बिर्तामोड सेरोफेरो : कृषि र पुशमा उल्लेख्य प्रगती
बिर्तामोड सेरोफेरो
बिर्तामोड । नेपाल कृषि प्रदान देश भएकाले यहाँका बहुसंख्यक नागरिक कृषि पेशामा संलग्न छन् । त्यसैले देश विकासका लागि कृषि क्षेत्रको विकास अपरिहार्य छ । कृषि विकास विना देशको विकास संभव छैन । यसै तथ्यलाई ध्यानमा राखेर झापाको बिर्तामोड नगरपालिकाले कृषि विकासका विभिन्न योजना अगाडि सारेर कार्यन्वयनमा जोड दिएको पाइन्छ ।
देशमा संघीय शासन व्यवस्था कार्यन्वयनको शुरुवाती चरणमा विभिन्न चुनौतिका बीच कृषि विकासका असल नीति तथा कार्यक्रम निर्माण गरी पहिलो वर्षदेखि कार्यन्वयन गरेको कृषि शाखा प्रमुख राजेन्द्र कडरिया बताउँछन् । कृषकहरुको हित र उन्नतिका लागि समूहमार्फत सरकारी सेवा सुविधा प्रवाह गर्न सहज हुने भएकोले सर्वप्रथम हरेक वडामा कृषक समूह गठनसँगै कार्यक्रम अगाडि बढाइएको र हालसम्म २१७ वटा कृषक समूह गठन गरी सकिएको उनले बताए ।

त्यस्तै बजारमा पाइने तरकारी बालीमा विषादीको प्रयोग र प्रभाव अत्याधिक बढेको र खान अयोग्य तरकारी किनेर खानुपर्ने बाध्यात्यमक अवस्था सिर्जना भइरहेकोले विर्तामोडबासीलाई विषादिमुक्त तुल्याउने उद्देश्यले मेयर विषादी कार्यक्रम अगाडि बढाइएको र यसमा अत्यन्त महत्वका साथ नगरप्रमुख ध्रुवकुमार शिवाकोटी लागिपरेका छन् ।
विषादीको भयबाट बिर्तामोडबासी जनतालाई मुक्त राख्न आफूहरु सफल भएको समेत नगरप्रमुख शिवाकोटी बताउँछन् । अन्य कृषि विकासका कार्यक्रममा नगरपालिकाले प्राथमिकताका साथ कृषि शाखा तथा पशुपक्षी शाखा मार्फत राम्रा र हितकारी कामहरु गरेको उनको भनाइ छ ।

आफू स्वयम् १२ वर्षदेखि व्यवसायिक तरकारी खेतीमा संलग्न रहेको बताउने कृषि शाखा प्रमुख कडरियाका अनुसार विषादीको मात्रा ३५ भन्दा वढी भएमा खान अयोग्य हुन्छ । त्यसभन्दा बढी मात्रा भएको तरकारी बजारमा किनबेच भइरहेकोले बिर्तामोडमा मेयर विषादीमुक्त कार्यक्रमको कार्यान्वयनसँगै हाल बिर्तामोडमा सो मात्रा २ दखि ५ सम्म झारिएको छ । जसलाई सून्यमा झार्ने लक्ष्य छ ।
उनले तत्काल अर्गानिक उत्पादन नभई उपभोक्ताको स्वास्थ्य नबिगार्ने तरकारी तथा अन्यबाली उत्पादन र माटो नबिग्रने गरि रासायनिक मलको प्रयोग र प्रविधिमा जोड दिनु यस कार्यक्रमको लक्ष्य रहेको उनको भनाई छ । यसका लागि हरेक वर्ष विशेष गरी तरकारी खेतीमा आबद्ध तथा इच्छुक कृषकहरुलाई प्रोत्साहित गर्न तालिमसहित आवश्यक सामग्री वितरण गर्दै आएको छ ।
