झापामा ओली पक्षका जनप्रतिनिधि कति ?
बिर्तामोड । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विवादले माथिदेखि तलसम्म विभाजनको स्थिति बनेको छ । प्रचण्ड–नेपाल समूहले अलग्गै पार्टी घोषणा गरेपछि नेकपामा नेता कार्यकर्ताको जोड घटाउ शुरु भएको छ । कसको पक्षमा कति भन्ने विषय अहिले तातेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको जिल्ला भएकाले झापामा पनि जोडघटाउ शुरु भइसकेको छ ।
जिल्ला कमिटी, कार्यलय कमिटी, सचिवालयमा कसको बहुमत भन्ने विषयले प्रवेश पाएको छ । १७७ सदस्यीय जिल्ला कमिटीमा पूर्व एमालेबाट १०६ जना र पूर्व माओवादीबाट ७१ जना रहेका छन् । पूर्व माओवादीबाट प्रतिनिधित्व गर्ने जिल्ला सदस्य पनि ओलीले नेतृत्व गरेको पार्टीमा रहन सक्ने बुझिएको छ । कार्यलय कमिटीमा बराबर पोजिसन रहे पनि सचिवालयमा ओली पक्षको बहुमत रहेकको सचिवालयकै एक सदस्यले बताएका छन् ।
यस्तै, झापामा स्थानीय तहका प्रमुख/उपप्रमुखहरुमा ओली पक्षको बहुमत स्पष्ट देखिएको छ । जिल्लामा १५ पालिकाका ३० प्रमुख/उपप्रमुखहरुमा १५ जना ओली पक्षधर छन् । कांग्रेसका ७, राप्रपा ४ का र प्रचण्ड–नेपाल समूहका ३ जना रहेका छन् । झापामा ओली पक्षका प्रमुख÷उपप्रमुखहरुमा मीना पोखरेल उप्रेती , ध्रुव शिवाकोटी, मिरा भूर्तेल,कमला आचार्य,राजेन्द्र पोखरेल, मञ्जु प्रसाई,चन्द्र शेर्मा, मेनुका काफ्ले, बेनु शिवाकोटी, रोमनाथ ओली, गिता अधिकारी, गिता भेट्वाल ,कुन्ती बुढाथोकी , जीवन श्रेष्ठ र डम्बर गिरी रहेका छन् । प्रचण्ड–नेपाल समूहबाट प्रमुख/उपप्रमुखमा हरि राना, चन्द्रा श्रेष्ठ, भोजकुमारी नेपाल रहेका छन् । बिर्तामोडकी उपप्रमुख पवित्रा महतरा तटस्थ रहेकी छन् । पूर्व माओवादीले झापामा प्रमुख/उपप्रमुखमा एक सिट पनि जितेको छैन । जितेका ३ तिनै जना मावध नेपाल पक्षधर हुन् ।
झापामा स्थानीय तहभित्र केपी ओली पक्षको सानदार दुई तिहाई बहुमत रहेको नेकपा झापाका नेताले जानकारी दिए ।