जेष्ठ १, २०८२ बुधबार

गौरादहमा बायोफ्लोक प्रविधिबाट माछापालन

टीकाराम उप्रेती

झापा । बायोफ्लोक प्रविधिबाट माछापालन गर्न किसान आकर्षित भएका छन् । झापाको गौरादह नगरपालिका–२ स्थित क्याम्पसमोडका रोनिस बायोफ्लोक फिस फार्मिङका सञ्चालक मोहन पराजुलीले सानो पानीको टयाङ्कीमा व्यावसायिक माछापालन गरेर राम्रो आम्दानी लिँदै हुनुहुन्छ ।

उहाँले घरको करेसाबारीमा नै १० हजार लिटर क्षमताका चारवटा ट्याङ्की निर्माण गर्नुभएको छ । यो प्रविधिबाट राम्रो आम्दानी हुन थालेपछि अन्य दुईवटा ट्याङ्की थप गर्न लागेको पराजुलीले बताउनुभयो ।

उहाँले यो प्रविधिमा सानो स्थान, थोरै क्षेत्रफल, थोरै पानीमा धेरै आम्दानी गर्न सकिने बताउनुभयो । ट्याङ्कीमा माछापालन गर्दा पोखरीमा जस्तो सर्प, कीरा, भ्यागुता, बकुल्ला चराजस्ता सिकारीबाट समेत बचाउन सकिने उहाँको भनाइ छ । ठूलो पोखरीमा गरिएको माछा खेतीमा ३० देखि ४० प्रतिशत माछाका भुरा नासिँदा उत्पादन कम हुन्छ तर ट्याङ्कीमा त्यस्तो समस्या नहुने पराजुली बताउनुहुन्छ ।

नेपालमा यो प्रविधि भिœयाउने झापाका कुवेर ढुङ्गाना प्रदेश १ मा मात्र करिब एक सय जनाभन्दा बढी किसानले व्यावसायिक रूपमा माछापालन गर्न थालेको बताउनुभयो । इन्डोनेसियामा अध्ययन गरेर उक्त प्रविधि नेपालमा उपयोगी हुने भएपछि आफूले गत वर्षदेखि परीक्षणस्वरूप सुरुवात गरेको जानकारी दिनुभयो ।

ढुङ्गानाले बिर्तामोड नगरपालिकामा कालिका बायोफ्लोक फिस फार्मिङका सञ्चालन गर्दै आउनुभएको छ । हाल छवटा ट्याङ्की रहेकोमा अब एक लाख लिटर क्षमता भएका नयाँ ट्याङ्की थप्ने काम धमाधम भइरहेको जानकारी दिनुभयो । चार फिटदेखि साढे चार फिट अग्लो दस हजार लिटरको ट्याङ्कीमा एक पटकमा एक हजार दुई सयसम्म माछाको भुरा पाल्न सकिने बताउनुभयो । उहाँले भन्नुभयो, “यसरी सानो ट्याङ्कीमा पाल्दा चारो सबै माछाले समान रूपले खान पाउँछन् । सबैको तौल समान रूपले बढ्छ । ”

सानो ट्याङ्कीमा पानीको तापक्रम समान हुने भएकाले चार महिनामा नै माछा खान योग्य हुन्छ । ठूलो पखरीमा भने भुरा हालेको छ महिना पछिमात्र खान योग्य हुन्छन् । यो नयाँ प्रविधिमा चार महिनामा नै औसत पाँचदेखि सात सय ग्रामसम्मको तौलको माछा हुन्छ, जुन खान योग्य हुने उहाँको भनाइ छ ।

बायोफ्लोक प्रविधि निर्माण गर्दा सुरक्षित प्लास्टिकको ट्याङ्की निर्माण गरिन्छ । ट्याङ्कीमा माछा पाल्नु अघि यसको उपचार गरिन्छ । दस हजार लिटर क्षमताको ट्याङ्कीमा पानी भरेपछि प्रतिट्याङ्की १० किलो ढिके नुन, आधा किलो गुण वा सक्खर मिसाएर सात दिनसम्म राख्नुपर्छ । यसो गर्दा माछालाई आवश्यक पर्ने खाद्य तŒव पानीमा उत्पादन हुने गर्दछन् । यसरी पानी हालेको १४ दिनपछि माछाको भुरा हाल्नुपर्छ ।

अधिकांश किसानले राम्रो आम्दानी लिन सकेपछि यसलाई व्यापक विस्तार गर्न लागिएको उहाँको भनाइ छ । उहाँले यो वर्षमा मात्र नेपालमा १७८ वटा ट्याङ्की निर्माण गरिसकिएको छ । प्रदेश १ मा मात्र झन्डै एक सय बढी ट्याङ्की निर्माण भइसकेको उहाँको भनाइ छ । दस हजार लिटर क्षमताको एउटा ट्याङ्की निर्माण गर्न ६० हजार रुपियाँ खर्च लाग्छ । यो प्रविधिबाट इन्डोनेसिया, कोरिया र इजरायलमा बढी चलेको बताइएको छ । एक ट्याङ्कीमा सामान्य एक फसल माछा झिक्दा खुद नाफा ३५ हजार हुन्छ भने एक वर्षमा एउटा ट्याङ्कीमा दुई पटकसम्म माछा पालन गर्न सकिन्छ । गोरखापत्रबाट

प्रकाशित मिति : माघ २५, २०७७ आईतबार  ११ : ३४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]