कसले ल्यायो बिर्तामोडमा लाखौंको अवैध कपडा ?
झापा । झापामा केहिदिन देखि तस्करी बढिरहेको छ । हरेक दिन प्रहरीले जिल्लाका विभिन्न स्थानबाट तस्करीका सामान बरामद गरिरहेका छन् । पूर्व र दक्षिण सीमाबाट २० किलोमिटरसम्म बरामद नहुने तस्करीका सामान बिर्तामोड आइपुगे पछि मात्रै बरामद हुन थालेको छ ।
बुधबार अवैध रूपमा नेपाल भित्राइएको ४० लाख मूल्य बराबरको कपडासहित दुई वटा सवारी प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय अनारमनीले बिर्तामोडस्थित भद्रपुर रोडबाट को १ ज २४४० नम्बरको मारुती भ्यान र डब्लूबी ७४ टी १४५५ नम्बरको मारुतीसहित ४१ थान कपडा बरामद गरेको छ । प्रहरीले ठुलो कपडाको ८ थान रोल, ३१ थान सानो कपडाको रोड, ठुलो बोरामा २ बोरा कपडा, मोटर गार्ड ५ थान, ३ बोरा मोटरपार्ट बरामत गरेको छ । प्रहरीले कपडा आयात गर्ने धनीको नाम सार्वजनिक गरेको छैन ।

भारतीय नम्बर प्लेटको सवारीको प्रज्ञापन–पत्र नभएको र को १ झ २४४० नम्बरको सवारीमा कपडा लोड गरेको अवस्थामा प्रहरीले फेला पारेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
वरामद गरेको कपडा आवश्यक कारबाहीका लागि आन्तरिक राजस्व कार्यालय इटहरी पठाइएको प्रहरी प्रवक्ता बसन्त पाठकले जानकारी दिए । मंगलवार साँझमात्रै जिल्ला प्रहरी कार्यालय झापाले काँकरभिट्टाबाट २० लाख मूल्य बराबरको बिस्कुटसहित एउटा कन्टेनर नियन्त्रणमा लिएको थियो ।
५ लाखको सुपारी बरामत
मंगलवार प्रहरीले मेचीनगर –६ स्थित बुद्दशान्ति बुधबारेबाट काँकरभिट्टा हुँदै तिरिङखोला तर्फ जाँदै गरेको मे १ च ४९८० नं.को पिकअप भेनलाई चेकजाँच गर्दा २ सय केजी सुपारी बरामत गरेको छ ।
जिल्ला प्रहरी कार्यालय झापा र ईप्रका काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँच भीसीटिएस नगरेको पाँच लाख सत्तरी हजारको सुपारी बरामत गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उक्त सुपारी र पिकअप गाडी अन्दाजी मुल्य दश लाख कायम गरी जम्मा पन्ध्र लाख सत्तरी हजार बराबरको बरामत गरेर चालक सोही ठाउँ घर भएका ४८ वर्षीय दान बहादुर पोखरेल समेतलाई नियन्त्रणमा लिई आन्तरिक राजश्व कार्यालय ईटहरीमा पठाइएको प्रवक्ता पाठकले जानकारी दिए ।