खोप लुकाएको आरोपमा सत्यता छैन : फोकल पर्सन खड्का
बिर्तामोड । बिर्तामोड नगरपालिकाका कोभिड फोकल पर्सन ओम खड्काले कोरोना विरुद्धको खोप लुकाएको आरोपमा कुनै सत्यता नभएको बताएका छन् । इजलाससित कुरा गर्दै खड्काले बद्नाम गर्न गलत प्रचार गरेको बताए ।
नगरपालिकाभित्र खोप अभाव भएपछि जिल्ला स्वास्थ्य कार्यालय झापासँग खोप माग गरिएको खड्काले बताए । उनले भने, ‘म होटलमा हुँदा फोन आयो । खोप लिएर आउने चालकलाई होटल मै ल्याइदिन भने । नगरपालिका बन्द भइसकेकाले खाना खाएर नगरको गाडिमा खोप लिएर जान तयार हुँदै गर्दा केहि युवाहरुले जवरजस्त खोप लुकाएको आरोप लगाउनु भयो ।’

जिल्लाको गाडिले खोप ल्याए पछि मैले सबैको सामुन्ने रिसिभ गरेर होटल कै भाइलाई काउण्टरमा सुरक्षित राखिदिन लगाएर आराम गर्न बसेको थिए । विहानदेखि खोप अभियानमा भएकाले खानपिन गर्न भ्याएको थिइन । टाइमलेसमा खाना पनि खाने, त्यहिबाट खोप लिएर जाने तयारी थियो – खड्काले भने । खोप लैजानको लागि नगरपालिकाको गाडि समेत होटल आइसकेको थियो ।
जिल्लाको गाडिले विभिन्न ठाउँबाट बँचेको भ्याक्सिन कलेक्शन गर्दै अपुग ठाउँमा दिंदैं आएको छ । सोही क्रममा बिर्तामोडलाई थप डोज उपलब्ध गराएको बुझिएको छ । होटलमा भेटिएको भनिएको खोप आजै मात्र ल्याइएको हो । यसअघि नगरपालिकामा ल्याएको खोप त्यो होइन, तथ्याङ अधिकृत दिपक सापकोटाले भने । साउन १२ गतेदेखि बिर्तामोडमा ४ हजार ४ सय ११ भायल भ्याक्सिन ल्याइएको थियो । सापकोटाका अनुसार जिल्लाबाट पहिलो दिन ३८ सय ४० र दोस्रो दिन २२१ भायल ल्याइएको थियो । प्रदेश आपूर्ति व्यवस्थापन केन्द्रबाट ३५० भायल भ्याक्सिन विर्तामोडले पाएको थियो । ४ हजार ४ सय ११ भायल भ्याक्सिन ८ हजार ८ सय २२ जनालाई पुग्ने सापकोटाले जानकारी दिए ।
तथ्याङक अधिकृत सापकोटाका अनुसार साउन १२ गते ३ हजार २, १३ गते २६४६, १४ गते २३६६ र १५ गते २०० जनाले खोप लगाएका छन् । ४ दिनमा बिर्तामोडभित्र ४१ सय ७ भायल भ्याक्सिन सकिएको छ भने ३ सय ४ भायल भ्याक्सिन बाँकी छ । निजी बिधालयका शिक्षक कर्मचारीका लागि अपुग भएकाले जिल्लाबाट थप खोप मगाइएको सापकोटाको भनाई छ । माग गरिएको खोप नै आज ल्याइदिएको हो । नगर बन्द भएकाले होटलमा रिसिभ गरेको हो, रिसिज गलत ठाउँमा भयो ।
होटलमा लुकाएको भनिएको खोप इलाका प्रहरी कार्यालय अनारमनीले सुरक्षित कार्यालय लगेको छ । मुचुल्का पछि नगरपालिका लगिने खड्काले जानकारी दिए ।