जेष्ठ ११, २०८२ शनिबार

चुनावका लागि थप १५ हजार म्यादी प्रहरी भर्ना गरिने

काठमाण्डाै – सरकारले आउँदो मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि थप १५ हजार जना म्यादी प्रहरी भर्ना गर्ने भएको छ । आउँदो चुनावमा मतदानस्थल र मतदाता सङ्ख्या बढ्ने भएकाले पालिकाको चुनावमा भन्दा धेरै म्यादी प्रहरी भर्ना गर्न लागिएको हो । गएको  वैशाख ३० गते भएको पालिकाको चुनावमा एक लाख जना म्यादी प्रहरी भर्ना भएका थिए ।

नेपाल प्रहरीले  प्रदेश र प्रतिनिधि सभाको चुनावमा १ लाख २० हजार  जना म्यादी प्रहरी भर्नाको प्रस्ताव गरेको भए पनि  अर्थ मन्त्रालयले पाँच हजार घटाएर बजेटको सुनिश्चितता गरेको हो ।

सुरक्षा निकायलाई बजेट तय गरी अर्थले त्यससम्बन्धी पत्र हिजो गृह मन्त्रालयमा पठाएको छ । जसअनुसार १ लाख १५ हजार म्यादी प्रहरी ४० दिन खटिँदा लाग्ने झण्डै ६ अर्ब रुपैयाँ बजेटको सुनिश्चितता दिइएको छ ।

चुनावी सुरक्षाका लागि अर्थ मन्त्रालयबाट बजेटको सुनिश्चितता आएको र त्यसले सुरक्षा योजना बनाउन सहज हुने गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले बताउनुभयो ।  यसैबीच यसपटक म्यादी प्रहरीको तलब पनि बढेको छ । यसअघि २२ हजार ६ सय ८० रुपैयाँ तलब रहेकोमा यसपटक २६ हजार ८२ रुपैयाँ पाउनेछन् । यसका अतिरिक्त सम्बन्धित जिल्लाको दररेटअनुसारको रासनभत्ता पनि म्यादीले पाउनेछन् । यस्तै म्यादी प्रहरीको सङ्ख्या जस्तै चुनावमा खटिने प्रहरीको सङ्ख्या पनि यसपटक धेरै हुनेछ ।

यसपटक सरकारी कर्मचारी तथा कैदीले पनि मतदान गर्न पाउने भएकाले मतदानस्थल र मतदान केन्द्र बढ्ने निर्वाचन आयोगले जनाएको छ ।  पालिकाको चुनावमा ६२ हजार प्रहरी खटिएकोमा यसपटक ७२ हजार प्रत्यक्ष खटिने निर्वाचन आयोगले जनाएको छ । 

प्रकाशित मिति : भाद्र १३, २०७९ सोमबार  ८ : ५८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]