जेष्ठ १, २०८२ बुधबार

इन्धन आयात ११ प्रतिशतले घट्यो

काठमाडौँ । चालू आर्थिक वर्षको पाँच महिना (साउन–मङ्सिर) मा इन्धन आयात ११ प्रतिशतले घटेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार पाँच महिनाको अवधिमा ८९ अर्ब ३० करोड ९६ लाख छ हजार रुपियाँ बराबरको नौ लाख ८८ हजार ९२८ किलोलिटर (डिजेल, पेट्रोल, मट्टीतेल, हवाई इन्धन, ग्यास) आयात भएको छ ।

अघिल्लो वर्ष सो अवधिमा एक खर्ब ९८ करोड ८२ लाख ९८ हजार रुपियाँ बराबरको २० लाख ५५ हजार ५९३ किलोलिटर इन्धन आयात भएको थियो ।

इन्धन आयात परिमाणमा आधाभन्दा बढीले घटेको छ । निगमका प्रवक्ता विनीतमणि उपाध्यायले इन्धनको खपत कम हुँदा आयातमा कमी आएको जानकारी दिनुभयो । विकास निर्माणको काम नहुँदा इन्धन खपतमा कमी आएको उहाँले बताउनुभयो । भारतमा भन्दा नेपालमा इन्धनको मूूल्य महँगो भएका कारण पनि खपतमा कमी आएको उहाँको भनाइ छ ।

तरलता अभाव, बैङ्कको चर्काे ब्याजदरले औद्योगिक उत्पादनमा कमी आउनु र विकास निर्माणको काम नहुँदा इन्धनको खपतमा कमी आएको निगमले जनाएको छ ।

निगमका अनुसार कुल खपतको २५ देखि ३० प्रतिशत डिजेल औद्योगिक प्रयोजनमा खपत हुने गर्छ । जलविद्युत् निर्माणमा बढी डिजेलको खपत हुने गरेकामा पछिल्लो समय निर्माण कार्य ठप्प अवस्थामा छ ।

विभागका अनुसार पाँच महिनाको अवधिमा २८ अर्ब ५९ करोड ६१ लाख रुपियाँ बराबरको दुई लाख ७९ हजार ४५९ किलोलिटर पेट्रोल आयात भएको छ ।

त्यस्तै ५५ अर्ब ४८ करोड ५९ लाख ७० हजार रुपियाँ बराबरको चार लाख २४ हजार ५१० किलोलिटर डिजेल आयात भएको छ । यसबाहेक नौ अर्ब २० करोड ३४ लाख ३३ हजार रुपियाँ बराबरको ७४ हजार २२१ किलोलिटर हवाई इन्धन र ५८ करोड २९ लाख २५ हजार रुपियाँ बराबरको चार हजार ३४४ किलोलिटर मट्टीतेल आयात भएको विभागको तथ्याङ्क छ ।

पाँच महिनामा २३ अर्ब ७५ करोड आठ हजार ६३८ रुपियाँ बराबरको खाना पकाउने एलपी ग्यास आयात भएको छ । भारतको तुलनामा नेपालमा इन्धनको मूल्य महँगो भएकाले खपतमा उल्लेख्य कमी आएको निगमले जनाएको छ ।

भारतमा भन्दा नेपालमा पेट्रोल प्रतिलिटर १५ रुपियाँ र डिजेल २५ रुपियाँ महँगो छ । यसअघि भारतमा भन्दा नेपालमा मूल्य सस्तो हुँदा तस्करी भएर भारतमा जाने गरेको थियो ।

३९ अर्ब राजस्व सङ्कलन

चालू आर्थिक वर्षको पाँच महिनामा इन्धन आयात गरेर ३९ अर्ब १७ करोड ४८ लाख रुपियाँ राजस्व सङ्कलन भएको छ । इन्धनमा विभिन्न शीर्षकमा राजस्व सङ्कलन हुने गर्छ ।

प्रतिलिटर पेट्रोलमा कुुल राजस्व ६३ रुपियाँ ३६ पैसा, डिजेलमा ४७ रुपियाँ ०३ पैसा, मट्टीतेलमा १३ रुपियाँ ७५ पैसा, हवाई इन्धनमा २६ रुपियाँ ३० पैसा र खाना पकाउने ग्यास प्रतिसिलिन्डरमा ३११ रुपियाँ सङ्कलन हुने गर्छ । भन्सार बिन्दुुमा सङ्कलन भएको राजस्व सरकारको खातामा जम्मा हुने गर्छ ।

भन्सार शुुल्कबापत प्रतिलिटर पेट्रोलमा २५ रुपियाँ २० पैसा, डिजेलमा १२ रुपियाँ, मट्टीतेलमा १२ रुपियाँ, हवाई इन्धनमा दुई रुपियाँ १० पैसा र ग्यासमा ९१ रुपियाँ ८२ पैसा सङ्कलन हुने गर्छ ।

मूल्य अभिवृद्धि कर (भ्याट)बापत पेट्रोलमा २० रुपियाँ ८२ पैसा, डिजेलमा १९ रुपियाँ ७९ पैसा, हवाई इन्धनमा २१ रुपियाँ ८६ पैसा र ग्यासमा २०१ रुपियाँ सङ्कलन हुने गर्छ ।

यस्तै पूर्वाधार करबापत प्रतिलिटर डिजेल÷पेट्रोलमा १० रुपियाँ सङ्कलन हुने गर्छ । सडक मर्मत दस्तुरबापत पेट्रोल प्रतिलिटरमा चार रुपियाँ र डिजल प्रतिलिटरमा दुुई रुपियाँ सङ्कलन हुने गर्छ । वातावरण शुुल्कबापत प्रतिलिटर डिजेल र पेट्रोलमा एक रुपियाँ ५० पैसा सङ्कलन हुने गर्छ । आजको गोरखापत्रमा लक्ष्मी सापकोटाले समाचार लेखेका छन् ।

प्रकाशित मिति : पुष १२, २०७९ मंगलबार  ९ : १६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]