गाउँका दुःख संसद् र सिंहदरबार पुर्याउने एक सांसद
बिर्तामोड । झापा क्षेत्र नंं ४ का निवर्तमान सांसद एलपी साँवा गाउँ ठाउँका समस्या संसदमा पु¥याउने नेता हुनुहुन्छ । अन्य क्षेत्रका सांसदले राजनीतिका कुरा गरिरँहदा साँवा आफ्नो क्षेत्रमा खोला कटान,विद्यार्थीले पाठ्यपुस्तक नपाएको,अस्पताल,धानबालीलाई बाढीले बगाएको जस्ता सवालहरू संसदमा उठाउनु हुन्छ ।

सांसद भएर गएपछिका पाँच वर्ष उहाँले संसदमा यस्तै विषयहरू उठाएर सरकारको ध्यान झापा क्षेत्र नं ४ मा केन्द्रित गर्न आग्रह अनुरोध गरिरहनु भयो । त्यति मात्र होइन उहाँले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समसामयिक विषय होस् वा आफ्नो क्षेत्रका नागरिकका जनजीवनको समस्या । उहाँले नीति निर्माणको सर्वोच्च थलो संसदमा राष्ट्रकै ध्यान खिच्ने गरी आवाज उठाउनु भएको छ ।
गत वर्षायामको बाढीमा नागरिकलाई कनकाई, कमल लगायतका खोलाबाट बचाउन स्थानीयवासीसँगसगै अहोरात्र खटिनु भएका उहाँ संसद् चल्ने समय भए पछि काठमाडौँ पुग्नु भयो । आफैँ पिडाको भुक्तभोगी भएर संसदमा पुग्नु भएका उहाँले साउन २२ गते कनकाई, कमल, बिरिङ् लगायतका नदी कटान नियन्त्रण गर्न जोडदार रुपमा ध्यानाकर्षण गराउनु भयो ।
यति मात्रै होइन त्यस अघि असार ९ गते समेत उहाँले संसदमा आफ्ना कुरा राख्ने क्रममा ती नदीहरूले कटान तीव्र बनाएको भन्दै अविलम्ब नियन्त्रणको प्रक्रिया थाल्न माग गर्नु भयो । कमल बनियानीले सालमारा क्षेत्रमा सयौं विगाह जमिन कटान गरी रहेको विषयमा पनि उहाँले संसदको ध्यान आकर्षण गराए पछि नियन्त्रणका प्रक्रियाहरू सुरु भएका हुन् ।
विगत देखिनै साँवाकै जोडबलमा जनताको तटबन्ध कार्यक्रम अन्तर्गत ती खोला नदीहरूको कटान र बाढी नियन्त्रणको काम हुँदै आएको थियो । तर सो कार्यक्रमनै वर्तमान सत्ता गठबन्धनले खारेज गरी दिए पछि उहाँ निरन्तर नदी कटान नियन्त्रणको कामलाई तीव्रता दिन माग गर्दै आउनु भएको छ ।
विद्यार्थी र सुकुमवासीहरुका कुरा
साँवा निरन्तर आफ्नै निर्वाचन क्षेत्रमा खटिने र आवश्यक समयमा काठमाडौँ पुगेर संसद् मार्फत राष्ट्रको ध्यानाकर्षण गराउने क्रमले नागरिकले तत्कालै राहत महसुस पनि गर्ने गरेका छन् । उहाँले गत असारमा विद्यार्थीहरूले पाठ्यपुस्तक पाउन नसकेको विषय उठाएर ध्यानाकर्षण गराउनु भएको थियो । त्यस पछि पाठ्यपुस्तक छपाई तथा वितरणको जिम्मेवारी लिएका निकायहरूले सार्वजनिक रुपमानै ढिलाइको कारण बारे जानकारी गराएका थिए ।
