ओलीको पालामा एसपीपी सम्झौता भएको प्रमाणित गर्न चुनौती दिन्छु : पोखरेल
काठमाडौं । एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले ओली सरकारको पालामा अमेरिकी ‘स्टेट पार्टनरसिप प्रोग्राम’ एसपीपी सम्झौता नभएको बताउनुभएको छ ।
बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा पोखरेलले ओली सरकारको पालामा एसपीपी भएको भन्ने सत्तारुढ दलका नेताको अभिव्यक्ति भ्रामक रहेको भन्दै आपत्ति जनाउनुभयो ।
ओली सरकारको पालामा एसपीपी भएको भन्ने सत्तारुढ दलका नेताको अभिव्यक्ति एमालेविरुद्ध रचिएको षड्यन्त्रको रुपमा रहेको भन्दै उहाँले यसलाई पुष्टि गर्न चेतावनी दिनुभयो। पुष्टि गर्न नसक्ने हो भने आफ्नो अभिव्यक्तिप्रति माफी माग्नुपर्ने पोखरेलको माग छ ।
सन् २०१५ र २०१७ मा प्रस्तावमा आउन सुशील कोइराला र शेरबहादुर देउवा प्रधानमन्त्री रहेको भन्दै उहाँले केपी ओली नेतृत्वको सरकारको पालामा आफू रक्षामन्त्री रहेकाले यस्तो कुनै सम्झौता नभएको दाबी गर्नुभयो । असंलग्न परराष्ट्र नीतिविपरीत हुने कार्यलाई एमालेले रोक्ने भन्दै आफू रक्षामन्त्री हुँदा नेपाल कुनै पनि सैन्य कार्यक्रममा सहभागी नहुने अमेरिकालाई बताएको पोखरेलले बताउनुभयो ।