जेष्ठ ९, २०८२ बिहीबार

बिर्तामोडको फोहोर उठाउछौं, केहिदिन धैर्य गरौं : उपप्रमुख

बिर्तामोड । साउन लागेपछि बिर्तामोडमा नियमित रुपमा फोहोर उठ्न सकेको छैन । फोहोर नउठाउदाँ चोक, गल्लीहरु दर्गन्धित भएका छन् । फोहोर व्यवस्थापन गर्ने ठाउँ अभाव भएपछि ठेकेदार कम्पनी निराकार सरसफाई सेवा प्रालिले उठाएका फोहोर पनि ट्याक्टरमै राखिरहेको छ ।

फोहोर संकलन नहुँदा चोकचोकमा फोहोरको डंगुर लागेको छ । फोहोर व्यवस्थापन नभएपछि स्थानीयबासी पनि आक्रोसित भएका छन् । फोहोर फालिरहेको ठाउँमा सम्झौता सकिएपछि नगरले नियमित रुपमा फोहोर उठाउन नसकेको जनाएको छ ।
कार्यपालिकाले उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाको संयोजकत्वमा फोहोर व्यवस्थापनका लागि एउटा कार्यदल पनि बनाएको छ । सो कार्यदललाई बिर्तामोडको तत्काल देखिएको फोहोर व्यवस्थापनको समस्या समाधानका लागि काम गर्न म्याण्डेड दिएको छ । कार्यदललाई अस्थायी व्यवस्थापनका लागि ठाउँ खोज्न पनि कार्यपालिकाको म्याण्डेड छ । उपप्रमुख संग्रौला नेतृत्वको कार्यदल अहिले फोहोर उठाउन रोकिएको विषयलाई समाधान गर्न दौडधुप गरिरहेको छ । संग्रौलाका अनुसार अस्थायी रुपमा फोहोर व्यवस्थापन गर्नका लागि तीन वटा ठाउँ प्रस्तावित रुपमा हेरिएको छ । कार्यदलको अध्ययनले उपयुक्त ठानेमा फोहोर व्यवस्थापन गर्ने काम तत्कालै थालिनेछ । उनले भने – अहिले फोहोर उठाउन सकिएको छैन । केहि दिन धैर्य गर्नुहोस् । केहि दिनमै फोहोर व्यवस्थापनको काम हुनेछ ।

आज फोहोर व्यवस्थापनका लागि ठाउँ खोज्दै हिडेको अवस्थामा भेटिएका उपप्रमुख संग्रौलाले हाललाई घरभित्रबाट फोहोर बाहिर नफाल्न समेत आग्रह गरेका छन् । उनले ठाउँको व्यवस्थापन गर्ने काममा लागिरहेकोले फोहोरलाई केहि दिन घरमै व्यवस्थापन गरेर राख्न भनेका छन् ।

फोहोर उठाउन ठेक्का पाएको निराकारले फोहोर संकलन शुल्कका नाममा धेरै ठाउँबाट रकम उठाइसकेको छ । रकम तिरिसकेका परिवारले फोहोर व्यवस्थापन नगरेकोमा आक्रोस व्यक्त गर्दै आएका छन् । बिर्तामोडमा लामो समयदेखि फोहोर व्यवस्थापन हुन नसकेपछि सामाजिक सञ्जालमा समेत आलोचना भइरहेको छ ।

कार्यदलका संयोजक संग्रौलाले तीन महिनालाई अस्थायी व्यवस्थापन गर्ने योजनाका साथ काम भइरहेको जानकारी दिए । त्यसपछि बिर्तामोडको फोहोर कनकाई नविकरणीय उर्जाले लैजाने छ, उनले भने । बायोग्यास उत्पादनका लागि बिर्तामोडको फोहोर कनकाईस्थित सो प्लाण्टमा पठाइनेछ । प्याण्टमा त्यसकै लागि बिर्तामोड नगरपालिकाले समेत लागनी गरिसकेको छ । सो प्लाण्ट सञ्चालनमा आउन तीन महिना लाग्ने भएपछि त्यसअघिको फोहोर व्यवस्थापन गर्न कठिनाई भइरहेको बताइएको छ ।

बिर्तामोडले हालको समस्या समाधान गरेपछि बिर्तामोडमा उत्पादन हुने फोहोरलाई वर्गिकरण गरेर मात्रै व्यवस्थापन गर्ने जनाएको छ । उपप्रमुख संग्रौलाले वर्गिकरण नगरी राखिएको फोहोर नगरपालिकाले नउठाउने बताएका छन् । उनले भने, फोहोर व्यवस्थापनमा नागरिकको दायित्व पनि उत्तिकै छ । नगरवासीको सहयोगबाट बिर्तामोडलाई स्वच्छ, सुन्दर बिर्तामोड बनाइनेछ ।

प्रकाशित मिति : श्रावण १७, २०७९ मंगलबार  ७ : ३६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]