जेष्ठ ५, २०८२ आईतबार

बिर्तामोडमा वाणिज्य संघको आवरणमा गुण्डागर्दी

बिर्तामोड । बिर्तामोड नगरपालिकामा सोमवार विहान चलिरहेको सर्वदलीय बैठक एक जना व्यक्तिका कारण एकाएक भाँडिएको छ । सर्वदलीय बैठक भाँड्ने पात्र थिए, बिर्तामोड उधोग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष राजु न्यौपाने ।

उनको नेतृत्वमा चलिरहेको आन्दोलनका बारेमा छलफल गर्न बसेको सर्वदलीय बैठकमा उनले मेयर पवित्रा देवी महतारा प्रसाईलाई दुव्र्यवहार गरे । सँगै रहेका एमालेका बिर्तामोड नगर अध्यक्ष सुवास भट्टराईमाथि हातपातको प्रयास भयो । लामो छलफलबाट निष्कर्ष निकाल्ने प्रयास भइरहेको बेला भट्टराईमाथि अकास्मात उठेर हातपातको प्रयास भएको हो ।

मेयर प्रसाईले आफ्नो भनाई शुरु गर्न थालेपछि अराजकशैलीमा न्यौपाने उठे । उनलाई एमाले अध्यक्ष भट्टराईले मेयर बोलिरहेको भन्दै उनलाई बस्न आग्रह गर्दा न्यौपाने भट्टराईतिरै जाइलागे । नजिकै रहेका अन्य व्यक्ति र बिर्तामोडका डिएसपी रुगम बहादुर कुवरले बचाए । सौहार्दपूर्ण बैठक चलिरहेको बेला न्यौपानेका कारण सर्वदलीय बैठक भाँडियो । उनलाई प्रहरीले बाहिर निकालेपछि पनि हुलदुंगा गरे । न्यौपानेले नगरपालिकालको विजुलीको मिटर झारे र तोडफोडको प्रयास पनि गरे ।

न्यौपानेले यहि आन्दोलनका क्रममा धम्कीपूर्ण भाषा प्रयोग गर्दै आएका छन् । कालोमसो दल्नेदेखि प्रमुख प्रशासकीय अधिकृतको कोठासम्म देखिसकेको बताइसकेका छन् । उनले नगर परिसरमा बोल्ने क्रममा प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपानेलाई धम्की दिदैं डेरासमेत व्यवसायीले देखि सकेको भन्दै आक्रमण हुन सक्ने संकेत गरे । उनको अभिव्यक्तिले संघको आवरणमा गुण्डागर्दी शुरु गरेको स्पष्ट भएको छ ।

के हो आन्दोलन ?
बिर्तामोड उधोग वाणिज्य संघभित्रका केहि व्यक्तिले कृषिथोक बजार उत्तरमा रहेको बुधबारे हटियाका व्यापारीलाई विधुत मिटर जडानको माग गर्दै आन्दोलन गरिरहेका छन् । अस्तव्यस्त रुपमा चलिरहेको बुधबारे हटियाका केहि व्यापारीलाई साथमा लिएर न्यौपानेले मिटर जडानको माग गर्दै आएका छन् । व्यापारीको सुरक्षा र व्यापारिक प्रवद्र्धनमा काम गर्न नसकिरहेको वाणिज्य संघका उपाध्यक्षले नेतृत्व गरिरहेको आदोलनमा अनेकौ शंका उब्जिएको छ । बुधबारे हटियामा व्यापार गरिरहेका व्यापारीको वैधतामाथि नगरले प्रश्न उठाइरहेको बेला जवरजस्त मिटर जडान गर्न लगाउनु झनै रहस्यमय बनेको छ । संघको आगामी चुनावमा अध्यक्ष पदका उम्मेद्वारका रुपमा अघि बढेका न्यौपानेले आफ्नो पक्षमा माहोल बनाउन फण्डा झिकेको व्यापारी वृत्तमा चर्चा छ ।

बिर्तामोड नगरपालिकासँग सम्झौता नगरेका व्यक्तिले बुधबारे हटियाको जग्गा कब्जाका लागि प्रयास गरिरहेका छन् । अनधिकृत व्यवसायीको संख्या बढ्दै गएको छ । हरेक महिना बजारभित्र अतिक्रमण बढेपछि त्यसको व्यवस्थापनमा जुटेको नगरपालिका तत्कालै मिटर जडान गर्ने पक्षमा छैन । जग्गादाता र तत्कालिन जनप्रतिनिधिहरुको समेत सूझाव संकलन भइरहेको छ । नगरले थप छलफल गर्ने बताइरहेको बेला आन्दोलनरत पक्षको नेतृत्वबाटै मेयरमाथि दुव्र्यवहार भएपछि विवाद समाधानतिर भन्दा समस्यातिर अघि बढ्ने निश्चित भएको छ ।

