गठबन्धनको भारी बोक्दा लज्जाबोध भइरहेको छ : कांग्रेस नेता राम कट्टेल
बिर्तामोड । नेपाली कांग्रेस झापाका नेता राम कट्टेलले गठबन्धनको भारी बोक्दा गाह्रो मात्र नभई लज्जा बोध भइरहेको बताएका छन् । उनले सामाजिक सञ्जालमा शहिदको शालिक राख्दै यस्तो लेखेका हुन् ।
माओवादीबाट मारिएका शहिदहरुको शालिक अघि गठबन्धनको भारी बोकेर उभिन आफुहरुलाई लज्जाबोध भइरहेको उनको भनाई छ । कट्टेलले लेखेका छन्, – हिजो नेपाली काँग्रेस झापाले नेपाली काँग्रेस भए बापत माओबादीबाट मारिएका सहीदहरू याम आचार्य, श्याम सुन्दर यादव, चन्द्र मणी भट्टराईको सालिकहरू निर्माण गर्यौ, गठबन्धनको भारी बोकेर आज तिनै सालिकहरू अघि उभिन हामीहरूलाई गाह्रो मात्र होईन लज्जा बोध भईरहेको छ । सालिकहरू अलिक हतार गरेर बनाइए छ कि हामी झापाली काँग्रेस सोच्न बाध्य छौ ।
झापा कांग्रेसमा शालिन नेताका रुपमा स्थापित कट्टेल पार्टीको जिल्ला अधिवेशनमा पराजित सभापति हुन् । कांग्रेसले माओवादीसँग गठबन्धन गरेको विषयमा उनले दिएको प्रतिक्रिया अर्थपूर्ण रुपमाले हेरिएको छ ।
