जेष्ठ ११, २०८२ शनिबार

बिर्तामोड पनि बन्द गर्ने तयारी, प्रशासनको सुझाव लिएर निर्णय गर्ने

झापा । झापाको बिर्तामोडमा कोरोना संक्रमण बढ्दै गए पनि नागरिकको चहलपहलमा कुनै कमि आएको छैन । बजार पूर्ण रुपमा खुल्ला गरिएको छ । बजार खुल्ला भएकै कारण आम नागरिकको चहलपहल हरेक दिन बढ्दै गएको छ ।

जिल्लास्थित डीसीसीएमसीले निषेधाज्ञा खुकुलो बनाए पछि बिर्तामोडमा भीड बढ्न थालेको हो । हरेक दिन न्यूनतम ५० जना संक्रमित थपिदैं गएका छन् । यहाँको जोखिमबारे धेरैले विभिन्न प्रतिक्रिया दिइरहेका छन् । कतिपयले १५ दिन पूर्ण रुपमा नगर क्षेत्रका सबै बजार बन्द गर्नुपर्ने धारणा राखेका छन् । बन्द नगरी बिर्तामोडवासीलाई बचाउन नसकिने धेरैको तर्क छ । कोरोनाबाट सुरक्षित हुने एउटै उपाय शिल गर्नुपर्ने धेरैको धारणा छ ।

यता, कतिपयले शिल गरेर मात्र कोरोनाबाट सुरक्षित हुन नकिने बताइरहेका छन् । स्वास्थ्य मापदण्ड पालना गरेर व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने तर्क पनि धेरैको छ । बिर्तामोड उधोग वाणिज्य संघका महासचिव अर्जुन मैनालीले बन्द गरेर कोरोनाबाट सुरक्षित हुन नसकिने प्रतिक्रिया दिएका छन् । उनले बन्दको विकल्पमा जानुपर्ने बताएका छन् । मैनालीले सामाजिक सञ्जालमा लेखेका छन्, आजभोली दिनप्रतिदिन स्थानीय तह पालिका स्तरीय लकडाउन, निषेधाज्ञाको खबर प्राप्त भइरहेको छ । केहीदिन भित्र बिर्तामोड पनि लकडाउन गर्न छलफल चलिरहेको सुनिदैछ । के कोरोनाबाट बच्नुको बिकल्प लकडाउन मात्र हो ? यसको असर निजी क्षेत्रका व्यवसायीहरूलाई कस्तो पर्छ भन्ने संबेदनशिलतालाई नबुझेको वा निजी क्षेत्रलाई राज्यले गरिखान समेत बन्चित गरेको ? वा, बिबेक नपुगेको, निजी क्षेत्रसँग सधैं कर असुल्यो बाँकी मतलब नगर्ने प्रवृत्तिले हैरान भइसकेको संम्बन्धित सम्पुर्ण निकायलाई निवेदन गर्दछु । यसरी सधै उपेक्षा मात्र गरिरहने हो भने यो देशमा निजी क्षेत्रले बिद्रोह गर्यो भने के हुन्छ ? हेक्कासम्म रहोस, कुनै पनि कुराको सिमा हुन्छ । लकडाउन वा बन्दको बिकल्प धेरै हुन सक्छ छलफल गरौ । आज रोग र भोकसँग लड्न मिलेर अगाडी बढौ, बन्दको बिकल्पमा जाऔ ।

बिर्तामोड नगरपालिकाका कोभिड फोकल पर्सन ओम खड्काले यसबारे चाँडै निर्णय लिने जानकारी दिए । उनले अन्य पालिका जस्तो बन्द गर्न सजिलो नभएको बताएका छन् । बिर्तामोड जिल्लाको केन्द्र भएकाले यहाँको बन्दले जिल्लाभित्र र मेची अञ्चल मै प्रभाव पार्ने हुँदा बन्द गर्न त्यति सजिलो नहुने बताए । खड्काले नगरभित्रको जोखिम हदैसम्म बढिरहेको स्वीकार गरेका छन् । स्वास्थ्य मापदण्ड मानेको अवस्था छैन, खड्काले भने – हामी नगरमा छलफल गरेर जिल्ला प्रशासन कार्यालयलाई राय पठाउने तयारी गरिरहेका छौं । त्यसपछि प्रशासनको सूझावलाई समेत आधार मानेर आवश्यक कदम चाल्छौं । उनका अनुसार निषेधाज्ञाको शुरुआतमा जस्तो बजारलाई पूर्ण रुपमा होइन, विहान केहि घण्टा खुला गरेर फेरि बन्द गर्न सकिन्छ ।

यसअघि झापाको कनकाई, बुद्धशान्तिमा शिल गरिएको छ । अर्जुनधारामा समेत आंशिक शिल गरिएको बताइएको छ । यस्तै, झापाको दमकमा सोमबार विहानबाट कर्फ्यु जस्तै कडा निषेधाज्ञा लगाउने सर्वपक्षीय निर्णय भएको छ ।
राजनीतिक दलहरु, दमक उद्योग बाणिज्य संघ र वित्तिय सरोकारवालाहरुसँग दमक नगरपालिकाले गरेको छलफलमा सहभागिहरुले विगत जस्तो फितलो र नाम मात्रको निषेधाज्ञाको औचित्य नरहेको भन्दै कडा निषेधाज्ञा लगाउन माग गरेका थिए ।
नेकपा एमालेका दमक नगरका कार्यवाहक अध्यक्ष लोकबहादुर अधिकारी, नेपाली काँग्रेस नगर सभापति रोशन विष्ट, नेकपा माओबादी केन्द्रका नगर सचिव शंकर बस्नेत, जसपा नगर अध्यक्ष खेम दाहाल लगायतले पुर्ण लकडाउनलाई शत प्रतिशत समर्थन गर्ने जनाउदै नगरपालिकालाई कठोर भएर निषेधाज्ञा लगाउन सुझाव दिएका थिए ।

