जेष्ठ ११, २०८२ शनिबार

सुजिताले आत्महत्या गरेको खुलासा, झापाका एक युवा पक्राउ

चितवन : अपरहणमा परेकी भनिएकी पूर्वी चितवनको राप्ती नगरपालिका ३ की सुजिता भण्डारीले दाजुसँग विवाह गर्न नपाएपछि आत्महत्या गरेको रहस्य खुलेको छ । आफ्नै ठुलोबावुको छोरासँग प्रेममा रहेकी सुजिताले विवाह गर्न नपाएपछि आत्महत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको हो।

सुजिताको आफ्नै ठुलोबुवाको छोरा झापाको झापा गाउँपालिका– ६ शरणमतिका २३ वर्षीय सचिन भन्ने सुकदेव भण्डारीसँग प्रेम सम्बन्ध रहेको थियो । विवाह नभएपछि उनले आत्महत्या गरेको प्रहरीले जानकारी गराएको छ ।

लामो समयदेखिको एकअर्काको आकर्षणपछि सुजिताले सकुदेवलाई विवाहको लागि दबाब दिएकी थिइन् । सुजिताले असारको ९ गते सुकदेवसँग विवाहको प्रस्ताव गरेकी थिइन् । सुकदेवले नमानेपछि दुईजना बीच विवाद भएको थियो ।

सुजिताले विवाह नगरे मर्ने धम्की दिएकी थिइन् । सुकदेवले ‘जे गर्छस् गर ’ भनेपछि दुई जनाबीच सम्पर्क नभएको प्रहरीको भनाइ छ । घटनाबारे जिल्ला प्रहरी कार्यालय चितवनले शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।

समाजिक तथा नैतिक कठिनाइका कारण सकेसम्म विदेश जाने योजना बनाएका थिए । संभव नभए एकआपसमा अपहरणको बाहना बनाइ कसैले थाहा नपाउने ठाँउमा गएर बस्ने योजना बनाएको अनुसन्धानबाट खुलेको छ । सुकदेवलाई काठमाडौंबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालय चितवनले अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख ओमप्रकाश अर्यालले बताए ।

सुजितासँग खिचेको फोटो सुकदेवले डिलिट गरेका थिए । प्रहरीले मोबाइलबाट सबै फोटो रिकभर गरेर झिकेको छ । सुकदेव र सुजिता काठमाडौंमा एकैसाथ बस्ने योजना बनाएका थिए ।

दिदीको घर गएकी सुजिताले सुकदेवलाई काठमाडौंमा तुरुन्त कोठा खोज्न दबाब दिएको अनुसन्धानबाट खुलेको छ । ‘हाम्रो अनुसन्धानबाट सुजिताको एक विशेष व्यक्तिसँगको सम्बन्ध पत्ता लगायो । दाजुबहिनीको भन्दा पनि शंकास्पद रहेको परिवार स्रोतबाटै थाहा भयो, ुअनुसन्धान अधिकारी डिएसपी इन्द्रबहादुर रानाले भने ‘ ,ुसबै प्रमाण र तथ्यबाट हामीले पत्ता लगाउन सफल भयौं।’

सुजिता बुद्धशान्ति कलेजमा बीबीएस चौथो वर्ष परीक्षा सकेर विदामा बसेकी थिइन् । गत असार २० गते ब्रह्मास्थान सामुदायिक वनको भीरमा सुजिताको शव भेटिएको थियो । सुजिता असार ११ गते साथीको घरमा जान्छु भनेर हिँडेकी थिइन् ।

पहिला परिवारले हत्याको आशंका गरेर जाहेरी दिएका थिए । अहिले घटनाको विषयमा आमा अम्बिका भण्डारीले सुकदेव विरुद्ध आत्महत्या दुरुत्साहनको जाहेरी दिएकी छिन् ।

सुकदेवलाई पक्राउ गरी चितवन जिल्ला अदालतबाट ७ दिन म्याद थप गरेर अनुसन्धान गरेर अगाडि बढाइएको प्रहरीले जनाएको छ । अन्नपूर्णबाट साभार

प्रकाशित मिति : श्रावण ८, २०७८ शुक्रबार  ५ : २५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]