आर्मीका कोचले बिर्तामोडमा भने – उपाधिको साढे ९ लाख अझै पाएनौं
बिर्तामोड । त्रिभुवन आर्मी क्लवले तीन वर्षअघि झापामा भएको पूर्वाञ्चल गोल्डकपको उपाधि वापतको रकम अझैसम्म नपाएको गुनासो गरेको छ । सो रकम दिलाइदिन आर्मीले झापाका सरोकारवाला पक्षसँग आग्रह गरेको छ । आइतवार झापा गोल्डकपको प्रिम्याच कन्फरेन्समा आर्मीका कोच नविन न्यौपानेले पूर्वाञ्चल गोल्डकप आयोजकले साढे ९ लाख रुपैयाँ नदिएको जानकारी दिए ।
‘अन्नपूर्ण हाम्रो पूर्वाञ्चल गोल्डकप’ २०७६ मा आयोजना गरिएको थियो । सो गोल्डकपको आयोजना गर्ने जायोन स्पोर्टस क्लवले गोल्डकपको उपाधि विजेता त्रिभूवन आर्मी क्लवलाई धेरै ताकेतापछि तीन लाख दिएको कोच न्यौपानेले जानकारी दिए ।
प्रतियोगिता आयोजना गर्ने जायोन क्लवले उपाधि विजेतालाई १२ लाख ५० हजार र उपविजेतालाई ६ लाख २५ हजार नगद पुरस्कार दिने घोषणा गरेर प्रतियोगिता आयोजना गरेको थियो ।

पत्रकार सम्मेलनमा आर्मीका कोच न्यौपानेले झापा जिल्लाकै बद्नाम हुने काम भएको भन्दै तत्काल सो रकम उपलब्ध गराउन आग्रह गरेका छन् । इजलाससित कुरा गर्दै कोच न्यौपाने भन्छन्, अहिले त आयोजकसँग सम्पर्क पनि हुन छोडिसक्यो । सम्पर्क हुँदा पनि एक जना अर्का तिर देखाउने, अर्का अर्को तिर देखाउने काम भएको थियो ।
उनले झापामा फुटबलप्रति आम सरोकारवाला सचेत भएको बताउँदै रकम उपलब्ध गराइदिन आवश्यक पहल गरिदिन आग्रह गरे । विजेता, उपविजेता क्लवहरुले नगद पुरस्कार वापतको रकम नपाएपछि अखिल नेपाल फुटवल संघ (एन्फा) मा निवेदन दिएका थिए । त्रिभूवन आर्मी क्लवले निवेदन दिएपछि एन्फाले झापा जिल्ला फुटवल संघलाई पत्राचार समेत गरेको थियो ।

झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले मामा म्याच कमिश्नर भएको सो प्रतियोगिताको रकम उठाइदिन आर्मीले उनलाई पनि ताकेता गरेको थियो । मामाले पछिल्लो समय प्रहरीमा उजुरी दिनुपर्छ भन्दै आएका छन् । सो गोल्कपको ब्राण्ड एम्वेस्डर हरि खड्का थिए ।
जायोन क्लवका तर्फबाट गोल्डकप आयोजना गर्न बिर्तामोडका भक्त खवास, मणि राई, दिपेन्द्र आछामी मुख्य भूमिकामा थिए । सो क्लवका कारण अन्य फुटबल प्रतियोगितालाई समेत गर्दै आएको छ ।