति जनाएको छ । खरेलले प्रतिष्ठानलाई लक्षित गर्दै ‘सुताहा मानव अधिकारकर्मी’ भन्दै सञ्जालमा लेखेका थिए । मानव अधिकारको नाममा अहिलेसम्म सिङ्को पनि नभाँचेको भन्दै खरेलले लेखेका छन्, प्रतिष्ठानले सार्वजनिक गरेको विज्ञप्तिका बारेमा सञ्जालले समीक्षा गर्नेछ । प्रतिष्ठानको तर्फबाट अध्यक्ष नविन चापागाई सहितले संयुक्त रुपमा हस्ताक्षर गरेर विज्ञप्ति सार्वजनिक गरेका थिए ।

मानव अधिकारकर्मी खरेलले पहिलो पटक स्टाटस् लेख्दै सञ्चारकर्मीलाई होच्याएर ‘पत्रुकार’ भन्दै लेखेको समेत पाइएको छ । उनले लेख्नुको कारण जसलाई लक्षित गरिएको थियो, उनले पनि त्यसै गरी होच्याएर स्टाटस लेखेका थिए । सञ्चारकर्मीले स्टाटसमा लेखेका छन्, – बिभिन्न ज्याकेट लगाएर … कर्मी भन्ने (एनजीओ,आइएनजीओ वाला ) र जनप्रतिनिधिले हुलहुज्जत बनाएर सडकमा हिड्नेका पहिला ढाड सोज्याउ त अनि पछि हिसाब गरौला ! कोरोना ।
पत्रकार टिकाराम नेतिले ‘व्यङग्य’ का रुपमा लेखेको स्टाटसलाई लिएर दुई संस्थाविच खुल्ला ‘वार’ चलिरहेको छ । लकडाउनमा अधिकारकर्मी समन्वय गरेर काम गर्नु पर्नेमा विवादमा अल्झिएको देखिएको छ ।

मानव अधिकार सञ्जाल झापामा सहसचिव दीपक दासले प्रतिष्ठानको गतिविधिमा केटाकेटीपन पाएको प्रतिक्रिया दिएका छन् । उनले प्रतिष्ठानले आफै विवाद झिकेर आफै विज्ञप्तिबाजी गरेको बताए । दास भन्छन्, मानव अधिकार दिवसको दिन फोटो खिचाउदैमा कोहि अधिकारकर्मी बन्न सक्दैन ।

यता, प्रतिष्ठानका अध्यक्ष चापागाईले मानव अधिकारकर्मी भएर ज्याकेटधारी भई रगरग हिड्न जरुरी नभएको बताउँदै आएका छन् । उनले अनावश्यक भीडभाड गरेर जोखिम बढाउन नहुने तर्क गर्दै आएका छन् । चापागाईले मानव अधिकार सिकाएको भन्दै सञ्जाल पक्षधरहरु प्रतिष्ठान विरुद्ध खनिएका छन् । चापागाई भन्छन्, प्रतिष्ठान गैरराजनीति संस्था हो । संस्थालाई जोडेर बद्नाम गर्ने गरी अभिव्यक्ति दिएकोले विज्ञप्ति सार्वजनिक गरेको उनको भनाई छ ।

झापामा डेढ दशकदेखि मानव अधिकारको क्षेत्रमा क्रियाशिल अर्जुन बस्नेतले कोरोना संकटमा मिलेर काम गर्नुपर्नेमा झैझगडामा उत्रिनु दुखद् भएको बताएका छन् । उनले पछिल्लो समय झापाका मानव अधिकारकर्मीको विवाद देखेर चौतर्फी प्रश्न उठिरहेको बस्नेतको भनाई छ । बस्नेतले भने – ‘अहिले सबैले मिलेर काम गर्नुहोस्, विवादले मानव अधिकारको क्षेत्रमा बद्नाम भइरहेको छ । ’

प्रकाशित मिति : बैशाख १८, २०७७ बिहीबार  ८ : २७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]