बैशाख २७, २०८२ शनिबार

चित्त नदुखाइयोस् कमरेडहरु

बद्री भट्टराई

मुलुक र जनताको हितलाई सर्वोपरी मान्दै तत्कालिन ने.क.पा. एमाले र ने.क.पा. माओवादी केन्द्रको बिचमा ऐतिहासिक एकताको घोषणा गरिएको थियो । अपेक्षाकृत रुपमा परिणाम पनि प्राप्त भएकै हो । कार्यशैली र बैचारिक क्षेत्रमा एकरुपता नआइपुग्दै एकताको घोषणा गरिएको हुनाले यो प्रक्रिया पूरा नहँुदै जनता र मुलुकलाई निराश बनाउँदै ने.क.पा. भित्र घिनलाग्दा खेल सुरु भए । खेल सामान्य प्रकृतिका मात्र रहेनन् । एकता घोषणा भएको दुई बर्ष नपुग्दै दोश्रो दर्जाका अध्यक्षले शक्ति बाँडफाडको मुद्दा उठाउन थाले जुन अस्वभाविक थियो । शक्तिका हिसावले तत्कालिन एमाले माओवादीको तुलनामा अब्बल मात्र होइन जनप्रिय समेत थियो , आशा भरोशाको केन्द्र थियो ।

तथापि, समान हैसियत जस्तो हुने गरी जनताको नजरबाट विलाउँदै गएको माओवादी केन्द्र र यसका अध्यक्षलाई दोश्रो वरियताको अध्यक्ष नै स्वीकार गरी एकता भएकै हो । तत्कालिन माओवादीका लागि यो नै ठूलो उपलब्धी थियो । कार्यकर्ता माथि एकल आदेश र शासन गर्न अभ्यस्त दोश्रो दर्जाका अध्यक्ष , अध्यक्ष भए पनि उपाध्यक्षको भूमिका पाईरहँदा सन्तुष्ट हुनै सकेनन् । आफ्नो पुरानो शक्तिको एक तिहाई शक्ति भएका दोश्रो अध्यक्षलाई ०६४/०६५ कै शक्ति भएको शानको धङधङी रहिरह्यो । दोश्रो अध्यक्षसँग पूर्व एमालेका अध्यक्ष र प्रधानमन्त्री समेत भइसकेका मातहतमा बस्न सक्ने बानी हराई सकेका बज्रठ्याङहरुको गठजोडका कारण ने.क.पा. अहिले एक भएर रहिरहने सम्भावना क्षीण भैसकेको छ । एकता भङ्ग भएको घोषणा हुन भने बाँकी नै छ ।
कम्युनिष्ट पार्टीका नेताहरु आफुले चाहे जस्ता तुच्छ चहाना पूरा हुन नसकेको बहानामा जनताका बैरीहरुलाई रमित देखाई रहेका छन् । हसाई रहेका छन् । कार्यकर्ताहरु रमित हेर्न बाध्य छन् । जनता निराश छन् । जनता प्रधानमन्त्री एवम् पार्टी अध्यक्षसँग नभई ने.क.पा.का दोश्रो अध्यक्ष र बाँकि चार जना अग्रज भनाउँदा नेताहरु सँग रुष्ट छन्, आजित छन् । सरकारका कामकारवाही परिस्थिति अनुसार प्रशंसायोग्य र भरोसा योग्य हुदाँहुदै पनि दोश्रो अध्यक्ष सहितका बज्रठ्याघहरु सहितका प्रतिपक्षीहरुका कारण जवरजस्ति आंसिक रुपमा आलोचित गर्न खोजिएको छ ।

