बजेट अभावले रोकियो झापा रोडको काम
बिर्तामोड । झापाको सुरुङा चोकदेखि झापा गाउँपालिका दक्षिण बोर्डरसम्मको कालोपत्रे सडक निर्माणको काम रोकिएको छ । प्रदेश सरकारले बजेट उपलब्ध गराउन नसक्दा काम रोकिएको निर्माण व्यवसायीले जानकारी दिएका छन् ।
पूर्व–पश्चिम राजमार्गदेखि दक्षिणमा बोर्डरसम्मको २५ किमि कालोपत्रे सडक निर्माणको काम दुई निर्माण व्यवसायीले गरिरहेका छन् । कनकाई आषिश जेभी र मैनालीले काम गरिरहेको पूर्वाधार विकास कार्यालय झापाले जनाएको छ । कनकाई जेभीले पूर्वपश्चिम राजगमार्गदेखि दक्षिण ८ किमि र त्यहाँदेखि दक्षिण १७ किमि मैनाचुलीले गरिरहेको छ ।

कनकाईले साढे २ किमि सडक चार लेनसहित फुलवारीको संरचना निर्माण गर्ने सम्झौता गरेको थियो । बाँकी भागमा दुई लेन निर्माण गर्ने गरी ४७ करोडमा ठेक्का पाएको कनकाईले बजेट अभावकै कारण काम रोकेको जनाएको छ । कनकाई जेभीका सञ्चालक राम मैनालीले ८ किमि सडक कालोपत्रे गर्न मात्रै बाँकी रहेको जानकारी दिए । उनका अनुसार बजेट नआएपछि काम पनि रोकिएको छ । प्रदेश सरकारले पूर्वाधार विकास कार्यालय मार्फत ठेक्का लगाएको सो सडक बजेटको सुनिश्चित हुना साथ काम सम्पन्न गर्ने मैनालीको भनाई छ । उनले आफ्नै लगानीबाट गरेको कामको समेत रकम नपाएको बताएका छन् । सधैं आफ्नै बजेटबाट काम गर्न सकिदैन, मैनालीले भने – पैसा आएको सवा महिनामा काम सकिदिन्छु ।
बजेट अभावले काम रोकिदा आफ्ना जनशक्ति समेत खाली बसेको उनको भनाई छ । उनले आफुसँग काम गर्ने सबै सामग्री, जनशक्ति हुँदा पनि बजेट अभावले रोक्नुपरेको बताएका छन् । सुरुङादेखि ८ किमिसम्मको भागमा अहिले सर्वसाधारणलाई आवातजावतमा समेत समस्या भइरहेको छ । स्थानीयको तीब्र गुनासो आइरहँदा पनि आफुले काम अघि बढाउन नसकेको मैनाली बताउँछन् । उनका अनुसार सो सडक खण्डमा बेस हालेर कालोपत्रे काम मात्रै बाँकी रहेको बताएका छन् ।
यस्तै, मैनाचुलीले सन्तोषजनक काम समेत गर्न नसकेको स्थानीयबासीको गुनासो छ । साइड ड्रेन बाहेकका काम बाहेक अन्य काम नगरेको प्रत्यक्षदर्शी बताउँछन् । १०÷१२ जना मात्रै खटाएर कालोपत्रे सडक हुदैन, स्थानीय भन्छन् – काम चाँडो अघि बढाइयोस् ।
मैनाचुलीका प्रतिनिधि रमेश अधिकारीले पनि बजेट अभावकै समस्या देखाए । उनले आफ्नै लगानीबाट काम गरिरहेको जानकारी दिएका छन् । अधिकारीले भने – अहिले ड्रेन फिलङको काम गरिरहेका छौं । बजेट अभावका कारण कामलाई भनेजस्तो गति दिन सकिएको छैन ।
५१ करोडभन्दा माथि बजेटको सो सडक ०७९ भित्र सम्पन्न गरिसक्ने मैनाचुलीले जनाएको छ । बाँकी छिटपुट विस्तारै गर्ने कम्पनीका प्रतिनिधि अधिकारीको भनाई छ । सडकले निर्माणले गति लिन नसक्दा सडक आसपास बसोवास गर्ने सर्वसाधरण धुलोले हैरानी व्यहोरिरहेका छन् ।