जेष्ठ ५, २०८२ आईतबार

हलेसीमा पन्ध्रदिने रामनवमी मेला

खोटाङ – रामनवमीको अवसरमा खोटाङको हलेसीमा पन्ध्रदिने मेला लागेको छ । यहाँ पूजाआजा गर्न भक्तजनको बाक्लो उपस्थिति छ । हिन्दू, बौद्ध र किराँत धर्मावलम्बीको सङ्गमस्थल हलेसीमा एक साता अघिदेखि मेला लागेको हो ।

मेलामा नेपालका साथै छिमेकी देश भारतबाट समेत उल्लेख्य सङ्ख्यामा भक्तजन आएका छन् । हलेसी विकास समितिका कार्यकारी निर्देशक समर भुजेलका अनुसार भक्तजनका कारण मन्दिर आसपासका होटल भरिभराउ छन् । आगामी दिनमा धर्मशाला निर्माण गर्ने योजना रहेको उहाँले बताउनुभयो ।

नेपाल आयल निगमले समेत हलेसीमा धर्मशाला निर्माण गरिरहेको हलेसी तुवाचुङ नगरपालिकाका नगर प्रमुख इवन राईले जानकारी दिनुभयो । अधिकांश दर्शनार्थीले आफ्नै सवारीसाधन ल्याउने गरेका छन् । यसबाट सवारीसाधन व्यवस्थापनमा समस्या हुने गरेको छ । हलेसी मध्यपहाडी लोकमार्गमा पर्छ । जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी विकल श्रेष्ठ मेला व्यवस्थित गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको बताउनुहुन्छ ।

हलेसीको दर्शन गर्नाले मनोकांक्षा पूरा हुने जनविश्वास रहिआएको छ । चट्टानै चट्टानले बनेको हलेसी मन्दिर आसपास महादेव गुफा, बसाहा गुफा, शिवपार्वती थान, भैरव गुफा, धर्मद्धार, पापद्वार, स्वर्गद्धार जस्ता विभिन्न द्वार छन् । प्राकृतिक भू–बनोटको हिसाबले पनि विश्वकै नमूना मानिने खोटाङको हलेसीस्थित बसाहा गुफा महादेव गुफाको ठीक पछाडिपट्टी पर्दछ । घना जङ्गलको बीचमा अवस्थित बसाहा गुफाको करिब ५० मिटरभित्र छिरेपछि देखिने आकाशको दृष्य प्राकृतिक सौन्दर्यको अनुमप उपहार जस्तो देखिन्छ ।

हलेसीमा रामनवमी, शिवरात्री, बालाचतुर्दशी, हरितालिका तीज, बोलबमलगायतमा मेला लाग्छ । मध्यपहाडी लोकमार्गको सुनकोशीस्थित हर्कपुर र दूधकोशीस्थित जयरामघाटमा पक्की पुल बनेसँगै तराईसँगको सिधायातायात जोडिएको छ ।

प्रकाशित मिति : चैत्र २७, २०७८ आईतबार  २ : ५१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]