जेष्ठ १, २०८२ बुधबार

बिएण्डसी अस्पतालका १२ जना स्वास्थ्यकर्मीले जिते कोरोना

बिर्तामोड । झापाको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा कार्यरत एकजना चिकित्सक र ११ स्वास्थ्यकर्मी गरी सबै १२ जनाले कोरोना जितेका छन् ।

भदौ २१ गते कोरोना संक्रमण पुष्टि भएपछि उनीहरु सबैजनालाई अस्पताल प्रशासनले आफ्नै आइसोलेशनमा राखेको थियो । कोरोना संक्रमणु.मुक्त भएपछि उनीहरुलाई सोमबार डिस्चार्ज गरिएको छ । अस्पताल प्रशासनले सोमबार बिहान पत्रकार सम्मेलनमार्फत् कोरोनामुक्त भएका चिकित्सक र स्वास्थ्यकर्मीलाई फूलकोगुच्छा तथा खादा पहिर्याएर कोरोनामुक्त भएकोमा बधाई दिएको छ ।

कार्यक्रममा अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले कतिपयले बिएण्डसीलाई कोरोनाको इपिसेन्टर बनाएको भन्ने आरोप लगाएको भन्दै आपत्ति जनाए ।

उनले कोरोनालाई नेगेटिभ नबनाई नेगेटिभभित्र पोजेटिभको खोजी गर्नुपर्ने बताए । उनले कोरोना संक्रमितलाई उपचार गर्न कोभिड अस्पतालमा नै पुर्याउनु पर्छ भन्ने भ्रमको अन्त्य गर्न र बिएण्डसी अस्पतालले सुरक्षित रुपमा उपचार सेवा सञ्चालन गर्न सक्छ भन्ने सन्देश प्रवाह गर्न आफ्ना स्टाफहरुको यहीँ उपचार गरिएको बताए ।

उनले भने ‘काठमाडौं उपत्यका बाहिर पनि अस्पतालहरु छन्, तिनमा पनि उपचार हुन सक्छ भन्ने सन्देश प्रवाह गर्न आफ्नै अस्पतालमा काम गर्ने परिवारका सदस्यहरुलाई अस्पतालमा नै आइसोलेशनमा राखेर हेरचाह गरियो । सम्बन्धित डाक्टरहरुले मसिनो ढंगले संक्रमितहरुको लक्षण पहिचान गर्नुभयो । अब हाम्रो अस्पतालबाटै अरुको उपचार सम्भव छ, अझ प्लाज्मा थेरापी गर्न हामीभित्रैबाट एन्टिबडी पनि उत्पादन हुने निश्चित भएको छ । नेगेटिभ प्रचार होइन अब पोटेभिज म्यासेज लिएर जानुस् । बिएण्डसी अस्पताल कोरोना संक्रमितको उपचार गर्न पनि सक्षम छ ।’

अस्पतालका सूचना अधिकारी प्रमिश गिरीले सहजीकरण गरेको कार्यक्रममा कोरोना संक्रमणबाट मुक्त भएका बिएण्डसीका डाक्टर राजेश रायाले १५ दिनको अस्पताल बसाइमा कोही कसैलाई सामान्य ज्वरोभन्दा बढी केही नभएको जानकारी गराए ।

कोभिड संक्रमितको उपचारमा संलग्न फिजिसियन डाक्टर लक्ष्मण ठाकुरले भने ‘उहाँहरु कसैमा कुनै लक्षण नै देखिएन । फेरि पनि सरकारले तोकेको स्वास्थ्य प्रोटोकल पूरा गरेर उहाँहरुलाई अलग्गै आइसोलेशनमा राखियो र आज उहाँहरु कोरोनामुक्त भएपछि सबैलाई डिस्चार्ज गरिएको हो ।’

प्रकाशित मिति : आश्विन ५, २०७७ सोमबार  १२ : ४८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]