कृषि विज्ञ तथा यसक्षेत्रका अनुभवी प्रशिक्षक समेत रहेका शाखा प्रमुख कडरियाले यस वर्षको मेयर विषादिमुक्त कार्यक्रम अन्तरगत व्यवसायिक तरकारी उत्पादन तालिम हालै सम्पन्न गरिसकेका छन् । उनी भन्छन् –यतिखेर बिर्तामोडमा विभिन्न समूहमा आबद्ध भई १०७ जना कृषक व्यवसायिक तरकारी खेतीमा संलग्न भइसकेका र केही थपिने क्रममा रहेका छन् । उनीहरुले ४–५ कट्ठादेखि ६ विगाहसम्म व्यवसायिक तरकारी खेती गर्दै आएका छन् । हालै सम्पन्न व्यवसायिक तरकारी उत्पादन तालिममा सहभागी बिर्तामोड –९ कि धनमाया बस्नेतले विषादीको प्रयोगबाट आफ्नो र अरुको स्वास्थ्यमा समेत गम्भीर असर पर्ने डरले इच्छा हुँदाहुदै पनि हतोत्साही भएकोमा नगर विषादी मुक्त कार्यक्रम र तालिमले विषादीको असरबाट बच्ने उपायसहित तरकारी खेती गर्ने प्रविधि सिकाएकाले अझ उत्साह र आत्मविश्वास वृद्धि भएको बताइन् । आफूलाई प्राप्त ज्ञान, सीप र सामग्रीको सदूपयोग गर्न लागिपर्ने उनको भनाइ छ ।
यस्तै कृषकद्वारा उत्पादित तरकारीले बजार नपाउने भएको भन्दै धेरै कृषकहरुको गुनासो रहेको र कति कृषक व्यवसायिक तरकारी खेतीबाट पलायन भएको वास्तविकतालाई ध्यानमा राखेर बिर्तामोड नगरपालिकाले यसतर्फ अग्रसरता देखाएको पाइन्छ । कृषि शाखा प्रमुख राजेन्द्र कडरियाका अनुसार किसानका तरकारीको न्यूनतम समर्थन मूल्य तोक्ने, बिर्तामोडमा ५ वटा शाखा संकलन केन्द्र र एउटा नगरस्तरिय समितिसहित मुख्य संकलन केन्द्र स्थापना गर्ने कार्य आगामी आर्थिक वर्षदेखि शुरु गरिनेछ ।
यसरी तरकारी उत्पादक कृषकका सम्पूर्ण उत्पादन खरिद गरिनेछ । उत्पादनको बजारिकरण व्यवस्थित भएपछि उत्पादनमा डर नहुने बिर्तामोड–१० मा व्यवसायिक तरकारी खेती गर्दै आएका कृषक अर्जुन राईले बताए । मेहनत, लगानी र समय खर्चेर आफूले गरेको उत्पादन बिक्री नहुँदा किसानहरुमा निकै ठूलो पीडा हुने उनको भनाइ छ । बिक्री केन्द्र स्थापना हुने भएसँगै यसबाट कृषहरुमा उत्साह बढेको पाइन्छ ।
बिर्तामोडका अधिकांश किसानको उत्पादनमा विषादिको अवशेष ५ भन्दा कम रहेको र सबै सेवासुविधा प्रदान गर्न नसकिए पनि कम्तीमा गुणस्तरीय बीऊ र विषादीको वितरण र प्राविधिक जानकारीले किसानलाई उत्प्रेरित गर्न सकिने भएकोले यसतर्फ जोड गरिएको शाखा अधिकृत कडरिया बताउँछन् ।
बिर्तामोड नगरपालिकामा कृषि शाखाले सञ्चालन गरेको मेयर पकेट कार्यक्रम निकै लोकप्रिय बनेको पाइएको छ । जसमा एक बाली एक समूह कार्यक्रमका रुपमा स्थान र कृषकको चाहना अनुरुप विभिन्न बालीका बीउ तथा विषादी अनुदान वितरण गरेको छ भने लक्ष्यअनुसार किसानहरुमा उत्साह बढेको पाइएको छ । जसमा आलु, राजमा, तोरी, कछुलगायत बालीमा यस्तो कार्यक्रम सञ्चालन गरेको कृषि शाखाले जनाएको छ । बिर्तामोड –९ स्थित कोलाटोली कृषक समूहका सदस्य रमेश कार्की सधैं आलु तरकारीका लागि बर्सेनि बजारबाट किनेर खाने गर्थें ।
