सरकारको वैधानिक लुटपाट विरुद्ध विप्लप समूहद्वारा बन्दको घोषणा
बिर्तामोड । नेकपा विप्लप समूहले सरकारको वैधानिक लुटपाट विरुद्ध दवाव दिन कार्तिक ३० गते शान्तिपूर्ण नेपाल बन्दको घोषणा गरेको छ । काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेकपाले इन्धन, ग्याससहित अन्य वस्तुमा सरकारले मुल्य वृद्धि गरेकोमा मुल्य वृद्धि फिर्ता गर्न नेपाल बन्द गरिएको जानकारी गराएको छ ।
सांसद् र मन्त्रीले होटल बसेको पैसा आयल निगमले लुकिछिपि तिर्दै आएको नेकपाको आरोप छ । सो पार्टीले नेता, मन्त्रीको लागि जनताबाट पैसा उठाउने माध्यम मुल्य वृद्धि बनाएको नेकपाको भनाई छ । पत्रकार सम्मेलनमा बोल्दै विप्लप समूहका नेता धर्मेन्द्र बाँस्तोलाले सरकारको गलत गतिविधि विरुद्ध दवाव दिन बन्दको विकल्प नभएको बताए । बन्दको अन्त्य गरिनुपर्छ भन्दै बाँस्तोलाले अहिले बन्द नै विकल्प भएकाले शान्तिपूर्ण बन्दको घोषणा गरेको जानकारी दिए । वैज्ञानिक समाजवादको बाटोमा पार्टी अघि बढेको भन्दै उनले दलाल पुँजीवादी व्यवस्थाको अन्त्य गर्न जनमत संग्रह गर्नुपर्ने धारणा राखेका छन् ।