बिर्तामोड नगरपालिकाले ७० वटा स्टल निर्माण गरेर भाडा लगाएको छ । अहिले बुधबारेमा १५० भन्दा बढि टहरा आफुखुशी निर्माण भएको पाइन्छ । नगरको इजाजत बिना टहरा निर्माण गरेका कारण उनीहरुलाई नगरले दिने सुविधा अनिवार्य नगर्ने तयारी गरेको छ । तत्कालिन अनारमनीका अध्यक्ष हर्कलाल गिरीले हप्तामा एकदिन मात्रै बजार राख्न दिइएको ठाउँमा मनपरी गरिएको बताएका छन् । उनले बैठकमा व्यापारीका नाममा मिटर जडान गर्न नसकिने बताए । उनले विगतलाई स्मरण गर्दै भने, यो बुधबारे हटिया जुन उद्देश्यले शुरु गरिएको हो । अहिले त्यो उद्देश्य अनुरुप चलिरहेको छैन । उद्देश्य विपरित बजार सञ्चालन भएको हुँदा जग्गादाताले जमिन फिर्ताको मागिरहेका छन् ।

मेयरको कुरा
बुधबारे हटिया नगर गौरवको आयोजनाका रुपमा अघि बढाउने तयारी छ । बजारमा आफुखुशी संरचनाहरु निर्माण गरेका कारण बजार अस्तव्यस्त छ । जग्गादाता र जग्गा उपलब्ध गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्नेहरुको सूझाव पनि लिन जरुरी छ । नीति र विधि बमोजिम बजारमा बसेका व्यापारीको सन्दर्भमा नगरपालिकाले सोच्नैपर्छ । तर, कोहि अतिक्रमण गरेर बसेको छ भने उनीहरुलाई पनि प्रक्रियामा ल्याउन खाँचो छ । बजार भत्काएर नयाँ बनाउने योजना छ । अहिले अन्य संरचना थप्नुको अर्थ छैन । बजारलाई व्यवस्थापन गर्ने कुरा, नगरवासी र यहाँको व्यापारीको समस्या सम्बोधन गर्ने कुरामा सचेत रहेको उनको भनाई थियो । जबरजस्तीले केहि हुदैन, नगरको सम्पति र स्थानीय नागरिकको संरक्षण गर्न प्रतिबद्ध छौं ।

नयाँ संरचना बनाउने योजना

बिर्तामोड नगरपालिकाको २०७७ मंसिर २८ गते बसेको कार्यपालिका बैठकले अव्यवस्थित रुपमा सञ्चालन भइरहेको बुधबारे हटियाभित्रको अस्थायी संरचना हटाएर बजार व्यवस्थापन गर्न आवश्यक प्रक्रिया अगाडि बढाउने निर्णय गरेको थियो । जिल्लाकै ठुलो कृषि बजार रहेको बिर्तामोडमा बुधबारे हटियाले बद्नाम नै गराइरहेको छ । जथाभावी मासु काट्ने, फोहोर गर्ने, आफु खुशी संरचना निर्माण गर्नाले बजारको स्वरुप नै अस्तव्यस्त भएको छ ।

बिर्तामोड नगरपालिकाको हालै सम्पन्न आवधिक योजना निर्माण गर्ने गोष्ठीमा समेत सो बजारको चर्चा भएको थियो । गोष्ठीले विर्तामोड नगरपालिकाको नाममा रहेको बुधबारे हटियालाई बहुतले पार्किङ्ग सहितको अत्याधुनिक सपिङ्ग मल (कम्प्लेस) निर्माण गर्ने योजनामा राखेको छ । बिर्तामोड नगरपालिकाले बुधबारे हटियामा निर्माण गरिने योजनालाई नगर गौरवको आयोजनाका रुपमा समावेश गरेको छ ।

बजारको इतिहास
कृषि उपज बजारका नाममा एक बिगाह तीन कठ्ठा जमिन छ । २०२९ सालमा बिर्तामोड बजार (साविक अनारमनी गा.वि.स.) का हर्कलाल गिरी, लक्ष्मीप्रसाद निरौला र गोपाल बस्नेत तीन जनाले रामबाबु प्रसाईँसँग बजार राख्नका लागि उक्त जग्गा मागेका थिए । प्रसाईँले बुधबार लाग्ने हाटका लागि १० कठ्ठा जमिन दान दिएका थिए ।

