आजदेखि मतदाता नामावली संकलन तथा अद्यावधिक
बिर्तामोड । निर्वाचन आयोगले मतदाता नामावली संकलन तथा अद्यावधिक कार्य आज असार १ गतेदेखि सञ्चालन गर्ने भएको छ ।
आगामी प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि लक्षित गरी आयोगले नामावली संकलन तथा अद्यावधिक कार्य अघि बढाउन लागेको हो । आयोगले कुनै पेशा, व्यवसाय वा अन्य कुनै कारणले एक जिल्लामा बसोबास गरिरहेका नागरिकले उसको स्थायी ठेगानामा रहने गरी हाल अस्थायी बसोबास गरिरहेको जिल्लाबाट दर्ता गर्न सक्ने व्यवस्था गरेको हो ।
यस्तै मतदाताले मतदाता नामावलीमा रहेको आफ्नो नाम, ठेगाना, जन्ममिति लगायतका विवरण सच्याउनलाई प्रमाणसहित निवेदन दिनु पर्ने आयोगले जनाएको छ । आयोगका अनुसार मतदाताले झुटो विवरण दिई मतदाता नामावलीमा नाम समावेश गरेमा कुनै पनि व्यक्तिले प्रमाणसहित उजुरी दिएमा नाम दर्ता अधिकारीले छानबिन गरी उक्त नाम हटाउन सक्नेछन् ।