दार्चुला घटनाबारे औपचारिक जानकारी छैन : भारत
काठमाडौँ । दार्चुला घटनाबारे नेपाल सरकारबाट कुनै जानकारी नगराएकाले त्यसबारे भारतले केही नबोल्ने बताएको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिंदम बागचीले यस विषयमा मिडियाबाट केही सुनेको तर औपचारिक रूपमा कुनै जानकारी नआएको प्रतिक्रिया दिएका हुन् ।
‘त्यहाँको घटना मिडियामार्फत सुनेका हौ र हामीसँग कुनै अफिसियल खबर छैन । नेपालमा इन्टरनल रूपमा केही भएको हो वा छानबिन भएको भन्ने पनि मलाई थाहा छैन,’ विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता बागचीले भने, ‘नेपाल सरकाबाट केही जानकारी आई नसकेकोले यसबारे म केही भन्न सक्दिनँ ।’
भारतीय सशस्त्र सुरक्षा बल(एसएसबी)ले तुइन चुँडाइ दिएका कारण बेपत्ता भएका जयसिंह धामीका सम्बन्धमा गृह मन्त्रालयको छानबिन टोलीले कूटनीतिक पहलमार्फत घटनामा संलग्नलाई कारबाही र पीडितलाई क्षतिपूर्तिको व्यवस्था मिलाउन सुझाव दिएको थियो ।
उक्त सुझावअनुसार गृह मन्त्रालयले बिहीबार परराष्ट्र मन्त्रालयलाई पत्र पठाएर कूटनीतिक पहल गर्न ध्यानाकर्षणसमेत गराएको छ ।