गोल्धापका गंगाबहादुरले पाउने भए बिएण्डसीमा निशुल्क उपचार
बिर्तामोड । साङ्लाले बाँधेर राखिएका युवाको उद्धार गरेको भोलीपल्ट विएण्डसीले अर्का एक विरामीलाई निशुल्क उपचारको घोषणा गरेको छ ।
हल्विारी १ का वडाध्यक्ष त्रिलोचन सापकोटाको पहलमा उद्धार गरेर मंगलवार विएण्डसी ल्याइएका विरामीलाई अस्पताल सञ्चालक दुर्गा प्रसाईले निशुल्क उपचारको घोषणा गरेका हुन् ।

झापा हल्दिवारी–१ गोल्धाप निवासी ४० वर्षीय गंगा बहादुर विशुंखे सार्कीलाई वडाध्यक्ष त्रिलोचनको नेतृत्वमा उद्धार गरेर अस्पताल ल्याइएको थियो । लामो समयदेखि उपचार अभावले घरमै बसिरहेका सार्की पेट फुलिने समस्यामा पीडित छन् । उनलाई वडाध्यक्ष सापकोटाले अस्पताल ल्याएर उपचारका लागि प्रसाईलाई आग्रह गरेका थिए । अस्पताल सञ्चालक प्रसाईले विरामीको आर्थिक अवस्था हेरेर निशुल्क उपचारको व्यवस्था मिलाइदिने घोषणा गरेका हुन् ।
जण्डिस लागेर मेची अस्पतालमा उपचारका लागि गएका सार्की परिवार निको नभएपछि घर फर्केका थिए । उनीहरुको अवस्था देखेर वडाध्यक्ष सापकोटाले एम्बुलेन्स भाडा समेत आफै तिरेर अस्पताल ल्याएका छन् । विरामी गंगाबहादुरको उपचार शुरु भइसकेको छ, अस्पतालका सूचना अधिकारी प्रमिश गिरीले भने – उहाँको सम्पूर्ण उपचार निशुल्क गरिदिन्छौं ।

ज्याला मजदुरी गरेर जीवीकोपार्जन गरिरहेका सार्कीको पेट डरलाग्दो तरिकाले फुलिएको छ । उनको पेट फुलिएर हरियो नसा नै देखिन थालेको छ ।