झापामा जिसस प्रमुखसहित सबैको सपथ
भद्रपुर । झापा जिल्ला समन्वय समितिका नवनिर्वाचित प्रमुख विश्व बरालले कुनै हालतमा बेइमानी नगर्ने र आफुलाई निर्वाचित गराउने पार्टी नेकपा एमालेको शिर निहुराउने कुनै काम नगर्ने शपथ लिएका छन् ।
पद तथा गोपनीयताको शपथग्रहणपछि जिसस सभाहलमा आयोजित कार्यक्रममा बोल्दै उनले आफु धेरै बोल्ने पक्षमा नरहेको र काम गरेर अघि बढ्ने बताए । ‘नेकपा एमालेको शिर निहुरिन दिनेछैन, कानून विपरीत कुनै काम गर्ने छुइन,’ उनले प्रतिबद्धता मन्तबयको क्रममा भने–‘मबाट कुनै बेइमानी हुनेछैन । नयाँ ढंगबाट काम गर्ने कोसिस गर्छु ।’
दमकका बराल नेकपा एमालेका पुरानामध्येका एक इमानी नेता हुन् । उनलाई झापा जिल्ला अदालतका मुख्य न्यायाधीश तथा मुख्य निर्वाचन अधिकृत गिरीराज गौतमले शपथ ग्रहण गराएका थिए । प्रमुख बरालले सोही कार्यक्रममा जिससकी नवनिर्वाचित उपप्रमुख शान्ता रोक्का क्षेत्री र सदस्यहरुलाई शपथग्रहण गराएका थिए ।
राष्ट्रिय सभाका पूर्व सदस्य हरिचरण शिवाकोटी प्रमुख अतिथि रहेको सो कार्यक्रममा संविधानसभा सदस्य तथा नेकपा एमाले झापाका अध्यक्ष दिपक कार्की, प्रदेशसभा सदस्य बसन्त बानियाँ, गौरादहका नगरप्रमुख छत्रपति सुबेदी, प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल, निवर्तमान जिसस प्रमुख सोमनाथ पोर्तेल, नेकपा एमाले प्रदेश सचिव चिन्तन पाठक लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्दै कार्यकाल सफलताको कामना गरेका थिए । झापा जिससमा प्रमुख, उपप्रमुख लगायत सबै सदस्य नेकपा एमालेबाट निर्वाचित भएका हुन् ।
झापा जिससको सदस्यहरुमा देबका बस्याल, तुलसा काफ्ले, जुनु महरा, सन्तोष सोरेन, जलाल अली, कपिल काफ्ले र रीता नेपाली निर्वाचित भएका छन् । जिल्ला समन्वय अधिकारी लालबहादुर श्रेष्ठले स्वागत र जिसस कर्मचारी सन्तोष श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा संविधानसभा सदस्य एवम् नेकपा एएमालेका जिल्ला उपाध्यक्ष प्रेम गिरी, कनकाई नगरप्रमुख राजेन्द्र पोखरेल, शिवसताक्षी नगरप्रमुख मेगाहाङ थोप्रा, गौरादहकी उपप्रमुख जलवर्ष राजबंशी, बिर्तामोडका उपप्रमुख नगेन्द्र संग्रौला, मेची अध्यचल अस्पतालका प्रमुख मेसु डा. टंक बाराकोटी, नेकपा एमालेका सचिव शिव ढुंगेल, नेकपा माओबादी झापाका प्रतिनिधि हेम भण्डारी लगायतको उपस्थिति रहेको थियो ।
सोही कार्यक्रममा झापा जिल्ला समन्वय समितिले संविधान दिवसका अवसरमा आयोजना गरेको विद्यालयस्तरीय निबन्ध प्रतियोगिताका बिजयीलाई पुरस्कृत गरेको थियो ।
प्रथम बिजेता मेचीनगरको बलभद्र माविकी स्नेहा ढकालले १५ हजार रुपैयाँ, दोस्रो पुरस्कार बिजेता मेचीनगरकै कविशिरोमणि माविकी शुष्मा तामाङले १० हजार रुपैयाँ र तेस्रो पुरस्कार बिजेता बिर्तामोडको देवी माविकी तनुजा निरौलाले ५ हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्राप्त गरेकी थिइन् ।