यस्तै असार ३१ गते उहाँले भूमिहीन सुकुम्वासीहरूको पक्षमा उठाएको आवाजले पनि नीति निर्माता र सरकारको ध्यान खिच्यो । एमाले नेतृत्वको सरकारले देवी ज्ञवालीको नेतृत्वमा आयोग गठन गरी सुकुमवासीहरुलाई धनीपूर्जा वितरणको प्रक्रिया अघि बढाई रहेका बेला अकस्मात् आयोग विघटन गरी विपन्न, भूमिहीन, सुकुमवासीहरु माथि सरकारले प्रहार गरेको विषय उहाँले प्रष्टसँग राख्नुभयो । ११ लाख ८० हजारको दलित, विपन्न, भूमिहीनको लगत संकलन गरी सकेको अवस्थामा देवी ज्ञवाली नेतृत्वको आयोग खारेज गरी सत्ता गठवन्धनले बनाएको आयोग एक वर्ष सम्म किन चुप लागेर बसेको भनी उहाँले गम्भीरतापूर्वक प्रश्न उठाउनु भएको थियो ।
नागरिकताको विषय
जन्मसिद्ध नागरिकता पाएका व्यक्तिका सन्तान नागरिकता विहीन हुनु परेको दुःखदायी अवस्था छ अहिले । गैह्र नेपालीले नागरिकता नपाउन तर कुनै पनि नेपाली नागरिक नागरिकता विहीन हुन नपरोस् भनेर एमालेले अघि सारेको प्रक्रिया अहिलेको गठबन्धन सरकारले लत्त्यायो । यसै कारणले अहिले लाखौँ नागरिक नागरिकता विहीन हुनु परेको छ । त्यस्ता लाखौँ नागरिकको आवाज उहाँले गत साउन ६ गते कडारुपमा संसदमा उठाउँदा एउटा गम्भीर विषयमा संसद्को ध्यान गएको थियो ।
जन्मसिद्ध नागरिकता पाएका वास्तविक नेपालीका सन्तानले नागरिकता नपाएको विषयलाई गम्भीर रूपमा उहाँले बारम्बार संसदमा उठाउँदै आउनु भएको थियो । उहाँले त्यस अघि जेठ २९मा पनि नागरिकका सन्तानले नागरिकता नपाएको विषयलाई संसदमा उठाउँदा अहिलेको गठबन्धन सरकार नाजवाफ भएको थियो ।
किसान र उपभोक्ताको पक्षमा
संसदमा निरन्तर रूपमा किसान तथा आम उपभोक्ताहरूको पक्षमा आवाज उठाउने संसद्को रूपमा पनि चिनिनु हुन्छ, एलपी साँवा । सरकारले ल्याउन लागेको त्यस बेलाको बजेट माथि आफ्नो धारणा राख्ने क्रममा उहाँले ०७९ वैशाख २५ गते कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, उद्योग मन्त्रालय लगायतको बजेटका बारेमा कडा र प्रष्टसँग आफ्ना कुराहरू राख्नु भएको थियो ।
यस्तै २०७९ असार १२ मा महँगीको मार, आर्थिक संकट लगायतका विषयमा संसदमा बोलेर पनि किसान, उपभोक्ता र विपन्नहरूलाई राहत दिलाउन उहाँले माग गर्नुभयो । पेट्रोलियम पदार्थमा भएको उच्च मूल्यवृद्धि विरुद्ध पनि उहाँले संसदमा जोडदार आवाज उठाउनु भएको थियो । त्यसो त उहाँले हुलाकी सडक, कनकाई तथा विरीङ् नदीमा पुल बन्न भई रहेको ढिलाइका बारेमा पनि पटक पटक आवाज उठाउनु भएको छ ।
आसन्न मंसिर ४ को निर्वाचनमा समेत साँवा नेकपा एमालेको तर्फबाट प्रतिनिधिसभाको उम्मेदवार बन्नु भएको छ । झापा क्षेत्र नंं ४ का गाउँ गाउँमा पुगेर मतदातासँग भेट गरिरहँदा उहाँलाई मतदाताहरूले विगतमा समेत आफ्ना आवाजहरू संसदमा उठाई दिएको भनेर गर्व गर्ने गरेका छन् ।