त्यसबेला प्रसाईँ पञ्चायतले प्रतिवन्ध लगाएको नेपाली कांग्रेसका प्रतिवद्ध नेता भएकाले भारतमा निर्वासित जीवन बिताइरहेका थिए । निर्वासनमा रहेको व्यक्तिले जमिन दान दिएर बजार स्थापना गरेको सुईँको पाएपछि तत्कालिन प्रशासनले आफूलाई पटक–पटक बोलाएर बयान लिएको र बजार नलगाउन निर्देशन दिएको जग्गा माग्ने मध्येका एक हर्कलाल गिरी बताउँछन् । तर, प्रशासनले रोक भन्दैमा सुरु भएको बजार रोकिएन । सर्वसाधारणले बुधबारका दिन स्वतस्फुर्त हाट राखेको गिरी सम्झन्छन् ।

२०४० सालमा गिरी स्वयं प्रधानपञ्च निर्वाचित भए । यसपछि बजारलाई व्यवस्थित बनाउन अरु १३ कठ्ठा जमिन थपेर प्रसाईँले एक बिगाह तीन कठ्ठा जमिन बुधबारे बजार, देवी हाट एवं कृषि सेवा केन्द्रका नाममा दिए । प्रसाईले जग्गा दिनुको उद्देश्य थियो, स्थानीयस्तरमा उत्पादन भएका कृषिजन्य वस्तुहरुको बजारीकरणलाई प्रवद्र्धन गर्ने । कृषि बजारलाई आधुनिक र व्यवस्थित बनाउने । कृषि तथा तरकारीको आपूर्ती सहज बनाउने ।

प्रसाईँले एक बिगाह तीन कठ्ठा जग्गा दान दिएपछि त्यहाँ टिनको छाना लगाएर ६२ वटा कोठा बनाएको गिरी बताउँछन् । उनका अनुसार दिउँसो बजार लाग्ने, राती भने कसैले पनि त्यहाँ व्यवसाय सञ्चालन गर्ने गरी बस्न नपाउने, खुलै छाड्नु पर्ने नियम बनाइएको थियो, त्यसबेला । उनका अनुसार त्यो नियमलाई सबैले स्वीकार गरेका थिए ।
तर, यसबेला त्यहाँको जग्गा अतिक्रमणमा परेको छ । कपडादेखि मासु पसलसम्मका विभिन्न व्यवसायीहरुले तीव्र रुपमा जग्गाको अतिक्रमण गरिरहेका छन् ।

वाणिज्य संघभित्रै असहमति
आफुखुशी शुरु गरिएको आन्दोलनमा वाणिज्य संघकै जिम्मेवार व्यक्तिहरुको संलग्नता देखिएको छैन । संघका पदाधिकारी र धेरै सदस्यहरु नै वाणिज्य संघको आन्दोलनमा सरिक छैनन् ।

संघका महासचिव अर्जुन मैनाली व्यापारीको पक्षमा काम गर्दा सार्वजनिक जग्गाको पनि सुरक्षा अनिवार्य हुनुपर्ने बताउँछन् । बजार व्यवस्थापनमा सबैको सहयोग हुनुपर्ने भन्दै मैनालीले भने – दाताले दिएको जग्गालाई अतिक्रमणबाट जोगाउने, कृषि बजारलाई व्यवस्थित बनाई दीर्घकालिन आयको स्रोत बनाउन सबैको भूमिका हुन्छ ।

बिर्तामोड उद्योग वाणिज्य संघका महासचिव मैनालीका अनुसार सार्वजनिक जग्गालाई अतिक्रमणकारीबाट मुक्त गर्नैपर्ने पर्छ । ‘त्यहाँ उद्योग वाणिज्य संघको आवरणमा राजनीति भइरहेको छ’, मैनाली भन्छन्, ‘सरकारको सम्पतिलाई संस्थाका नाममा होस् वा व्यक्ति–कसैले पनि अतिक्रमण गर्नु हुदैन । बिर्तामोड नगरपालिकाले अतिक्रमणकारीलाई हटाएर बजारलाई व्यवस्थित बनाउनु पर्छ ।’ व्यवस्थित भएपछि पनि बजारमा व्यापारी नै राख्ने हो ।

प्रकाशित मिति : असार ७, २०७९ मंगलबार  ७ : ०३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]