अध्यक्ष, मेयर र उपमेयरको उम्मेद्वारीको निर्णय प्रदेश कमिटीले गर्ने
काठमाडौं । नेकपा एमाले अब स्थानीय निर्वाचनतर्फ पूर्ण रुपमा केन्द्रीत भएको छ । मंगलवार बसेको सचिवालय बैठकले उम्मेद्वार सिफारिसको मापदण्ड स्विकृत र घोषणा पत्र तयारीको काम थाल्ने निर्णय गरेपछि निर्वाचनको गियर अघि बढेको हो ।
उपमहासचिव पृथ्वी सूब्बा गुरुङका अनुसार नेपाल वुद्धिजीवी परिषदको र पार्टीको नीति अनुसन्धान प्रतिष्ठानको संयोजनमा बुधबार स्थानीय तहको निर्वाचन घोषणा पत्रको मस्यौदा तयारी गरिनेछ । ‘उक्त प्रस्तावमा थप छलफल गरेर आगामी ९ गते आयोजना गरिने केन्द्रीय कमिटी बैठकले घोषणा पत्र पास गर्नेछ’ उपमहासचिव एवं प्रचार विभाग प्रमुख पृथ्वी सूब्बा गुरुङले भन्नुभयो ‘यसका लागि स्थनीय तहका जनप्रतिनिधीहरुसाग पनि सुझाव मागिएको छ ।’
गुरुङका अनुसार उम्मेद्वार छनौटका लागि वडा अध्यक्ष र सदस्यहरुका लागि स्थानीय पालिकाको सिफारिसमा जिल्ला कमिटीले निर्णय गर्नेछ । यस्तै गरी गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र नगरपालिकाका मेयर, उपमेयरको उम्मेद्वारीको निर्णय जिल्ला कमिटीको सिफारिसमा प्रदेश कमिटीले गर्नेछ । यस्तै गरी महानगरका मेयर र उपमेयरको निर्णय केन्द्रीय कमिटीले गर्ने गुरुङले जानकारी दिए ।
एमालेका एकजना सचिवका अनुसार एमालेमा अब स्थानीय तहको निर्वाचनको गियर अघि बढेको छ । ‘पार्टीका केन्द्रीय कमिटी,विभाग र फाँटमा रहेका कमरेडहरुलाई पनि स्थानीय भूगोलले आवश्यकता ठानेमा बोलाउने छ । यस्तो अवस्थामा सबै कमरेडहरुले आफ्नो भूगोलमा गएर चुनाव भरी खट्नुपर्नेछ ।’