मेयरको ठाडो निर्देशनमा भत्काइयो बिर्तामोडको गुणस्तहीन कालोपत्रे सडक
बिर्तामोड । बिर्तामोड –८ स्थित प्रगतिनगर शंखरवाडी टोल जाने सडक मापदण्ड विपरीत कालोपत्रे गरेको भन्दै भत्काइएको छ । शुक्रवार नगरप्रमुख ध्रुवकुमार शिवाकोटीको निर्देशनमा ग्रेडर लगाएर उक्त सडक भत्काइएको छ ।
इन्जिनियर, प्राविधिकसहित सडकमा पुगेका नगरप्रमुख शिवाकोटीले ठेकेदार कम्पनीले कमसल सामग्री प्रयोग गरेर कालोपत्रेको नाममा झारो टारेको भन्दै सडक भत्काउन लगाएका हुन् । गुणस्तरहीन कालोपत्रे गरेका कारण बाध्य भएर सडक जोत्नु परेको नगरप्रमुख शिवाकोटीको भनाई छ ।

नगरप्रमुख शिवाकोटीले गुणस्तरीय सडक निर्माण गर्न नसक्ने ठेकेदारहरुले बिर्तामोडमा ठेक्का नहाल्न समेत आग्रह गरेका छन् । मापदण्ड विपरीत काम गर्नेहरुलाई बिर्तामोड नगरपालिकाले छुट नदिने भन्दै उनले सचेत गराएका छन् ।
नगरपालिकाबाट २५० मिटर लम्बाई,२० फुट चौडाइएको यो सडक कालो पत्रेका लागि इलामको सिद्विथुम्का निर्माण सेवा.प्रा.लिले १३ लाख ८५ हजार ३१२ रुपैयाँमा गत असार २ गते ठेक्का पाएको थियो । ठेक्का सम्झौता अनुसार योजना सम्पन्न गर्नका लागि २०७९ असार २ गते सम्मको लागि म्याद रहेको छ । गणस्तरहिन कालोपत्रे भत्काएपछि स्थानीय समेत खुशी भएका छन् ।