जेष्ठ ४, २०८२ शनिबार

झापामा अझै सहज भएन सिटामोल

बिर्तामोड । औषधिका थोक विक्रेताहरुले पारासिटामोलको हाहाकार अझै उस्तै भएको बताएका छन् । औषधि उत्पादक कम्पनीहरुले महिनौदेखि पारासिटामोल उपलब्ध नगराएको झापाका औषधि व्यवसायीहरुले बताए । महिनौ देखिको समस्या समाधान हुन नसकेको औषधि व्यवसायीहरुको भनाई छ ।

झापा बिर्तामोडस्थित आगमन फर्माका सञ्चालक दिपेन्द्र पौडेलले ६ महिनादेखि पारासिटामोल विक्रि गर्न नपाएको जानकारी दिए । उनले कम्पनीबाट सिटामोल नआएको कारण विक्रि नगरेको बताएका छन् । कोरोना महामारी शुरु हुनुभन्दा पहिले सिटामोलको माग कमि थियो, पौडेलले भने – ‘अहिले सिटामोलको व्यापाक माग छ । दैनिक हजारौं डिब्बा भए पनि पुग्दैन ।’ कोभिडपछि हरेक परिवारमा सिटामोलको खपत बढेको औषधि व्यवसायी पौडेलको भनाई छ ।

कच्चा पदार्थको मुल्य बढेको भन्दै कम्पनीले पुरानो मुल्यमा उत्पादन गर्न नसक्ने बताइरहेका छन् । सरकारले प्रति पत्ता १० रुपैयाँ तोकेको छ । उत्पादक कम्पनीहरुले प्रति पत्ता १० रुपैयाँमा दिन नसक्ने भन्दै मुल्यको बार्गेनिङ गरिहरेको बुझिएको छ । प्रति पत्ता १५ रुपैयाँमा विक्रि गर्न पाए मात्रै कम्पनीहरुले सिटामोल उत्पादन गर्ने छाँटकाँट देखाएका छन् ।

रक्षा मेडिसिन सप्लायर्स बिर्तामोडका सञ्चालक कृष्ण सुवेदीले ७ महिनापछि सिटोमोल आएको जानकारी दिए । आइतवार उनको सप्लायर्समा पहिलो पटक निपोन कम्पनीले ५ सय पत्ता सिटामोल छाडेको छ । विराटनगरको औषधि उत्पादक कम्पनीले बिर्तामोडका केहि औषधि विक्रेतालाई सिटामोल छोडेको सुवेदीले जानकारी दिए । कम्पनीलाई फाइदा नै नहुने भएर बजारमा नल्याएको सुवेदी बताउँछन् ।
यस्तै, बिर्तामोडस्थित कामाक्षा फर्मा सेल्सले ७÷८ महिनादेखि कम्पनीबाट सिटोमोल पाएको छैन । कामाक्षाका सञ्चालक मुक्तिनाथ गुँरागाईले सिटामोल विक्रि नगरेको महिनौ वितिसकेको बताए । उनले भने, औषधि व्यवसायीले अर्डर टिपाउँदा पहिलो प्रश्न नै ‘सिटामोल आयो ? भन्छन् । ७ महिनादेखि सिटामोल बारे जिज्ञासा अझै नमेटिएको गँुरागाईको भनाई छ । उनका अनुसार कम्पनीले होलसेल विक्रेतालाई सिटामोल प्रतिपत्ता ७.७५ पैसामा दिने गरेको छ । होलसेलले खुद्रामा ८.६२ पैसामा दिने गरेको छ । प्रति पत्ता विक्रि गर्दा १ रुपैयाँ ३८ पैसा फाइदा हुन्छ ।

निपोनले ५ महिनादेखि निरन्तर रुपमा सिटामोल (निपोमोल) उत्पादन गर्दै आएको जनाएकोे छ । कम्पनीका सञ्चालक मन्टु घिमिरेले यो अवधिमा ५० लाख ट्यावलेट उत्पादन गरेको जानकारी दिए । उनले बजारमा आत्तिहाल्नु पर्ने गरि अभाव नभएको बताएका छन् । उनले औषधिको मुल्य मात्रै हेरेर नहुने बताउँदै नागरिकको सेवामा ख्याल गर्नुपर्ने बेला आएको बताए । घिमिरेले भने – ‘पश्चिम नेपालसम्म सिटामोल वितरण गरिरहेका छौं, व्यापारसँगै सेवा पनि हेर्नुपर्ने रहेछ ।’

२०६४ सालमा मन्त्रीपरिषद्ले २१ प्रकारको औषधिको मुल्य निर्धारण गरेको थियो । सो मुल्यमा औषधि उत्पादक कम्पनीहरु अहिले उत्पादन गर्न नसक्ने तर्क गर्दै आइरहेका छन् । नेपालमा २५ बढी कम्पनीले सिटामोल उत्पादन गर्दै आएका छन् ।

औषधि व्यवसायीहरुका अनुसार जिल्लाभर बिर्तामोडबाट औषधि वितरण हुने गरेको छ । बिर्तामोडमा सिटामोल नआएका कारण जिल्लाभर उस्तै अभाव भएको छ ।

प्रकाशित मिति : माघ १७, २०७८ सोमबार  ९ : ४१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]