जेष्ठ १२, २०८२ आईतबार

अधिकांश फर्किएनन् भिजिट भिसामा विदेशिएका नेपाली

काठमाडौँ । पछिल्लो छ महिनामा खाडी मुलुकमा मात्र ५३ हजार ५४ नेपाली भिजिट भिसामा गएका छन्। संयुक्त अरब इमिरेट्स (यूएई)लगायत खाडी मुलुकमा भिजिट भिसामा गएका तीमध्ये अधिकांश फर्किएका छैनन्।

अध्यागमन विभागको तथ्याङ्क अनुसार गत फागुन २७ देखि भदौ १० गतेसम्म सबैभन्दा बढी खाडी मुलुक दुबईमा ३९ हजार ६३० जना भिजिट भिसामा गएका छन्। यसैगरी कतार एक हजार ३८६ जना, साउदी अरब एक हजार ८१, ओमन ७९६, कुवेत ५२८ र बहराइन ३०४ जना भिजिट भिसा गएकामध्ये अधिकांश फिर्ता भएका छैनन्।

आकर्षक रोजगारीको प्रलोभनमा विभिन्न गिरोहले भिजिट भिसामा युवतीलाई खाडी मुलुक पु–याई अलपत्र तथा बन्धक बनाएको पाइएपछि मानव बेचबिखनमा पर्ने गरेपछि नेपाल सरकारले भिजिट भिसामा रोक लगाएको थियो।

पछिल्लो समय भिजिट भिसामा दुबई जान लागेका ११४ जना युवती र १०३ जना युवकका कागजपत्र नक्कली पाइएपछि प्रहरीले विमानस्थलबाट फिर्ता गरेको थियो। यस घटनाले फेरि खाडी मुलुकमा भिजिट भिसाको आवरणमा मानव तस्करी भएको आशङ्का गरिएको छ।

यति मात्र होइन त्यसरी विदेश पठाउँदा डलरको अपचलन गर्ने र उताबाट सुनको तस्करी बढेको अनुमान अनुसन्धानमा संलग्न प्रहरीको छ। २०७८ फागुन २७ गते भिजिट भिसासम्बन्धी कार्यविधि जारी भई भिजिट भिसा पुनः खुला भएपछि यूएई जानेको सङ्ख्या अत्यधिक देखिएको छ। भिजिट भिसामा पछिल्लो दुबई जाने यात्रुले प्रयोग गरेका कागजपत्र नक्कली रहेको पाइएपछि प्रहरीले अनुसन्धान सुरु गरेको छ। भिजिट भिसामा युवतीलाई दुबई पु–याउने दलालदेखि विमान र अध्यागमनका कर्मचारीको समेत मिलेमतोको आशङ्का छ। यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रकाशित मिति : भाद्र १४, २०७९ मंगलबार  ८ : ५१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]