सार्वजनिक स्थानमा फोहोर फाल्नेलाई बिर्तामोडले गरायो पाँच हजार जरिवाना
बिर्तामोड । सार्वजनिक स्थानमा फोहोर फाल्नेलाई बिर्तामोड नगरपालिकाले पाँच हजार जरिवाना गरेको छ । आज नगर प्रहरीले सार्वजनिक स्थानमा फोहोर फाल्दै गरेको अवस्थामा पिकअप नियन्त्रणमा लिई जरिवाना गराएको नगर प्रहरीका प्रमुख किरण पाण्डेले जानकारी दिए ।
बिर्तामोडको नयाँ बसपार्क प्रवेश गर्ने ठाउँ नजिकैको चिया बगान छेउमा फोहोर फाल्ने क्रममा मे १ च १९७० को पिकअपलाई बिर्तामोड नगर प्रहरीले गस्तीको क्रममा नियन्त्रणमा लिएको हो । पिकअपका सञ्चालक कनकाई–६ का मदन प्रसाद ढकालसहित पिकअप नियन्त्रणमा लिएर जरिवाना गराइएको छ ।
बिर्तामोड नगरपालिकाले फोहोरमैला व्यवस्थापन ऐन अन्तर्गत स्थानीय तहले तोकेको समय र स्थान बाहेक अन्यत्र फोहोरमैला फालेको कसुरमा जरिवाना गरेको जनाएको छ ।