जेष्ठ ५, २०८२ आईतबार

बिर्तामोडको खोप छानविन सक्न अझै एक हप्ता लाग्ने

बिर्तामोड । बिर्तामोडको एक होटलमा कोभिड विरुद्धको खोप लुकाएको भन्ने आरोप लागेपछि छानविनका लागि बनेको जिल्ला स्तरीय छानविन समितिले प्रतिवेदन बुझाउन थप एक हप्ता लाग्ने जनाएको छ । समितिका संयोजक सहायक प्रमुख जिल्ला अधिकारी तिलोचन रिमालले प्रतिवेदन तयार गर्न अझै एक हप्ता समय लाग्ने जानकारी दिए ।

साउन १६ गते बनेको समितिलाई एक हप्ताको समय दिएर छानविन गर्न अख्तियारी दिइएको थियो । सो समितिले थप एक हप्ता समय माग्दै आज प्रतिवेदन बुझाउने तयारी गरे पनि छानविन पुरा नभइसकेका कारण अझै एक हप्ता लाग्ने जानकारी दिइएको छ । समितिले छानविनका क्रममा सरोकारवालासँग आवश्यक सोधपुछ गरिसकेको छ । केहि व्यक्तिले बिर्तामोडका तत्कालिन कोभिड फोकल पर्सन ओम खड्काले खोप लुकाएको आरोप सत्य भएको दावी गरे पछि समितिले उनीहरुलाई ठोस् प्रमाण पेश गर्न भनेको छ । विभिन्न खाले आरोप लगाइएको छ, रिमालले भने – आरोप लगाउनेले प्रमाण पेश गर्नुपर्छ । हामीले त्यै भनेका छौं ।

रिमालको नेतृत्वमा पाँच सदस्यीय छानविन समिति बनेको थियो । रिमालको संयोजकत्वमा बनेको समितिमा जिसस झापाका समन्वय अधिकारी लालबहादुर श्रेष्ठ, जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापा, सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हेक्वाटर झापाका डिएसपी प्रेम प्रसाईँ र अनुसन्धान अधिकृत किरण भट्टराई रहेका छन् ।

छानविनका क्रममा बिर्तामोडमा स्वास्थ्य कार्यालयबाट पठाइने खोप पछिल्लो समय असुरक्षित हुने भएपछि नगरमा राख्न थालिएको खुलेको छ । केहि युवाहरुले खोप कहाँ राख्ने गरेको छ भन्दै सोधपुछ गर्न थालेपछि स्वास्थ्यकर्मीलाई खोप जोगाउन समस्या भइरहेको थियो । भद्रपुरमा खोप लुटिएपछि बिर्तामोडमा समेत युवाहरुको समूह पुग्दा स्वास्थ्यकर्मी त्रसित बनेका थिए ।

प्रकाशित मिति : श्रावण ३१, २०७८ आईतबार  ३ : १४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]