असार २, २०८२ सोमबार

शिवसताक्षीमा आयुर्वेद औषधि प्रयोग गर्ने सेवाग्राही बढे

सरोज भट्टराई

शिवसताक्षी । झापामा पछिल्लो समय आयुर्वेद औषधालयमा सेवाग्राहीको संख्यामा उल्लेख्य वृद्धि भइरहेको छ । जनस्तरमा वैकल्पिक उपचार विधिको रूपमा स्थापित हुँदै आएको आयुर्वेद चिकित्साप्रतिको जनविश्वास बढ्दै जाँदा औषधालयमा सेवा लिनेहरूको संख्यामा समेत वृद्धि भएको हो ।

झापाको शिवसताक्षीमा आयुर्वेद पद्धतिबाट उपचार गर्ने विरामीको संख्या विगतका वर्षहरुमा हेर्दा बढ्दो देखिन्छ । शिवसताक्षीको दूधेमा आयुर्वेद औषधालय छ । यो पुरानो औषधालय हो । जसमा उपचार गराउनेको विरामीको संख्यामा दिन प्रतिदिन बढ्दो रहेको औषधालयका डा. कविराज तथा निरिक्षक राजेन्द्र पोख्रेलले जानकारी दिए ।

‘अहिले विकसित मुलुकमा हर्बल भनेर आयुर्वेदिक औषधिको प्रयोग बढेको छ’, उनले भने, ‘यहाँ भने पहिलेको तुलनामा यहाँ पनि बढ्दै छ ।’ आयुर्वेदको महत्व बुझ्दै गएपछि यसमा अझ आकर्षण बढ्दै जानेछ ।

दुधे आयुर्वेद औषधालयले चालु आर्थिक वर्षमा ४ हजार ४० जनालाई सेवा दिएको छ । जुन गएको श्रावणदेखि बैसाख महिनासम्मको तथ्यांक हो । जसमा ओपिडीमा नयाँ विरामी २ हजार ५४७ जनाले सेवा लिएका छन् भने, पुनाराबृत्त विरामी १ हजार २३७ जना रहेको छन् ।

औषधालयमा रहेको ल्याबबाट सेवा लिनको सख्या १२२ रहेको छ । त्यस्तै १३३ जनाले पञ्चकर्म थेरापी सेवा लिएको आयुर्वेद औषधालयले जनाएको छ । औषधालयले गाउँघर क्लिनिकसमेत सञ्चालन गर्दै आएको छ । जसमा ४४१ जनाले विरामीहरुले सेवा लिएको औषाधलयको तथ्यांकमा उल्लेख छ ।

चालु आवमा शिवसताक्षी नगरपालिकाबाट विनियोजित २० लाख बजेटबाट औषधालयले वर्ष भरी विरामीहरुलाई निशुल्क सेवा दिएको दुधे आयुर्वेद औषधालयका डा कविराज निरिक्षक पोख्रेलले जानकारी दिए । पोख्रेलका अनुसार आयुर्वेद सेवा विस्तार गर्न शिवसताक्षी नगरपालिकाले आयुर्वेद सम्वन्धी ठोस नीति नभएकाले सानो घेरामा रहेर सेवा विस्तार गर्नु पर्ने बाध्यता रहेको छ ।

आयुर्वेद औषधालयलाई नगरपालिकाले प्रोत्सहन गर्ने शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्राले जानकारी दिए । हामीसँग ठूलो बजेट छैन ।, सेवा ग्राहीका लागि सुविधा सम्पन्न भवन छैन । तर पनि नगरपालिकाले आयुर्वेद चिकित्सा प्रणालीको विकासलाई प्रोत्साहन गर्ने, योग अभ्यास तथा ध्यान केन्द्र वडा तथा समुदायस्तरमा विस्तार गर्ने र योग शिविरहरु संचालन गर्दै आएको नगर प्रमुख थोप्राको भनाइ छ ।

स्तनपायी आमा र शिशुको स्वास्थ्य हेरचाहको लागि दुग्धबद्धक औषधी वितरण कार्यक्रम प्राथमिकता दिदै नगरका सबै वडाहरुमा दूधे आयुर्वेद औषाधालयले नगरपालिकासँग समन्वयमा विभिन्न कार्यक्रमहरु माफर्त नागरिकको स्वास्थ्य परीक्षण र औषधि वितरण गर्दै आएको प्रमुख थोप्राले बताए । जसअनुसार औषधालयले १८९ जना स्तनपायी महिलाहरुलाई औषधि वितरण गरेको छ ।

उपचारका लागि सुगर, पायल्स, ग्याष्ट्रिक, बाथलगायतका विरामीहरु आउने गरेका छन । दीर्घ रोग भएका लामो समय एलोपेथिक औषधि प्रयोग गरेर ठिक नभएका विरामीहरु पनि आउने गरेको दूधे आयुर्वेद औषधालयले जनाएको छ । औषधालयले उपचार गर्न आउनेलाई निशुल्क औषधि समेत वितरण गर्दै आएको छ ।

दूधे आयुर्वेदले निशुल्क आयुर्वेद स्वास्थ्य शिविर, जेष्ठ नागरिकको स्वास्थ्य प्रवद्र्धन कार्यक्रम समेत सञ्चालन गरेको छ । जसबाट ८८ जना ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण र औषधि वितरण गरेको छ ।

दूधे आयुर्वेदमा वास्विकरणबाट थेरापी सेवा, ल्याव सेवा हाललाई उपलब्ध छ । नगरको गौरवको रुपमा रहेको १ मात्र आयुर्वेद औषधालयलाई नगर आयुर्वेद अस्पतालको रुपमा स्तर उन्नतिको लागि आवश्यक जग्गा प्राप्ती तथा सुविधा सम्पन्न भवन निर्माण गरि योग ध्यान हल, फिजियोथेरापी, एक्यूपंचर, एक्स रे, भिडियो एक्सरे, एडभान्स ल्याव सेवा जस्ता प्रविधिहरु स्थापना गर्नु पर्ने चुनौति रहेको डा.ं पोख्रेलको भनाई छ ।

पोखरेलका अनुसार औषधालयमा धेरै वर्ष एलोपेथिक औषधी सेवन गरेर निको नभएका विरामी, ग्याष्ट्रिक, हाडजोर्नी, नशा सम्बन्धी, कानको समस्या भएका विरामी, पायल्स, फिस्टुला, मधुमेह जस्ता रोगहरुएका विरामीहरु बढी मात्रामा आउने गरेका छन् ।

प्रकाशित मिति : जेष्ठ १०, २०८२ शुक्रबार  ७ : २१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]