जेष्ठ ९, २०८२ बिहीबार

झापा गोल्डकपको फाइनल : आर्मीसँग झापा-११ भिड्ने

बिर्तामोड । घरेलु टोली झापा ११ फुटबल क्लब नेपाल आइस पाँचौं झापा गोल्डकप फुटबल प्रतियोगिताको फाइनल पुगेको छ । बिर्तामोडस्थित डोमालाल राजवंशी मैदानमा शनिबार ए डिभजन टोली संकटा क्लबलाई २–० ले हराउँदै उपाधि नजिक पुगेको हो । झापाका लागि दुवै गोल विमल घर्तीमगरले गरेका हुन् ।

झापा ११ ले फाइनलमा अर्को ए डिभिजन टोली त्रिभुवन आर्मी फुटबल क्लबको सामना गर्नेछ । सातदोबाटो युथ क्लबलाई ४–१ ले हराउँदै आर्मी फाइनल पुगेको थियो ।

दोस्रो सेमिफाइनलको १६ औं मिनेटमा विमलले गोल गरेका थिए । एन्द्रियस नियाको पासमा विमलले विपक्षी गोलकिपरलाई छलाउँँदै नजिकबाट गोल गरेका थिए । झापा ११ का लागि विमलले अर्को गोल ५७ औं मिनेटमा गरेका थिए । मैदानको दायाँबाट विकास मेराल्गियाले दिएको पासलाई पेनाल्टी बक्स भित्रबाट विमलले सहज गोल गरेका हुन् । प्रतियोगितामा विलमको गोलसंख्या ४ पुगेको छ । क्वार्टरफाइनलमा उनले पेनाल्टीमार्फ २ गोल गरेका थिए ।

पहिलो हाफमै संकटाले पनि पटक पटक गोल फर्काउने मौका पाए पनि सफल भने हुन सकेन । यानिकले नजिकबाट गरेको प्रहारलाई झापाका गोलकिपर दीप कार्कीले जोगाएका थिए । ३० औं मिनेटमा यानिककै प्रहारलाई विश्वास श्रेष्ठले गोललाइनबाट क्लियर गरेका थिए । ३३ औं मिनेटमा फोडे फोफेनाको क्रसमा यानिकको हेड प्रहार दीपले सहजै रोकेका थिए । दोस्रो हाफमा संकटाले खासै आक्रमण बनाउन सकेन ।

आजको खेलको प्लेयर अफ दि म्याच झापा ११ का विमल घर्ती मगर भए । उनले नगद ९९९९ रुपैयाँ प्राप्त गरे ।

मछिन्द्र फुटबल क्लब मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोलकपबाट बाहिरिएपछि विमललगायत विशाल राई, देवेन्द्र तामाङ झापा ११ बाट खेलिरहेका छन् । विशालले झापा ११ को कप्तानी गरिरहेका छन् । फाइनल सोमबार हुनेछ । प्रतियोगिताको विजेताले १२ लाख ५५ हजार र दोस्रो हुने टोलीले ६ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

प्रकाशित मिति : फाल्गुन २८, २०७८ शनिबार  ५ : ३१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]