जेष्ठ ११, २०८२ शनिबार

झापामा धमाधम शिल गर्दै स्थानीय तह

बुद्धशान्तिमा, कनकाई पूर्ण रुपमा शिल, अर्जुनधारामा आंशिक

बिर्तामोड । कोरोना संक्रमण दरको अवस्थालाई मध्यनजर गर्दै झापामा स्थानीय तहले आफै शिल गर्न थालेका छन् । झापामा खुकुलो बनाइएको निषेधाज्ञाको निर्णयलाई छोडेर स्थानीयहरुले अलग्गै निर्णय लिन थालेका छन् । नागरिकको स्वास्थ्य सुरक्षाका लागि भन्दै बन्दाबन्दी गर्न थालिएको अर्जुनधारा –८ का वडाध्यक्ष हरिप्रसाद गौतमले जानकारी दिए ।

झापामा केन्द्र सरकारको परिपत्र अनुसार जिल्लास्थित डीसीसीएमसीको निर्णय बमोजिम निषेधाज्ञा तथा शिल गरिदैं आएको थियो । पछिल्लो समय जिल्लाका विभिन्न स्थानीय तहमा कोरोना संक्रमण दर उच्च भएपछि पालिकाले आफ्नै निर्णयबाट बन्दाबन्दी (शिल) गर्न थालेका हुन् ।

बुद्धशान्ति गाउँपालिकाले बुधबार रातीबाट एक हप्ताका लागि शिल गरिसकेको छ । बजार नै बन्द गरेर बुद्धशान्तिमा अत्यावश्यक काम बाहेक हिडडुलमा समेत रोक लगाइएको छ ।
यस्तै,झापाको अर्जुनधारा नगरपालिकास्थित शनिश्चरे बजार एक साताका लागि बन्द गरिएको छ । वडा नं. ८ को कार्यालयले कोरोना संक्रमण तीब्र रुपमा फैलिएको भन्दै बन्द गरेको जनाएको छ ।
साउन ८ गते राती १२ बजेदेखि १५ गतेसम्मका लागि बन्द गरिएको वडाध्यक्ष गोपिचन्द्र गौतमले जानकारी दिए । वडा कार्यालयले सूचना जारी गर्दै शनिश्चरे बजार र आसपासका क्षेत्र पूर्ण रुपमा बन्द गरिने जनाएको छ । बजार व्यवस्थापन समिति, च्याम्वर्स अफ कमर्श, उधोग वाणिज्य संघ, टोल विकास समिति समेतको छलफल पछि नागरिकको जीवन रक्षाका लागि बजार क्षेत्र बन्द गर्ने निर्णय भएको वडाध्यक्ष गौतमले जानकारी दिए ।

बुद्धशान्ति र अर्जुनधारा –८ पछि कनकाई नगरपालिकाले पनि पालिका क्षेत्रमा शिल गरेको छ । साउन १६ गतेसम्मलाई बन्दाबन्दी (शिल) गरिएको नगरपािलकाले जनाएको छ । कनकाई नगरपालिकाले एक सूचना जारी गर्दै ९ गते राती १० बजेदेखि १६ गते राती १० बजेसम्मका लागि शिल गरेको जनाएको छ ।

नगरपालिकाले सूचना जारी गर्दै सबै व्यवसाय, बैंक तथा वित्तिय संस्था बन्द गर्न अनुरोध गरिएको छ । कनकाई नगरपालिका तथा वडा कार्यालयहरुबाट अत्यावश्यक सेवा बाहेक सबै स्थगन गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृति हरिप्रसाद मिश्रले जानकारी दिए । नगरको सबै वडामा कोरोना संक्रमण बढेका कारण शिल गरिएको बताइएको छ ।

झापामा शुक्रवारको तथ्याङक अनुुसार ४२० जना संक्रमितको ज्यान गएको छ । दोस्रो लहरमा मात्र २९१ जना संक्रमितले ज्यान गुमाएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । जिल्लामा कोभिड विरुद्ध पहिलो डोज खोज ६६ हजार ६ सय ४६ जनाले लगाएका छन् भने दोस्रो डोज लगाउनेको संख्या २० हजार ५ सय ८९ जना रहेको छ ।

झापामा शुक्रवार मात्र ३६१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भयो । पछिल्लो साता यो संक्रमण संख्या सबैभन्दा धेरै हो । यसमध्ये १७६ जना एन्टिजेन परीक्षणबाट पुष्टि भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

यस्तै, शुक्रवार थप तीन जना संक्रमितको ज्यान गएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । मेचीनगरका २ र इलामका १ संक्रमितको ज्यान गएको छ । योसँगै झापामा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४२० पुगेको छ । ११६ जनाको उपचारपछि डिस्चार्ज गरिएको छ । पछिल्लो समय कनकाई, बिर्तामोड,दमक,भद्रपुर र बुद्धशान्ति क्षेत्रमा संक्रमण दर बढ्दै गएको छ ।

प्रकाशित मिति : श्रावण ९, २०७८ शनिबार  ९ : ३० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]