समूहले यस कार्यक्रममा सहभागी बन्न निवदेन दिएपछि छनौटमा पर्यो र आलुको बीऊ समूह मार्फत उनलाई प्राप्त भयो । बीउ पाएपछि आलु रोपे । किसान भएकाले खेती गर्न गाह्रो भएन । कम्पोष्ट मल घरैमा भएपछि सहज भयो । सिंचाइको प्रबन्ध मिलाए । उनले भने–आलु मनग्गे फल्यो । आफूलाई खान भण्डारण गरेर केही बिक्री समेत गरें । उनले भने अब बर्सेनि रोप्छु । नगरले बीउ दिएको कारण यस्तो भयो । यस्तै समूहका अन्य सदस्यले यति ठूलो र यति धेरै आलु आफ्नो बारीमा कहिल्यै फल्ला जस्तो नलागेको बताए । यसमा ८० प्रतिशत अनुदानमा आलुको बीउ कृषकहरुलाई वितरण गरिएको थियो ।
कृषि विकासतर्फ बिर्तामोड नगरपालिकाले पाँच वर्षमा गरेका काम तथा प्रगतिबारे विवरण हालै सार्वजनिक गरेको छ । जसमा उल्लेख भएअनुसार संघीय शासन व्यवस्था लागू भएको पहिलो पाँच वर्ष वा जनप्रतिनिधिहरुको पहिलो एक कार्यकालमा विभिन्न वडामा ५३७ वटा मोटर बोरिङ जडान गरि करीब २ हजार बिगाह जग्गामा सिंचाइको व्यवस्था गरिएको छ ।
यो वर्ष १५० वटा मोटर जडान गरि थप ४५० विगाह सिंचाइको व्यवस्था गरिने उल्लेख छ । कृषकहरुलाई विभिन्न उपकरण औजार हस्तान्तरण गर्ने कार्यक्रम अन्तरगत ८ वटा पावर टेलर, ९० वटा मकै छडाउने मेसिन,१७ वटा धान काट्ने मेसिन, ८ वटा चिया टिप्ने मेसिन, ९ वटा मिनी टेलर हस्तान्तरण गरिएको छ । त्यस्तै मेयर विषादीमुक्त कार्यक्रम अन्तरगत १३८ वटा कृषक समूहहरुलाई प्लाष्टिक, ग्रिनेट स्प्रे ट्याङ्की, मलचिङ चता २५ टन कृषि चुन वितरण गरिएको छ । यसैगरी १ लाख ३८ हजार विभिन्न फलफूलको बिरुवा वितरण गरिएको छ ।
मेयर पकेट कार्यक्रम अन्तरगत ९० विगाह जग्गामा आलु खेती, १०० विगाह जग्गामा सूर्यमुखी, ६० विगाहमा राजमा, ३००विगाह जग्गामा तोरी खेती, ६० विगाहमा फापर खेती गर्न,२० विगाहमा कछु खेती कृषकहरुलाई बिउविजन तथा विभिन्न कृषिजन्य औषधी उपलब्ध गराएको छ । ११ वटा माछापोखरी निर्माणका लागि अनुदान दिइएको तथा माछा भुरा उत्पादनका लागि एकजना कृषकलाई अनुदान दिइएको छ ।
यस्तै, कृषि शाखाले व्यवसायिक कृषकहरुको लागि धान तथा तरकारीको लागि विषादी, मकैको बीऊ, कौसी खेतीको लागि तालिमलगायत नगरस्तरीय विभिन्न कृषक समूहहरुलाई बीउबिजन समेत वितरण गर्दै आएको छ । नगरभित्रका मौरीपालक किसानहरुका लागि आवश्यक तालिम तथा ४२ वटा घारसहितको मौरी वितरण गरिएको उल्लेख छ । कृषिथोक उपज बजारमा ५० लाख रुपैयाँको लागतमा बजार केन्द्र भवन निर्माण गरिएको छ । वडा नं.७ मा दूध चिस्यान केन्द्र स्थापना गरिएको छ ।
यस्तै वडा नम्बर ७ मा २ वटा, वडा नं.८ मा १ वटा र वडा नं. ६ मा १ वटा डिप बोरिङ निर्माण गरिएको छ । चिया उत्पादन र धान उत्पादनका लागि एक–एक कृषक समूहलाई अनुदान उपलब्ध गराइएको छ । तरकारी उत्पादनका लागि २० जना साना किसानलाई अनुदान उपलब्ध गराइएको छ ।
