जेष्ठ ४, २०८२ शनिबार

वार्षिकोत्सवमा अधिकांशले भने – इजलास खवरदारीमा सशक्त

बिर्तामोड । टाइम्स मिडिया नेटवर्क प्रालिद्वारा प्रकाशित इजलास दैनिकले छैटौं वार्षिकोत्सव मनाएको छ । शनिवार बिर्तामोडमा आयोजित इजलासको वार्षिकोत्सवमा अधिकांश वक्ताले पत्रिकाले जिल्लामा वेग्लै छाप स्थापित गरेको बताएका छन् । अधिकांश वक्ताले इजलास खवरदारीमा सशक्त भएको बताएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् पूर्व मन्त्री अग्नि खरेलले राज्य र व्यक्ति दुवैका लागि मिडिया आवश्यक रहेको बताएका छन् । पूर्व मन्त्री समेत रहेका खरेलले मिडिया राज्य संचालनका लागि महत्वपूर्ण हुने बताए ।
पञ्चायती व्यवस्थाको उत्तरार्धमा स्वतन्त्र प्रेस माथि राज्यले अंकुश लगाएको स्मरण गर्दै लोकतन्त्रमा प्रेस स्वतन्त्र रहेको खरेलको भनाई थियो । समाचारको बिषय के हो के होइन भन्ने कुरा सम्बन्धित सञ्चारकर्मीले छुट्याउन सक्नु पर्ने खरेलले बताए । सञ्चार क्षेत्रलाई महत्वका आधारमा चौथो अंगको रुपमा स्वीकार गरिएको दावी गरे । उनले इजलासले सामाजिक रुपमा गरिरहेको खवरदारी बारे आफु जानकार रहेको बताए ।

बार्षिकोत्सवमा पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य तथा नेकपा एमाले जिल्ला कमिटी झापाका सदस्य मोहन काजीले सञ्चार क्षेत्र मुलुकको विकासको आधार भएको बताए । उनले सामाजिक रुपमान्तरण र मुलुकको समग्र विकासको लागि सञ्चारको महत्वपूर्ण भूमिका हुने बताएका छन् । कोरोनाका कारण मिडिया थलिएको, विज्ञापनको बजार संकुचित भएको अवस्थामा पनि विज्ञापनको मूल्य भने नबढेको उनको भनाई थियो । सञ्चार क्षेत्रको विकासका लागि स्थानीय तहको सहयोग आवश्यक रहेको उनको भनाई छ ।

झापा जिल्ला सहकारी संघका उपाध्यक्ष एवम् सहारा नेपाल साकोसका प्रमुख कार्यकारी अधिकृत महेन्द्र गिरीले छापा माध्यमभन्दा अनलाईन मिडिया पछिल्लो समय प्रभावकारी रहेको बताए । उनले सञ्चारमाध्यमले पत्रकारितालाई नयाँ स्वरुपमा लैजानु पर्ने धारणा व्यक्त गरेका छन् । समय अनुसार इजलासले अनलाईनसँगै अनलाई टिभी थप गर्नुपर्ने सूझा दिए । गिरीले मिडियालाई प्रविधीमैत्री बनाउनुपर्ने पर्नेमा जोड दिए । आर्थिक क्षेत्रका बारेमा इजलासले खोज गर्दै खुराक पस्किनुपर्नेमा उनको जोड थियो । विकासको मेरुदण्ड आर्थिक क्षेत्रलाई समेट्न र सकारात्मक समाचारलाई पनि प्राथमिकता दिन गिरीले सुझाव दिए ।

जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलले पत्रकारिताको इतिहास स्मरण गर्दै इजलासले समाजमा सकारात्मक सन्देश दिन खोजेको धारणा राखे । छापामाध्यमको आफ्नै महत्व हुने बताउँदै पोर्तेलले दस्तावेज सुरक्षित गर्न छापामाध्यम उपयोगी हुने बताएका छन् ।
इजलासले आफ्नो छैटौं वार्षिकोत्सवको अवसरमा वर्ष उत्कृष्ट कर्मचारीको रुपमा कम्प्युटर अपरेटर छेत्रलाल राजवंशी र उत्कृष्ट विज्ञापनदाताको रुपमा स्पार्क पूर्वाञ्चल अस्पताललाई सम्मान गरेको छ ।

टाइम्स मिडिया नेटवर्कका अध्यक्ष नारायणप्रसाद पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा सम्पादक प्रदीप परियारले स्वागत गरेका थिए । झापाको बिर्तामोडमा केन्द्रीय कार्यालय रहेको इजलास २०७४ बाट प्रकाशित हुदै आएको छ । भ्रष्टाचार विरुद्ध सशक्त आवाज उठाउर्दै आएको इजलासले कोरोना महामारीको समस्याका बिच प्रकाशनलाई निरन्तरता दिदैं आएको छ ।

प्रकाशित मिति : बैशाख ३, २०७९ शनिबार  ८ : २४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]