तत्कालिन ने.क.पा. एमालेको पाँचौ राष्टिय महाधिवेशनको खुला सत्रमा महासचिव मदन भण्डारीलाई विदेशी पाहुनाहरुको सामुन्ने सम्बोधन समेत गर्न नदिने षडयन्त्रकारीहरु देखि लिएर आफ्नै पार्टी तर फरक बैचारिक धारका नेताको बिचारलाई परास्त गर्न नसकी षडयन्त्र पूर्वक हत्या गरेर आफ्नै जीत साबित गर्ने, त्यति गर्न नस्क्दा पार्टीमा बस्नै नसक्ने अवस्था सृजना गरेर खेद्ने सम्मका अपराधिक कृयाकलाप गर्न सक्ने हरुले जनता र राष्ट्रको भलो चिताउनै सक्दैनन् । बरु जनता र राष्ट्रको नाममा नेता हुने, ठुलठुला पद हत्याउने र ठाँटसँग नव सामन्त हुदै प्रतिक्रियावादीहरुको पृष्ठपोषक बन्दै कुनै पनि बेला जनता र राष्ट्रलाई धोका दिने मात्र काम गर्दछन् । ने.क.पा.मा ठीक यही बेला जनता, राष्ट्र र पार्टीको सर्वोपरी हित गर्ने र जानेर वा नजानेर वा जसरी पनि ने.क.पा.को सरकार ढालेर आफुखुशी मोजमस्ती गर्ने अनि कम्युनिष्ट पार्टीलाई खत्तम गरिदिने पक्षहरुको चक्रब्युहमा फसिरहेको छ ,टकराव चलिरहेको छ ।

तत्कालिन ने.क.पा. मालेको चौथो महाधिवेशन (२०४४)ले जननेता मदन भण्डारी महासचिव छान्यो । पाचौं रा. महाधिवेशन (२०४९) मा मदन भण्डारीकै अगुवाईमा जनताको बहुदलीय जनवाद र महासचिव मदन भण्डारी सर्वाधिक बहुमतले पारित र निर्वाचित गर्यो । यो कार्यक्रम तथा सिद्दान्तको योग्यतम् पृष्ठपोषक ने.क.पा.का वर्तमान अध्यक्ष केपीओली र उपाध्यक्ष बामदेव गौतम हुन् । उहाँहरुले यो विचार सिद्धान्तका निम्ति मुल्य चुकाउनु भको छ, यसको स्थायित्व र बिकासका लागि रगत पसिना बगाउनुभएको छ हण्डर खानुभएको छ । अपमान सहनु भएको छ ,पटक–पटक अल्पमतमा पारिएको छ । बद्नाम गरिएको छ । सिध्याउन खोजिएको छ । जनताको बहुदलीय जनवादको आलोकमा पार्टी प्रमुख र सरकार प्रमुख भईसकेका झलनाथ र माधवको यो विचार र सिद्धान्त प्रतिको योगदान होइन,विरोध,मौनता ताक परे तिवारी नत्र गोतामेको चरित्र दुनियालाई थाहा छ । यस हिसावले भन्नु पर्दा जबजका अहिलेका हिमायति वा पिता केपी ओली र बामदेव गौतम हुन् । झलनाथ र माधव झड्केला मात्र हुन् । आफ्नो छोरो हुँदा हँुदै झड्केलालाई परिआको वेला के गरिन्छ , दुनियालाई थाहा छँदैछ । यि कठ्यांग्रिएका बज्रठ्यांगहरुले कहिले पो हो र सिद्धान्त ,देश र जनताको हित गरेको । गर्नै नसक्ने नपुंसकहरु अर्काले गरेको इस्र्या गर्छन्, मुख मिठ्याउँछन्, भड्काउँछन्, गर्नेका विरुद्ध जालझेल षडयन्त्र गर्छन् , दुःख दिन्छन् ,हाईतोवा बनाउँछन्,नसके पछि अर्को उस्तैउस्तै परेकाको साथ लिन्छन् ,सँगै मिलेर जुलुस लाउँछन् हाटहुट गर्छन् मारुला झै गर्छन् तर सक्दैनन् । नसके पछि रुदै हिड्छन् । हारगुहार गर्छन्, भने जस्तो साथ नपाए पछि अन्तिममा बसाईं हिड्छन् ।

