आज कोजाग्रत पूर्णिमा
विर्तामोड । दशैं आज (शुक्रबार) देखि समापन हुँदैछ । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज बेलुका महालक्ष्मीको पूजा गरी जाग्राम बसेसँगै दुर्गापक्ष सकिन्छ । विजयादशमीदेखि शुरु भएको टीका र जमरा लगाएर मान्यजनबाट आशीर्वाद लिने क्रम पनि आजैदेखि सकिनेछ । आजै जमरालाई नजिकको नदी, तलाउ, पोखरीमा सेलाइन्छ ।

कोजाग्रत पूर्णिमा आज परे पनि पूर्णिमा व्रत भने भोलि रहेको छ । नवरात्र विजयादशमीकै दिन सकिने भए पनि दुर्गा पक्ष भने आश्विन शुक्ल पूर्णिमाका दिनमा सकिने नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए ।
मध्यरातमा पूर्णिमा परेकाले कोजाग्रत पूर्णिमा आजै मनाउने निर्णय गरिएको समितिले जनाएको छ । आश्विन शुक्ल प्रतिपदाका दिनदेखि शुरु भएको दशैँमा यसवर्ष कोरोना भाइरस सङ्क्रमणको जोखिम र महामारीका कारण विगतमा जस्तो चहलपहल देखिएन । दशैं सकिएसँगै कार्तिक स्नान र आकाशदीपदान भोलिदेखि शुरु हुनेछ ।
आकाशदीप दान शनिबारदेखि
आज २७ घडी ५८ पला अर्थात् बेलुकी ५ः२५ बजेसम्म चतुर्दशी तिथि छ । त्यसपछि पूर्णिमा तिथि लाग्ने धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले जानकारी दिए । मध्यरातमा पूर्णिमा आज परेकाले कोजाग्रत पूर्णिमा आजै मनाउने निर्णय गरिएको उनले बताए । शनिबार पूर्णिमा तिथि ३३ घडी १६ पला अर्थात् बेलुकी ७ः३३ बजेसम्म छ ।
चन्द्रमाको पूजा गरिने पूर्णिमा व्रतका लागि भने सूर्योदय र सायंकालमा पूर्णिमा तिथि चाहिने भएकाले शनिबार परेको हो । कार्तिक स्नान र आकाशदीप दान पनि शनिबारदेखि नै शुरु हुने छ ।
कोजाग्रत पूर्णिमादेखि एक महिनासम्म साँझ घरघरमा बाँसको टुप्पोमा दियो बाल्ने र आँगनमा तुलसीको मठ सजाएर भगवान विष्णुको पूजाअर्चना गर्ने धार्मिक प्रचलन छ । पञ्चाङ्ग निर्णायक समितिका अनुसार शनिबारदेखि आकाशदीप बाल्ने र कात्तिक स्नान गर्ने गरिन्छ ।