जेष्ठ ११, २०८२ शनिबार

प्रेमीसँग मिलेर श्रीमानको हत्या : टुक्राटुक्रा पारेर शव व्यवस्थापन

विराटनगर । धरानस्थित जंगलमा अलग–अलग जेब्रा झोलाभित्र शवका टुक्रा फेला परेका पुरुषको हत्या आफ्नै कान्छी पत्नी (श्रीमती)ले परपुरुषसँग मिलेर गरेको खुलेको छ ।

झापाको दमक नगरपालिका–५ ठेगाना भएका ४३ वर्षीय दिनेश सिग्देलको हत्या उनकी कान्छी पत्नी ३० वर्षीया अनिता केसीको योजनामा भएको पत्ता लागेको हो । सुनसरी प्रहरी प्रमुख एसपी सञ्जयसिंह थापाका अनुसार हत्यामा संलग्न अनिता र उनका प्रेमी विराटनगर महानगरपालिका–४ इक्राहीका २९ वर्षीय सरोज भण्डारीलाई पक्राउ गरिसकिएको छ । पक्राउ परेकाविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउन अदालतबाट मंगलबार म्याद थप गरेर घटनाको बाँकी अनुसन्धान अघि बढाइएको जानकारी थापाले दिए ।

वीभत्स तरिकाले हत्या गरेपछि शरीरलाई टुक्राटुक्रा बनाउँदै जेब्रा झोलाभित्र प्याक गरेर सुनसरीको धरान उपमहानगरपालिका–४ स्थित धरान–भेडेटार सडक खण्डको जंगलमा फ्यालिएको अवस्थामा एक साताअघि दिनेशको शव भेटिएको थियो । घाँटीभन्दामाथि टाउकाको भाग र तिघ्रामुनिको दाहिने खुट्टा प्याक गरेर फ्यालिएको एउटा झोला गत बुधबार भेटिएको हो । भोलिपल्ट अर्थात बिहीबार करीब १ किलोमिटरमाथि जीउसहितका अन्य अंगहरु प्याक गरिएको अर्को झोला पनि भेटियो ।

घटनास्थल धरान बजारबाट लगभग ७–८ किलोमिटर उत्तरमा पर्छ । कुहिएर दुर्गन्ध फैलिएको अवस्थामा भेटिएको शवको पहिचान तत्काल खुलेन । सोमबार साँझ पहिचान खुलेपछि प्रहरी हत्यारासम्म पुग्न सफल भएको हो । घटनालाई निस्कर्षमा पुर्याउनका लागि इलाका प्रहरी कार्यालय धरान, जिल्ला प्रहरी कार्यालय सुनसरी, संघीय इकाई प्रहरी कार्यालय धरान र प्रदेश १ प्रहरी कार्यालय विराटनगरबाट संयुक्त टोली परिचालन गरिएको थियो ।

एसपी थापाका अनुसार दिनेश अघिल्लो वर्ष पुसमा वैदेशिक रोजगारीका लागि बहराईन गएको खुलेको छ । स्वास्थ्यमा समस्या भएर कम्पनीले विदा दिएपछि उनी गत पुस २० गते नेपाल फर्किएको उनले बताए । काठमाडौं आएको भोलिपल्ट विराटनगर आएपछि कान्छी पत्नीसँग उनको भेट भयो । त्यो रात दुवै जना विराटनगरकै फेमिली होटल एन्ड लजमा बसे ।

प्रहरीका अनुसार डेरा खोजेर कान्छी पत्नीलाई विराटनगर–३ पिपल चोकमा राखेर उनी बहराईन गएका थिए । होटलबाट पुस २२ गते बिहान दिनेश कान्छी पत्नीको डेरा घरको कोठामा आए । त्यही दिन साँझतिर कोठामै गलबन्दीले घाँटी कसेर अनिता र सरोजले दिनेशको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

एसपी थापाका अनुसार विदेशबाट आएर भेट भएको भोलिपल्टै अनिताले आफ्ना प्रेमीसँग मिलेर पति दिनेशको हत्या गरेको पत्ता लागेको छ । ‘हत्या गरेपछि रातभर शव कोठामै राखेछन्,’ उनले भने, ‘भोलिपल्ट अर्थात पुस २३ गते हत्या गरिएकै कोठामा टुक्राटुक्र बनाएपछि टाउको र खुट्टाको भाग जेब्रा झोलामा प्याक गर्दै टेम्पोमा राखी धरानको जंगलमा पु¥याएर फ्यालेछन् । कोठामै छाडिएको शरीरको अरु भाग भोलिपल्ट व्यवस्थापन गरेको पाइयो ।’

