जेष्ठ ११, २०८२ शनिबार

ग्लोवल हाइजिन एण्ड सेनिटेशन कम्पनीले उठायो बिरिङमा फालेको फोहोर

बिर्तामोड । विरिङ खोलामा फालिएको फोहोर उठाइएको छ । तर, उठाइएको फोहोर कहाँ पुर्याइएको छ भन्ने जानकारी दिइएको छैन । फोहोर फाल्ने कम्पनीले मंगलवार राती ८ बजे खोलामा फालिएको फोहोर ट्याक्टरमा हालेर फिर्ता ल्याएको स्थानीयबासीले जानकारी दिए ।

राती बिरिङ पुलबाट खसालिएको फोहोर ३ किलोमिटर दक्षिणमा जम्मा भएको थियो । फोहोर जम्मा भएपछि त्यसको व्यापक विरोध भएको थियो । विरोधका बाबजुत फोहोर फाल्ने कनकाई नगरपालिका ७ का छुत्तहर मल्लिक सञ्चालक रहेको ग्लोवल हाइजिन एण्ड सेनिटेशनले खोलाबाट फोहोर उठाएको छ । खोलामा कनकाई हस्पिटल, मनमोहन अस्पताल र बिर्तामोड आँखा अस्पतालको फोहोर भेटिएको थियो ।

प्राप्त जानकारी अनुसार सो कम्पनीले बिर्तामोड क्षेत्रमा रहेका विएण्डसी बाहेक अस्पतालहरुको फोहोर उठाउने जिम्मा लिएको छ । मासिक न्यूनतम २५ हजार रुपैयाँसम्म लिएर फोहोर उठाइरहेको बुझिएको छ । कम्पनीले बाह्रदशी क्षेत्रमा रहेको जग्गामा फोहोर व्यवस्थापन गर्ने सम्झौतामा उल्लेख छ । फोहोर उठाइसकेपछि अस्पतालहरु जिम्मेवार नहुने कम्पनीसँग सम्झौता छ ।

मानव जीवन, जैविक विविधता र पर्यावरण मै गम्भीर असर पुग्ने गरी फोहोर फालिएको भन्दै कनकाई गरपालिकाले समेत आपत्ति जनाएको थियो । वडा नं. ९ ले दोषी पत्ता लगाई कारबाहीका लागि माग नै गरेको थियो । आज झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले अस्पतालहरुका प्रतिनिधि र फोहोर फाल्ने कम्पनीहरुलाई छलफलका लागि बोलाएका छन् ।

प्रकाशित मिति : भाद्र ८, २०७९ बुधबार  ४ : २८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]