काम गर्ने वातावरण बनाइदिन स्वास्थ्यकर्मीको ज्ञापन
बिर्तामोड । बिर्तामोड नगरपालिकाका स्वास्थ्यकर्मीले शान्तिपूर्ण काम गर्ने वातावरण बनाईदिन आग्रह गरेका छन् । आज नगरप्रमुख धु्रव कुमार शिवाकोटीलाई ज्ञापनपत्र बुझाउँदै स्वास्थ्यकर्मीले कोरोना महामारीमा अग्रपंतीमा काम गर्नेहरु विरुद्ध गाली बेइज्जती गर्ने काम भइरहेकाले काम गर्ने वातावरण नभइरहेको बताएका छन् ।

आफ्नो जीवनलाई जोखिममा राखेर २४ घण्टा काममा खटिने स्वास्थ्यकर्मीमाथि यथार्थलाई छोडेर गरिएको दुश्प्रचार र बद्नामपूर्ण गतिविधिले काममा बाधा पुग्ने उनीहरुको भनाई छ । खोप लुकाइएको भन्ने आरोप लागेपछि जिल्लास्तरीय छानविन समितिले छानविन गरेर यथार्थ कुरालाई बाहिर ल्याउनेमा आफहरु ढुक्क रहेको बताएका छन् ।
नगरमा कार्यरत २९ जना स्वास्थ्यकर्मीले हस्ताक्षर गरेर बुझाएको ज्ञापनपत्रमा कोरोनाको उपचार, नियन्त्रणमा समेत बाधा पुग्ने भएकाले आवश्यक छलफलबाट समाधान खोज्न आग्रह गरिएको छ । स्वास्थ्यकर्मीलाई गाली बेइज्जति गरेर थप समस्या नउब्जाउन स्वास्थ्यकर्मीले सचेत समेत गराएका छन् ।