सरकारको न्यूनतम साझा कार्यक्रम बनाउन ओलीको नेतृत्वमा कार्यदल निर्माण
काठमाडौं । सत्ता साझेदार दलले सरकारको न्यूनतम साझा कार्यक्रम तयार गर्न कार्यदल निर्माण गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटरमा बिहीबार बिहान बसेको सत्ता साझेदार दलको बैठकले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई कार्यदलको संयोजक तोकेको गृहमन्त्री रवि लामिछानेले जानकारी दिए । कार्यदलमा सत्ता गठबन्धन दलबाट एक एक जना प्रतिनिधि रहने छन् ।
कार्यदललाई पाँच दिनभित्र न्यूनतम साझा कार्यक्रम बनाउन कार्यदेश दिइएको गृहमन्त्री लामिछानेले बताए । न्यूनतम साझा कार्यक्रम बनाइसकेपछि मात्र मन्त्रिपरिषद् बिस्तार हुने जनाइएको छ ।
सत्ता गठबन्धनमा एमाले‚ नेकपा (माओवादी केन्द्र)‚ राष्ट्रिय स्वतन्त्र पार्टी‚ राष्ट्रिय प्रजातन्त्र पार्टी‚ जनता समाजवादी पार्टी जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी रहेका छन् ।