झापामा एमालेभित्र नेतृत्व आकांक्षी अत्याधिक
बिर्तामोडमा १० जना ‘ब्याक’
बिर्तामोड । नेकपा एमालेको प्रथम पालिका अधिवेशनले झापामा नयाँ नेतृत्व चयन थालेको छ । मंगलवार उद्घाटन भएको अधिवेशनले झापाको कमलमा मात्र नेतृत्व पाएको छ । बाँकी १४ पालिकामा अझै नेतृत्व चयन हुन सकिरहेको छैन । पालिमा अत्याधिक आकांक्षी बढेपछि सर्वसम्मत हुन कठिनाई भएको नेताहरु बताउँछन् ।
पहिलो दिन सर्वसम्मत हुन नसकेका पालिकाहरुमा बुधबार दिनभर छलफल चलाइएको छ । छलफलबाट उम्मेद्वारको संख्या घटेका छन् । नेकपा एमाले बिर्तामोड नगर कमिटीको अध्यक्षमा आकांक्षी १४ जनामध्ये १० जना ‘ब्याक’ भएका भइसकेका छन् । बुधबार दिनभरको छलफलपछि उनीहरुले अध्यक्षको दावी छोडेका हुन् ।

अब अध्यक्षमा ४ जनाको दावी कायमै रहेको छ । सुवास भट्टराई, उमानाथ ओली, नन्दलाल खरेल र नगेन्द्र संग्रौलाले अध्यक्ष पदमा दावी गरिरहेका छन् । बिहीवार हुने मनोनयन दर्तामा अझै घट्न सक्ने बुझिएको छ । नेतृत्वले बिर्तामोड नगर कमिटीमा सहमतिबाटै नेता छान्ने कसरत गरिरहेका छन् । बिर्तामोडमा युवा व्यवसायी एवम् एमालेका सक्रिय युवा नेतृत्व सुवास भट्टराईको पक्षमा माहोल सकारात्मक बनेको बुझिएको छ ।
मेचीनगरमा सर्वसम्मत गर्न समय माग
मेचीनगरमा जारी नेकपा एमालेको नगर अधिवेशनमा निर्वाचन प्रक्रिया स्थगित गरिएको छ । मंगलवार उद्घाटन भएको अधिवेशन अर्को सूचना नभएसम्मका लागि निर्वाचन प्रक्रिया स्थगित गरिएको निर्वाचन संयोजक पदम डाँगीले जानकारी दिए । एक सूचना जारी गर्दै उनले स्थगित गरेको जानकारी गराएका छन् ।
नगर कमिटी गठनका लागि घोषणा गरिएको निर्वाचन प्रक्रियामा अध्यक्ष मण्डलको सिफारिसमा सर्वसम्मत प्रक्रियाका लागि समय माग गरिएको छ । सर्वसम्मतका लागि तत्काललाई स्थगित गरिएको बताइएको छ । सर्वसम्मतका लागि थप समय आवश्यक भएको हुँदा अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको डाँगीको भनाई छ ।
इच्छुक उम्मेद्वारका लागि अध्यक्ष मण्डल समक्ष नाम सूचिकृत गर्न भनिएको छ । नगरमा अध्यक्षका लागि राजु पोखरेल, कृष्ण कनाल, रुद्र डाँगी, कञ्चन तामाङ, भूपाल शिवाकोटी, कृष्णराज सिग्देलले मनोनयन दर्ता गरिसकेका छन् ।
सर्वसम्मत गर्न कमल पहिलो
जिल्लामा पहिलो पटक कमल गाउँपालिकामा सर्वसम्मत नेतृत्व चयन भएको छ । कमलले ७५ सदस्यीय कमिटी सर्वसम्मत गरेको प्रदेश सदस्य मेनुका काफ्लेले जानकारी दिइन् । कमलको अध्यक्षमा प्रेम पोखरेल, उपाध्यक्ष पृथ्वीपति राई, सचिव हरि ढकाल र उपसचिवमा विरेन्द्र अधिकारी, चन्द्रकला ढकाल चयन भएका छन् ।
दमक नगर कमिटीमा अध्यक्ष र सचिव सर्वसम्मत भए पनि अन्य पदहरुमा सहमति जुट्न सकेको छैन । अध्यक्षमा गेहनाथ पोखरेल र सचिवमा इन्द्र बहादुर गुरुङ सर्वसम्मत भइसकेका छन् । यस्तै, गौरीगञ्जमा दुई जना उपसचिव सहित सदस्यहरु सर्वसम्मत भइसकेको छ । केहि पालिकाहरुमा मनोनयन दर्ताको काम भएको छ भने केहिमा सहमतिको प्रयास जारी रहेको बुझिएको छ । अधिकांश पालिका सदस्य पदमा समस्या नभएको पाइएको छ ।
अर्जुनधारामा ३ जनाको उम्मेद्वारी
