मुख्यमन्त्रीलगायतका पदहरूको बाँडफाँट गर्न सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी
काठमाडौं । मुख्यमन्त्री बाँडफाँट,सरकारका काम र समसामयिक विषयमा छलफल गर्न अहिले बिहान ९ बजे सत्तारुढ गठबन्धनको बैठक बसिरहेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा हुने बैठकमा सातवटै प्रदेशका मुख्यमन्त्रीहरू कुन पार्टीको भागमा कसरी विभाजन गर्ने भन्ने विषयमा अन्तिम टुंगो लगाउने तयारी छ । हालसम्म सहमतिको खाका तयार भए पनि त्यसलाई अन्तिम रूप दिन बाँकी छ ।
हिजो प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भएको छलफलमा एमालेले चारवटा प्रदेशका, माओावदीले दुईवटा प्रदेश र जसपा वा जनतमले प्रदेश नं २ मा मुख्यमन्त्री लिने सहमति भएको स्रोतको भनाइ छ ।
उक्त छलफलमा माओवादीले बागमती र सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री लिने, एमालेले प्रदेश नं १, गण्डकी, लुम्बिनी र कर्णालीको मुख्यमन्त्री लिने प्रारम्भिक सहमति बनेको थियो । तर साँझ माओवादीका केही नेताहरूले आफूहरूले बागमती भन्दा लुम्बिनी वा कर्णालीको मुख्यमन्त्री लिन चाहेको बताएका थिए ।
‘हाम्रो पार्टी कर्णालीमा सबभन्दा ठूलो हो त्यसैले हाम्रो दाबी त्यहाँ हुन्छ । यसैगरी सुदूरपश्चिमको साटो लुम्बिनीमा हाम्रो दाबी छ’ माओवादी केन्द्रका एक नेताले भन्नुभयो ‘प्रदेश नं १, बागमती, सुदूरपश्चिम र गण्डकी एमालेले राख्दा हुन्छ ।’ ति सबै विषयमा अहिले बिहान हुने बैठकले टुंग्याएर भोलिदेखि प्रदेशका सरकारहरू गठनको प्रक्रिया सुरु हुने नेताहरूले बताएका छन् ।