नगरपालिका अन्तरगत कृषिथोक बजारमा रहेको ल्याबमा विषादी परिक्षण गर्दा ३५ भन्दा माथि विषादीको भ्यालु रहेकोमा मेयर विषादीमुक्त कार्यक्रम सञ्चालन गरे पश्चात् ५ प्रतिशतसम्म आएको अवस्था देखिएको छ । साथै उक्त प्रयोगशालालाई थप प्रभावकारी बनाउन आवश्यक स्रोत साधन तथा जनशक्ति उपलब्ध गराइएको छ । सार्वजनिक तथ्यांकअनुसार ६ करोड रुपैयाँको लागतमा देवनिया सिंचाइ आयोजना निर्माण भइरहेको र यस परियोजनाले २ सय विगाह जग्गा सिंचित हुनेछ ।
यसैगरी कृषि शाखा अन्तरगत पशुपंक्षी मत्य विकास तर्फ बिर्तामोड नगरपालिकामा धेरै राम्रा कामहरु भएको शाखा अधिकृत सावित्रा दाहालले बताइन् । यस अन्तर्गत ५ वर्षमा गरेका प्रगति सार्वजनिक गरेको छ ।
नगरपालिकाका विपन्न तथा साना किसानहरुको गाईगोठ सुधारका लागि अनुदान दिई ३०६ वटा गाईगोठ निर्माण, ४१८ वटा बाख्राको खोर निर्माण तथा ४९५ वटा बाख्रा, १४ वटा बोयर जातका बोका समेत वितरण गरियो । ७५ वटा लोकल कुखुराको खोर निर्माण तथा ७०० वटा कुखुराका चल्ला वितरण गरियो । च्यापकटर (घाँस काट्ने मेसिन) २८० जना कृषकलाई वितरण गरियो ।
नगरपालिकाको तर्फबाट विभिन्न स्थानमा ४० वटा फ्रेस हाउस निर्माण गरिएको छ । दुग्ध व्यवसाय गर्ने २२ जना किसानहरुलाई मिल्क क्यान वितरण गरियो । पशुपक्षी तथा मत्स्य विकास शाखाले ५ पटकमा १ हजार २ सय सामूदायिक कुकुरको बन्ध्याकरण गरेको छ । गाईभैसीमा नश्लसुधार कार्यक्रम, हिउदे तथा बर्खे घाँसको बीउ वितरण, बोका,गोरु,राँगा र बंगुर बन्ध्याकरण सेवा सञ्चालन, महामारीजन्य रोगहरुको खोप, सबै किसिमका रोगहरुको शिविरमार्फत उपचार, गाई भैंसी र बाख्रामा पशु बीमा कार्यक्रम,डाले घाँस वितरण कार्यक्रम, सबै वडाका कृषकहरुलाई पशु तथा कृषि बीमा तालिम, पशुहरुलाई खोरेत, स्वाइन फिबर, चरचर भ्यागुते,मिनिकिट वितरणलगायत महत्वपूर्ण कामहरु पनि सम्पन्न गरेको छ ।
वडा नम्बर ४ मा कार्यलय भवन निर्माण सम्पन्न गरि पशुपक्षी तथा मत्स्य विकास शाखा आफ्नै भवनमा सारिएको छ । पशु आहार व्यवस्थापनका लागि साइलेस मेसिन ठूलो र मिनि साइलेस मेसिन वितरण गरिएको छ । रेविज उन्मूलनका लागि विभिन्न कार्यक्रम सम्पन्न गरिएको कुकुर तथा विरालोको लागि ३६५ दिन नै निशुल्क खोप वितरण गरियो । यस शाखाले बजार प्रबद्र्धन अन्तरगत बंगुर पकेट कार्यक्रम सञ्चालन, साना किसानहरुका लागि मत्स्य पालन पकेट कार्यक्रम सञ्चालन गरेको छ । स्वस्थ दूध उत्पादनका लागि थुनिलो रोग निवारण कार्यक्रम, बाँझोपन निवारण कार्यक्रम, कृत्रिम गर्भाधान कार्यक्रम सम्पन्न गरेको छ । संघीय सरकारको अनुदानमा बिर्तामोडमा मीट मार्टको स्थापना गरिएको छ ।
माथि उल्लेखित असल नीति कार्यक्रमहरुलाई आगमी वर्षहरुमा पनि बिर्तामोड नगरपालिकाले कृषिक्षेत्रमा अझ लगानी वृद्धि गरि प्राथमिकताका साथ निरन्तरता दिनसके उद्देश्यअनुसार चाँडै प्रतिफल प्राप्त गर्न सकिने विश्वास गर्न सकिन्छ । प्रस्तुति– रत्न बस्नेत