सेक्टर काण्ड मार्फत षडयन्त्र पूर्वक महामन्त्री हत्याउन पुगेका ने. क. पा. का बर्तमान कार्यकारी तर दोश्रो दर्जाका अध्यक्षले आफु आबद्ध पार्टीलाई आफु अनुकुल हुन्जेल एकता , प्रतिकुल हुने वित्तिकै फूट विभाजन गर्दै ने.क.पा.मा आईपुग्दा आधा दर्जन जति विभाजन चखाउँदै आईपुगेका छन् । तिहुन चाख्दै मनमोजी भान्से पाउन्जेल मीठो मानेर खाने ,भान्से हुन पालो गरौं भनेर सल्लाह मात्र के हुन पुग्छ घरै छोडेर हिड्ने प्रवृत्ति कुनै नयाँ श्रृंखला होईन आजको । नेपालमा कम्युनिष्ट पार्टीले सर्बाधिक लोकप्रिय सरकार सञ्चालन गरिसके पछि तत्कालिन ने.क.पा. एमालेको लोकप्रियतालाई समाप्त पार्न नियोजित रुपमा तथाकथित जनयुद्ध गर्ने, भारतको भात खाने तत्कालिन एमालेका नेता कार्यकर्तामाथि धावा बोल्ने मात्र होइन पाषविक हत्या गर्ने , मुलतः एमाले सिध्याउने , एमाले सिध्याउन प्रतिक्रियावादीहरुसँग कार्यगत एकता गर्ने कुरा कुनै नौलो होइन । केपी ओली र उनका विचार समुहकाहरु त तारो बनाइएको थिएन र ? आज यिनैबाट सहयोग होला भनेर अपेक्षा गरेको होला र पार्टीको मूर्धन्य पक्षले । जनताको बहुदलीय जनवादको रक्षा र विकास गरिदेलान भन्ने अपेक्षा होला र । बरु त्यस खालको आन्दोलनमा भुलबस लागेका ईमान्दार नेता कार्यकर्ताहरुको सहयात्रा र रुपान्तरणको अपेक्षाका साथ एकता गरिएको होला नि ! यसको मुल नेतृत्व त हिजो अस्तिको स्थानीय तहको निर्वाचनमा को सँग हातेमालो गरेको थियो ? दिनको सूर्य जत्तिकै छ्यांगै छैन र ? सर्प देख्दा पाखा,माछा देख्दा दुला हात ! अस्वभाविक ,ढुलमुले चरित्र त वहाको पेवा होइन र । आज पनि प्रधानमन्त्रीका विरुद्ध कहाँ कहाँ धाइदैछ ,वेखवर होला कोही । मुलतः त्यस आन्दोलनबाट ने.क.पा.मा समाहित हुनुभका इमान्दार नेता कार्यकर्ता साथिहरुको चित्त नदुखोस् । यथार्थ यही हो । अहिले तीतो हुन सक्छ । भविष्य ईमान्दारहरुको हो ।

प्रतिक्रियावादीहरुको चंगुलबाट फुत्काएर ने.क.पा.मा समाहित गरेको गुण आज दोश्रो दर्जाका अध्यक्षले तिर्दैछन् । ने.क.पा.को संस्थापन पक्षलाई । आफ्नै आन्दोलनमा लागेको निहँुमा तिमीले छलांग मार्दा काख रित्याएका बा आमाको निन्याउरो अनुहार देख्दादैख्दै ,टुहुरा बाल बच्चाको रोदन देख्दादेख्दै ,अनि विधवाको छटपटी सिंहावलोकन गर्दागर्दै मुलुक र जनताका निम्ति भनेर आम माफी दिएको हाईन ? सबैकुरा थाति राख्दै अंकमाल गरेको होईन ? पार्टी बाहिरबाट सिध्याउन नसके पछि भित्रै पसेर अंकमाल गरेर सिध्याउन खोजेको कस्ले बुझेको छैन र ! हर्कत बन्द गर । यत्ति धेरै बुझ्दा बुझ्दै पनि अंगुली बाबा , हे रत्नाकर ,बुद्ध बन ,बाल्मिकी बन । अहिले पनि विग्रिहालेको छैन । यदि नसच्चिने हो भने मान्छेको बुडी औठा काटेर ,त्यसको माला लाउने अंगुलीबाबा अनि मुलुक र जनताको साम्नेमा आईसकेको खुशी खोस्ने रत्नाकरलाई चिन्न बाँकि छैन । बाँदरले आफ्नो घर पनि बनाउँदैन, अर्काले बनाईदिएको पनि भत्काउँछ । खवरदार !
अन्त्यमा ,बसाईं हिड्नेको ताँतिले ,बस्नेको मन रुवाउँदैन ।
गरिखान नसके पछि , फर्केर आउन पाउँदैन ।

प्रकाशित मिति : मंसिर ११, २०७७ बिहीबार  १० : १० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]