जेष्ठ ८, २०८२ बुधबार

बिर्तामोडमा अटो टेम्पोको नयाँ भाडादर तोकियो

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिकाभित्र सञ्चालित अटो टेम्पोको भाडा वृद्धि भएको छ । अटो रिक्सा व्यवसायीहरुले भाडा वृद्धिका लागि माग गरेपछि बिर्तामोड नगरपालिकाले नयाँ भाडा दर कायम गरेको हो ।

व्यवसायीले जिल्ला प्रशासन कार्यालय झापा र जिल्ला समन्वय समिति झापामा भाडा वृद्धिका लागि माग गरेका थिए । भाडा वृद्धिका लागि नगरपालिकाले नै निर्णय गर्नुपर्ने पत्राचार भएपछि व्यवसायीको प्रस्ताव बमोजिम भाडादर कायम गरिएको छ । नगरपालिकाको तर्फबाट कार्यपालिका सदस्य निता घतानी संयोजक र रोजगार संयोजक होमनाथ भट्टराई सचिव रहने गरि अटो टेम्पो चालकका प्रतिनिधि सहितको सिफारिस समिति बनाइएको थियो । सोही समितिले नयाँ भाडादर प्रस्ताव गरे अनुसार कार्यपालिकाले निर्णय गरेको छ । मंसिर १६ गतेको कार्यपालिका बैठकमा सिफारिस समितिले प्रस्ताव गरेको भाडादर निर्णय भएको छ ।

लामो समयदेखि शुरुआती चरणकै भाडामा कुदिरहेका व्यवसायीले इन्धनको मुल्य वृद्धि र खाद्य सामग्रीको मुल्य वृद्धि भएका कारण भाडा वृद्धिको माग गरेका थिए । पुरानो भाडालाई अध्ययन गरेर भाडा वृद्धि गर्ने सन्दर्भमा बनाइएको सिफारिस समितिले नयाँ मापदण्ड अनुसार भाडा दरका लागि कार्यपालिकालाई नयाँ दर पठाएको थियो ।

बिर्तामोडको मुक्तिचोक देखि २ किलोमिटरभित्र ३० रुपैयाँ र त्यसपछि प्रति किलोमिटर १० रुपैयाँ बढाउदै जाने निर्णय भएको समितिकी संयोजक घतानीले जानकारी दिइन् । उनका अनुसार भाडादर तोकिएको क्षेत्रभन्दा बाहिर गएमा यात्रु र व्यवसायीको सहमति गरेर जान सकिनेछ ।

संयुक्त अटो संघ झापाका कोषाध्यक्ष हरि बाँस्कोटाले भाडा निश्चित नहुँदा चालक र यात्रुबिच सधैं समस्या हुने गरेको बताएका छन् । उनले भाडा निश्चित हुँदा चालक र यात्रु कोहि पनि नठगिने जानकारी दिए । उनका अनुसार भाडा नतोक्दा मनपरी भइरहेको थियो । लफडा, झैझगडा भइरहेकाले नयाँ भाडादर समेत लागु गरिएको बाँस्कोटाको भनाई छ । तोकिएको भाडाभन्दा बढि कसैले लिएमा प्रशासनले कारवाही गर्ने बताए ।

प्रकाशित मिति : मंसिर २३, २०७८ बिहीबार  ८ : ४१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]