थापाका अनुसार टाउको र हातको भाग धरानको जंगलमा व्यवस्थापन गरेपछि अनिता र सरोज धनकुटाको भेडेटार गएर एक रात बसेको खुलेको छ । उनीहरु भेडेटारबाट भोलिपल्ट अर्थात पुस २४ गते विराटनगर फर्किएको जानकारी थापाले दिए । उनका अनुसार भेडेटारबाट फर्किएपछि उनीहरुले कोठामै छाडेको शरीरको अरु भाग लगेर त्यही जंगलमा व्यवस्थापन गरेका हुन् ।
शव लैजान प्रयोग गरिएको टेम्पोको नम्बर भने खुलेको छैन । हत्या गरेपछि खुकुरी र आल्मुनीयम एवं रड काट्न प्रयोग गरिने ग्रेन्डर मेसिन किनेर काट्दै शवलाई टुक्रा पारिएको पाइएको एसपी थापाले बताए ।

‘पति विदेशमा भएका बेला सरोजसँग अनिताको प्रेम बसेछ । फर्किएर आएपछि प्रेममा बाधक बन्ने देखेर योजनावद्ध तरिकाले दुवै जनाले हत्या गरेको पाइयो,’ एसपी थापा भन्छन्, ‘शव एक रात कोठामै राखिएको रहेछ । भोलिपल्ट काटेर टुक्राटुक्रा बनाउँदै जंगलमा लगेर व्यवस्थापन गरेको खुल्यो ।’ उनका अनुसार गत दसैंदेखि अनिता र सरोज प्रेम सम्बन्धमा रहेका थिए ।

सुनसरी प्रकाशपुर माइती भएकी अनितासँग दिनेशको १० वर्षअघि प्रेम विवाह भएकोे उनले बताए । कान्छी पत्नीतर्फ दिनेशकी ७ वर्षकी छोरी छन् । अनितासँग प्रेममा परेका सरोजको पनि पत्नीसँग घरवार बिग्रिएको पाइएको छ । प्रहरीका अनुसार पत्नीसँग सम्बन्ध विच्छेदको प्रक्रियामा रहेका उनी अनितासँग गत दसैंदेखि नियमितजसो बस्न थालेको खुल्यो ।

अनिताले भने सरोजसँगको प्रेम सम्बन्ध थाहा पाएपछि दिनेशले मदिरा सेवन गरेर आफूमाथि कुटपिट गरेका कारण हत्या गरेको प्रहरीलाई बताएकी छन् ।

इलामको बाँझो घर भएका दिनेश केही समयअघि परिवारसहित दमक बसाइँ सरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार २२ वर्षअघि बिहे गरेकी जेठी पत्नी निर्मला सिग्देल भने छोराछोरीसहित झापाको झिलझिलेमा बस्दै आएकी थिइन् । जेठी पत्नीतर्फ दिनेशका दुई छोरा र दुई छोरी रहेको जानकारी प्रहरीले दिएको छ । विदेशबाट फर्किएपछि जेठी श्रीमतीसँग फोनमा सम्पर्क भएको तर भेट नभएको पाइएको एसपी थापाले बताए । ‘झोलामा शव भेटिएपछि तत्काल पहिचान खुलेन ।

सबैतिरबाट प्रमाण संकलन गर्दै पहिचान खुलाउन सकिएका कारण प्रहरी हत्यारासम्म पुग्न सफल भयो,’ उनले भने, ‘चुनौती बनेर आएको घटनालाई निस्कर्षमा पुर्याउन सक्नु प्रहरीका लागि ठूलो उपलब्धि हो । सम्बन्धमा रहेका परपुरुषसँग मिलेर कान्छी पत्नीले वैदेशिक रोजगारीबाट फर्किएका पुरुषको हत्या गरेको पाइयो ।’ थापाले घटनाको अनुसन्धान गर्दै शवको सनाखत र घटनाको वास्तविकता पत्ता लगाउनका लागि स्केच बनाउने, मुलुकभरका प्रहरी कार्यालयमा हुलिया परिपत्र गर्ने लगायतका धेरै मिहीनेत प्रहरीले गर्नु परेको जानकारी दिए । अन्नपूर्णबाट

प्रकाशित मिति : फाल्गुन ११, २०७८ बुधबार  ८ : ४९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]