झापा गोल्डकप अन्यौल
बिर्तामोड । भद्रपुरमा फागुन ७ देखि १६ गतेसम्म ‘भद्रपुर झापा गोल्डकप’ हुने निश्चित भएको छ । भद्रपुरमा गोल्डकपको तयारी गरेसँगै बिर्तामोडमा हुने झापा गोल्डकप अन्यौल भएको छ । झापा गोल्डकप आयोजक समितिले अहिलेसम्म गोल्डकप हुने, नहुने बारे निश्चित गर्न सकिरहेको छैन ।
झापा गोल्डकप आयोजक समितिका अध्यक्ष बिनोद बस्नेतले केहि दिनमै गोल्डकप बारे बैठक बसेर निर्णयमा पुग्ने जानकारी दिए । झापा गोल्डकपको तयारी गर्ने समयमा भद्रपुरमा समेत भद्रपुर गोल्डकप आयोजना गरिएको छ । अध्यक्ष बस्नेतका अनुसार एन्फाले गोल्डकप गर्न समय समेत निर्धारण नगरेका कारण बैठकभन्दा अघि केहि भन्न सकिने अवस्था छैन । उनले भने, ‘भद्रपुरलाई गोल्डकप नगर, हामी गर्छौ भन्न मिल्दैन । हामी फुटवल गर्छौँ तर, झापा गोल्डकप कै सिजन हुन्छ कि हुदैन भन्ने बारे अहिले नै टुङ्गो लागेको छैन ।’
०७२ सालदेखि सुरु भएको झापा गोल्डकप कोरोना महामारीका कारण दुई वटा सिजन हुन सकेन । त्यसपछि गत वर्ष पाँचौं सिजन भएको थियो । छैटौं सिजनको तयारी गर्ने बेला भद्रपुर झापा गोल्डकप हुन लागेको छ ।
भद्रपुरमा हुने गोल्डकपले यहाँ कुनै असर नगर्ने आयोजक समितिका महासचिव गजेन्द्र पौडेलको भनाई छ । उनले एन्फाको लिग खेल फागुन १९ देखि हुने भएपछि झापा गोल्डकपको तयारीबारे निर्णय लिन नसेकेको जानकारी दिए । हामीलाई फागुन २१ को समय दिइएको थियो, पौडले भने – ‘१९ बाट लिग हुने भएपछि २१ देखि गोल्डकप गर्न सकिदैन ।’ त्यसपछि पनि गर्न सकिन्छ भन्ने गरि सोच बनाएका छौं, उनले थपे, चैततिर गर्न सकिन्छ भन्ने लागेको छ । त्यो चाँहि आयोजक समितिको बैठक बसेर टुङ्गो लगाउने छ । हामी छिट्टै नै बैठक बस्दैछौं ।
मोफसलको सर्वाधिक राशीको झापा गोल्डकप बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुँदै आएको थियो । सोहि गोल्डकप डोमालाल रंगशालाको सट्टा मेची रंगशालामा लगिएको कतिपयको बुझाई छ । तर, झापा गोल्डकप आयोजक समितिले भद्रपुर झापा गोल्डकप अलग्गै गोल्डकप भएको जनाएको छ । यसअघि झापा गोल्डकपलाई पनि जिल्लाका अन्य मैदानमा वर्षैपच्छिे आयोजना गर्ने चर्चा गरिएको थियो ।
यता, झापा गोल्डकपका एक परिकल्पनाकार जलकुमार गुरुङले गोल्डकप आयोजना बारे आफुलाई जानकारी नभएको बताएका छन् । उनले आयोजक समितिलाई नै यसबारे थाहा हुने बताए ।
झापा गोल्डकप बारे गुरुङले भने, – ‘गोल्डकप कोरोना महामारी बाहेक रोकिएको थिएन । संभवतः यो वर्ष पनि रोकिदैन भन्ने लागेको छ ।’ झापा गोल्डकपको निरन्तरता आवश्यक छ । झापा गोल्डकप नेपालमा हुने अन्य गोल्डकपको तुलनामा लोकप्रिय छ । यहाँ फुटबलको क्रेज पनि राम्रो छ, गुरुङले थपे । राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा लोकप्रिय रहेको झापा गोल्डकप आयोजना हुनुपर्ने उनको धारणा छ ।
भद्रपुरमा आयोजना हुन लागेको भद्रपुर झापा गोल्डकपले उपाधि विजेतालाई १३ लाख र ट्रफी प्रदान गर्ने घोषणा गरिसकेको छ । झापा गोल्डकपको राशीभन्दा भद्रपुरले राशी बढाएको छ । मेची रंगशालाको पुनरुत्थानका लागि गोल्डकप आयोजना गर्न लागिएको बताइएको छ । मोफसलमा झापा ११ फुटबल क्लव र झापा गोल्डकप लोकप्रिय छ ।