एमाले अध्यक्ष ओली र दुबईका राजकुमार शेख माक्तुमबीच भेटघाट
काठमाडौ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग दुबईका राजकुमार शेख मोहम्मद माक्तुम जुमा ला माक्तुमले आज भेटघाट गर्नुभएको छ ।
माक्तुम आज ओली निवास बालकोटमा गएर अध्यक्ष ओलीलाई भेट्नु भएका करिब एक घण्टा भएको भेटमा युवराजले नेपालबाट गएका युवाहरुले युएईको विकासमा महत्वपूर्ण सहयोग गरेको बताउनुभयो । ‘नेपालीहरु धेरै लेवरियस छन् उनीहरुले यूएइको विकासका लागि गरेको योगदान हाम्रा लागि धेरै महत्वको छ’ अध्यक्ष ओलीसँग माक्तुमले भन्नुभयो ।
भेटमा सहभागी स्रोतका अनुसार माक्तुमले अध्यक्ष ओलीको व्यक्तिगत रुपमा पनि प्रशंसा गर्नुभएको थियो । ‘तपाईंको बारेमा मैले धेरै सुनेको छ । तपाई नेपालको भिजिनरी लिडर हो’ माक्तुमको भनाइ उधृत गर्दै स्रोतले भन्यो ।

अध्यक्ष ओलीले माक्तुमलाई नेपाल भ्रमण गरेकोमा एमाले र व्यक्तिगत तर्फबाट स्वागत गर्नुभएको थियो । उहाँले यूएई विकासमा फड्को मारेको देश भएकोले त्यहाँबाट नेपालले धेरै कुरा सिक्न सक्ने बताउनुभयो । अध्यक्ष ओलीले राष्ट्रपति विद्या भण्डारीले केही समय पहिले यूएईको भ्रमण गरेको पनि स्मरण गराउनुभयो ।
भेटमा एमालेका उपमहासचिव विष्णु रिमाल, एमाले केन्द्रीय सदस्य दुर्गा प्रसाईं यएईका कार्यवाहक राजदुत इब्राहिम अल मेहिरी लगायतको सहभागीता थियो । भेटका बिषयमा उपमहासचिव रिमालले यो बेलासँग भन्नुभयो ‘उहाँहरु बीच शिष्टाचार भेट भयो ।
एमाले केन्द्रीय सदस्य एवं पूर्वाञ्चल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईंको निमन्त्रणामा माक्तुम तीनदिन अघि नेपाल आउनुभएको हो । दुईदिन झापा बसेर हिजो पोखरा जानु भएको थियो । माक्तुम आजै स्वदेश फर्कने जनाइएको छ । ’