बिर्तामोडमा हात्तीपाइले विरुद्धको औषधि खुवाउने तयारी
बिर्तामोड । हात्तीपाइले रोग विरुद्वको आमऔषधी सेवन कार्यक्रम अन्तर्गत नगरपालिका स्तरीय योजना तर्जुमा तथा बहुनिकाय गोष्ठी बिर्तामोडमा सम्पन्न भएको छ ।
स्वास्थ्य शाखाको आयोजनामा मंगलबार सम्पन्न गोष्ठीमा फागुन २८ गतेदेखि सञ्चालन हुने हात्ती पाइले रोग विरुद्वको औषधी सेवन अभियानका बारेमा छलफल गरिएको छ । कार्यक्रममा स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जिवन चौलागाईले यस अभियानको तयारी, औषधी खाँदा र ख्वाउँदाका विषयमा ध्यानदिनु पर्ने कुरा,अभियानको व्यवस्थापनका विषयमा प्रशिक्षण दिए ।

यस्तै बिर्तामोड नगरपालिकाका हात्तीपाइले रोग विरुद्वको आम औषधी सेवन कार्यक्रमका फोकल पर्सन दिपक सापकोटाले बिर्तामोड नगर क्षेत्रभित्र रहेका १ लाख १० हजार ३५५ जनालाई हात्तीपाइले रोग विरुद्वको औषधी ख्वाउने जानकारी दिए । उनले बिर्तामोडमा भाडामा बस्नेहरुको संख्या पनि धेरै रहेकाले उनीहरुलाई पनि औषधी ख्वाउनबाट बञ्चित नगरिने बताए । यसअभियानका लागि बिर्तामोडमा ५५५ जना स्वास्थ्यकर्मी र ३७५ स्वयमसेवक गरि ९३० जना खटाइने जनाइएको छ । यसको लागि उनीहरुलाई तालिम प्रदान गर्ने काम भईरहेको छ ।
हात्तीपाइले रोग विरुद्वको औषधी २ वर्षभन्दा मुनिका बालबालिका, सिकिस्त बिरामी, गर्भवती महिला, ७ दिनसम्मको सुत्केरी बाहेकले निर्धक्क सेवन गर्न मिल्ने स्वास्थ्य कार्यालय झापाले जनाएको छ । फागुन २८ गतेदेखि शुरु हुने यो अभियान औषधी ख्वाई नसकुञ्जेलसम्म लगातार सञ्चालन हुने छ ।
गएको वर्ष यस अभियानमा बिर्तामोडले ८७ प्रतिशत र स्वास्थ्य कार्यालय झापाले ८५ प्रतिशत प्रगति हासिल गरेको थियो । नागरिक उपप्रमुख पवित्रा महतारा प्रसाइको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बिर्तामोड २ का वडाध्यक्ष नगेन्द्र संग्रौला, वडा नम्बर ९ कि वडाध्यक्ष पवित्रा पाठक, स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जिवन चौलागाई, स्वास्थ्य शाखा बिर्तामोडका प्रमुख राजिव विष्ट, कार्यपालिका सदस्य भगिरथा आचार्य, न्यायिक समिति सदस्य यामुना आचार्य लगायत बिर्तामोड नगरपालिकाभित्र रहेका सरकारी स्वास्थ्य चौकी तथा नगरअस्पतालका प्रमुखहरुको उपस्थिति रहेको थियो ।