दमक उद्योग बाणिज्य संघका कार्यवाहक अध्यक्ष गोपाल गुरागाँई र सदस्य भरत चम्लागाईले बिगत जस्तो निषेधाज्ञाको कुनै औचित्य नरहेको भन्दै चेनब्रेकका लागि सबै क्षेत्र ठप्प पार्ने गरी लकडाउन भए आफुहरुको समर्थन रहने जनाए । कति ब्यवसायीहरुले लकडाउनलाई कमाई खाने भाँडो बनाएको र यो मौकामा ब्रह्मलुट गरेको आरोप लाग्दै आएको भन्दै अब कसैले पनि निषेधाज्ञा अवज्ञा गर्ने अवस्था नल्याउन लाग्न उनिहरुले सुझाव दिए ।

आम्दा अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. प्रकाश शर्माले दमकमा पछिल्लो समयमा कोरोना संक्रमणदर बढेको र अस्पतालले धान्न नसक्ने अवस्था आउन लागेको जनाउदै तत्काल संक्रमण रोकथामका लागि आवश्यकीय कदम नचाले यसले थप खतरा आउनसक्ने तर्फ सचेत गराएका थिए । आम्दा अस्पतालको बेड भरिएर अब क्याविनमा समेत कोरोना संक्रमित राख्नु पर्ने अवस्था आउन लागेको समेत सो अवसरमा जानकारी दिए ।

आवश्यकीय सेवा अन्र्तगत अस्पतालहरुको ओपिडि बन्द गरेर ईमरजेन्सि सेवा मात्र, औषधि पसल, नगरपालिकाको दमकल सेवा र सूचना शाखामात्र सञ्चालनमा आउने जनाईएको छ । हिडडुलमा पनि पुर्ण प्रतिबन्ध लगाउने र अत्यआवश्यकीय भनेर जथाभावी हिड्ने कार्य पनि रोक्ने निर्णय भएको नगर प्रमुख रोमनाथ ओलीले बताए । सम्पूर्णं ब्यवसाय, उद्योगधन्दा एवं कारखाना, यातायात लगायत सबै प्रकारका पसलहरु एकसाताका लागि पुर्ण बन्द गरिने पनि जनाईएको छ ।

अनुमति बेगर हिडडुल गर्ने, पसल तथा ब्यवसाय खोल्ने, सवारी साधन चलाउने तथा कुनै पनि प्रकारकाले निषेधाज्ञा पालना नगरेमा पक्राउ गरेर सोझै जिल्ला प्रशासन कार्यालय झापा पठाएर आवश्यक कार्वाही गराउने सर्वपक्षीय निर्णय भएको नगर प्रमुख ओलीको भनाई छ । यसमा दमक उद्योग बाणिज्य संघ, दमकका राजनीतिक दल तथा सरोकारवालाहरुले कुनै दवाव कसैलाई नदिने पनि निर्णय भएको बताइएको छ । सरकारी कार्यालय, बैक तथा सम्पूर्ण प्रकारका वित्तिय संस्थाहरु पनि पुर्ण रुपमा बन्द हुने जनाईएको छ । बाहिरबाट आउने सवारी साधन तथा ब्याक्तिहरुलाई पनि नगर प्रवेशमा कडाई गरिने गरी निषेधाज्ञा जारी गर्न जिल्ला प्रशासन कार्यालय झापामा अनुरोध गर्ने ओलीले जनाए ।

विगतजस्तो निषेधाज्ञा मानेर यसलाई अवज्ञा गर्ने कार्य कसैलाई पनि नगर्न र गरेमा कुनै कोणबाट पनि क्षमा नगरिने समेत बताईएको छ । घर र पसल एकै ठाँउमा रहेकाहरुले विगतमा चलाखी गरेर ब्यापार ब्यवसाय चालु राखे पनि यो निषेधाज्ञामा अब यस्तो हुन नदिने समेत सो छलफलमा बताइएको थियो ।

दमक नगर उपप्रमुख गीता अधिकारीले दमक नगरपालिकाले केहि गरेन, लकडाउन पनि गरेन, के हेरेर बसेको छ ? भनेर धेरैले भन्ने गरेको भन्दै अब जारी हुने निषेधाज्ञालाई पुर्ण पालना गर्न अनुरोध गरेकी छन् । उनले यसलाई पुर्ण पालना गराउन सबै लाग्नु पर्नेमा जोड दिदंै कडा लकडाउन गर्नका लागि आइरहेको दबाबले नगरबासीमा सजगता आएको महसुस भएको रुपमा आफुले लिएको पनि छलफलमा बताइन् ।

प्रकाशित मिति : श्रावण १०, २०७८ आईतबार  ७ : ४३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]