नेकपा एमाले अर्जुनधारा नगर कमिटीको अध्यक्षमा तीन जनाले उम्मेद्वारी दिएका छन् । पार्टीका वर्तमान अध्यक्ष प्रेमसागर सापकोटा, अर्जुनधारा १० का वडाध्यक्ष बलदेवसिंह गोम्देन र ६ नम्बर वडाध्यक्ष लोकनाथ गौतमले अध्यक्ष पदमा उम्मेद्वारी दिएका हुन् ।
त्यस्तै, उपाध्यक्ष पदमा ६ जनाको उम्मेद्वारी परेको छ । तुलसी श्रेष्ठ, चन्द्रकला राई, रोजिना पाण्डे, खगेन्द्र इङ्नाम, दिलबहादुर सारु र लोकमान श्रेष्ठले उपाध्यक्षमा दावी प्रस्तुत गरेका हुन् । त्यस्तै, सचिवमा नारायणप्रसाद पराजुली, लवकुश गौतम र राजेशकुमार आचार्यले उम्मेद्वारी दिएका छन् । त्यस्तै, दुई उपसचिव पदका लागि जनकलाल चम्लागाई, देवकुमार राई, कमलादेवी भण्डारी, दिलिप गुरुङ, राजकुमारी महतारा, रामप्रसाद आचार्य र सरिता भण्डारीले मनोनयन दर्ता गराएका छन् । मंगलबार उद्घाटन भएको प्रथम नगर अधिवेशनमा बुधबार मनोनयन दर्ता गरिएको छ । सर्वसम्मतिमै नगर कमिटी चयन गर्नेगरी प्रयास जारी रहेको अध्यक्ष मण्डलले जनाएको छ । अर्जुनधाराको नगर अधिवेशनमा २३१ जना नगर प्रतिनिधिले भाग लिएका छन् ।
भद्रपुरमा ५ जनाको उम्मेद्वारी
यस्तै, नेकपा एमाले भद्रपुरको अध्यक्षमा ५ जनाले उम्मेद्वारी दिएका छन् । जगत न्यौपाने , लक्ष्मण पोखरेल , कालिचरण बस्नेत , ब्रम्हलाल ढुंगाना र लोकनाथ भट्टराईले अध्यक्ष पदका लागि उम्मेद्वारी दिएका हुन् । त्यस्तै उपाध्यक्ष पदका लागि ७ जनाको उम्मेद्वारी परेको छ । सचिवमा ३ जनाको उम्मेद्वारी परेको छ । घनश्याम लकान्द्री , डिल्लीरमण नेपाल र रमेश आचार्यले सचिवमा उम्मेद्वारी दिएका हुन् । त्यसैगरी दुई उपसचिवमा ९ जनाको उम्मेद्वारी परेको छ । मंगलवार उम्मेद्वारी दर्ता भएपछि बुधबार दिनभरि सर्वसम्मतको प्रयास गरिने र आज पनि प्रयास जारी रहने अध्यक्ष मण्डलका असारु राजवंशीले जानकारी दिए ।
बाह्रदशीमा ८ जनाको उम्मेद्वारी
बाह्रदशी गाउँ कमिटीको अध्यक्षका लागि ८ जनाको उम्मेद्वारी परेको छ । टंकप्रसाद आचार्य , दलबहादुर थापा , बुद्धराज कार्की , तोयानाथ पोखरेल , जयनारायण आचार्य , दिपेन्द्र बराल , धर्म उप्रेती र नवराज दाहालले अधयक्षमा उम्मेद्वारी दिएका हुन् । त्यस्तै उपाध्यक्षमा गंगाराम धिताल र शेरबहादुर तामाङले उम्मेद्वारी दिएका छन् । त्यसैगरी एक सचिव पदमा ४ जनाले दावी गरेका छन् । भक्तबहादुर लिम्बु ,रामप्रसाद सापकोटा , घनेन्द्रप्रसाद ढकाल र फणिन्द्रबहादुर कट्वालले सचिव पद रोजेका हुन् । त्यस्तै दुई उपसचिव पदका लागि ६ जनाले दावी गरेका छन् । गंगादेवी धमला , प्रेमबहादुर श्रेष्ठ , टंकमाया धिताल , भोला दंगाल ,शम्भुसिंह राजवंशी र मनबहादुर राजवंशीले सो पदमा दावेदारी प्रस्तुत गरेका छन् ।
कचनकवलमा ४ जना
कचनकवलको गाउँ कमिटी अध्यक्षका लागि ४ जनाले उम्मेद्वारी दिएका छन् । नवराज भट्टराई , भक्त घिमिरे, तिलबहादुर राई र हरि घिमिरेले अध्यक्षमा उम्मेद्वारी दिएका हुन् । त्यस्तै उपाध्यक्षमा सुबल राजवंशी , धनलाल राजवंशी , चेतराज भट्टराईलगायत गरी ५ जनाले उम्मेद्वारी दिएका छन् । त्यसैगरी सचिवमा उमेश मिश्र , कुलबहादुर कार्कीलगायत ५ जनाले उम्मेद्वारी दिएका छन् । त्यसैगरी उपसचिवमा मेनुका ढुंगाना, जीवन ढुंगानालगायत ३ जनाले उम्मेद्वारी दिएका छन् ।