बिर्तामोडको फोहोर व्यवस्थापनमा फेरि अवरोध, कारवाही गर्न सिडिओलाई पत्र
बिर्तामोड । एक महिनापछि उठाउन थालिएको बिर्तामोडको फोहोर व्यवस्थापनमा फेरि अवरोध भएको छ । अवरोधका कारण शुक्रवारदेखि शुरु भएको व्यवस्थापन कार्य आइतवारदेखि रोकिएको छ । फोहोर बोकेर गएका ट्याक्टर फर्किएका फोहोर बोकेरै फर्किएका छन् ।
बिर्तामोड –८ मा फोहोर व्यवस्थापन गर्ने सहमतिपछि शुक्रवारदेखि फोहोर उठाउन थालिएको थियो । शुक्रवारदेखि १८ ट्याक्टर फोहोर व्यवस्थापन गरिसकेको नगरपालिकाले फेरि अवरोधको सामना गर्नुपरेको छ । फोहोर व्यवस्थापनका लागि सहमति अनुसार बिर्तामोड–८ बस्ने महेश सापकोटा र बिर्तामोड –१ बस्ने सुरेन्द्र नेपालको नाममा दर्ता रहेको बिर्तामोड–८ को जग्गामा व्यवस्थापन गर्ने सहमति भएको थियो ।

चार बुँदे सहमति गरेर फोहोर उठान शुरु गरेको बिर्तामोडका प्रवक्ता अग्नीप्रसाद पाण्डेले जानकारी दिए । उनका अनुसार सम्बन्धित जग्गाधनीको जग्गा नदि कटानबाट क्षति हुन नदिन तटबन्धन गर्ने, शिखर मार्गदेखि हर्चना खोलासम्म प्लम निर्माण गरिदिने, शिखर मार्गको बाटोमा सकडबत्ती व्यवस्था गरिदिने साथै हर्चना बरगाछीसम्म सडकबत्ती जडान गरिदिने, उक्त बत्तीको महशुल फोहोर मैला व्यवस्थापन गर्ने समयसम्म नगरपालिकाले तिरिदिने र त्यसपछि टोल विकासले तिर्ने, उक्त स्थानमा नगरले ३ महिना फोहोर मैला व्यवस्थापन गर्न पाउने सहमति गरिएको थियो ।
भदौ २ गते भएको सहमतिमा नगरप्रमुख पवित्रा महतारा, उपप्रमुख नगेन्द्र प्रसाद संग्रौला र प्रमुख प्रशासकीय अधिकृत विनोद कुमार न्यौपाने रोहवर बसेका थिए । सहमति पत्रमा बिर्तामोड– ८ का ताराप्रसाद सिटौला, लयप्रसाद सिटौला, टोल विकास संस्थाका अध्यक्ष नवराज खतिवडा, जग्गाधनी सुरेन्द्र नेपाल, वडा सदस्य अग्नी सिटौला, सोयाला राजवंशी, एमालेका विष्णु प्रसाल भट्टराई, नेपाली कांग्रेसका वडा सभापति उत्तम कटुवाल, विनोद कुमार श्रेष्ठ, संधियार मोहन सापकोटा, जीवन पौडेल, चिरन्जिवी कार्की, भीम भण्डारीले हस्ताक्षर गरेका थिए ।
फोहोर व्यवस्थापनमा अवरोध गर्नेहरु आसपासका भन्दा बाहिरका मानिस रहेको बताइएको छ । उनीहरु स्थानीय सरोकारका व्यक्ति समेत नरहेको नगरले जनाएको छ । फोहोर लिएर गएका ट्याक्टरहरुको चावी खोस्ने, बाटो छेक्ने जस्ता कार्यहरु भएको बिर्तामोड नगरपालिकाले जनाएको छ ।
यसैबीच नगरपालिकाले फोहोर व्यवस्थापनमा अवरोध गर्नेहरुको पहिचान गरेर कारवाहीका लागि जिल्ला प्रशासन कार्यालय झापालाई पत्राचार गरेको छ । आवश्यक कारवाहीका लागि प्रमुख प्रशासकीय अधिकृत विनोद कुमार न्यौपानेले प्रमुख जिल्ला अधिकारीलाई कारवाहीको लागि पत्र पठाएको जानकारी दिए ।
जग्गाधनी, स्थानीयबासी र सम्बन्धित वडाका जनप्रतिनिधिहरु समेतको सहमतिमा फोहोर व्यवस्थापनका लागि ढुवानी गर्दा सरोकोरवालाभन्दा बाहिरका मानिसहरुले ट्याक्टर रोक्ने, अवरोध गर्ने गरेको पत्रमा उल्लेख छ । नगरले फोहोरमैला व्यवस्थापन ऐन २०६८ बमोजिम आवश्यक कारवाही गरी फोहोरमैला व्यवस्थापन गर्ने कार्य सुचारु गरिदिन अनुरोध गरेको छ ।

