‘वडाबासीलाई जंगली हात्तीबाट जोगाउनुछ’
बिर्तामोडका वडाहरुले चालू आर्थिक वर्ष २०७९-०८० मा गरेका विकास निमार्णका कामहरु सन्तोषजनक छन् । धेरै हौसिनुपर्ने वा आत्तिहाल्नु पर्ने अवस्था बिर्तामोडका देखिदैन । कामको अध्ययन तथा अनुगमन गर्ने क्रममा वडा नम्बर ७ लाई नियाल्दा ९० प्रतिशत योजनाका कामहरु सम्पन्न भइसकेको पाइएको छ ।
विर्तामोड–७ सँग पनि अन्य वडाहरु झैं एक करोड १५ लाख रुपैयाँको वडा बजेट रहेको थियो । यस वडाले आफ्नो बजेटबाट ८१ लाख २५ हजार रुपैयाँ भौतिक पूर्वधारको विकासका निम्ति विनियोजन गरेको थियो भने बाँकी रहेको ३३ लाख ७५ हजार रुपैयाँ प्रवद्र्धनात्मक सामाजिक विकासका निम्ति विनियोजन गरेको थियो । प्रवद्र्धनात्मक सामाजिक विकासलाई पनि यस वडाले प्रवद्र्धनात्मक र सचेतना तथा लक्षित कार्यक्रम गरी दुई भागमा विभाजन गरेको छ । वडाले प्रवद्र्धनात्मक तर्फ २१ लख ५० हजार रकम विनियोजन गरेको थियो भने सचेतना तथा लक्षित कार्यक्रम तर्फ १२ लाख २५ हजार रकम विनियोजन गरेको थियो ।
यस वडाले चालू आर्थिक वर्षमा आफ्नो वडा गौरवको रुपमा ‘रेखाचोक दक्षिण डाँडा गाँउ हुँदै रुद्र कार्कीको घर छेउ कल्र्भटसम्म कालोपत्रे’ गर्ने योजनालाई २५ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । ठेक्कामा ढिलाई हुँदा काम सम्पन्न गर्न नसकेको वडा अध्यक्ष कृष्ण प्रसाद खलेर ‘अविरल’ ले जानकारी दिएका छन् । उनले वडा गौरवको काम सम्पन्न गर्न धेरै प्रयास गर्दा पनि ठेक्का प्रकृयामा ढिलाई भएका कारण गर्न नसकेको स्वीकार गरे ।
यस वडाले आफ्नो बजेटको ठूलो प्रतिशत रकम भौतिक पूर्वधार तर्फको विकासको निम्ति विनियोजन गरेता पनि सामुदायिक भवन निर्माण, खानेपानी वितरण र शैक्षिक सुधारको निम्ति पनि बजेट विनियोजन गरेको थियो । अध्यक्ष खरेलले विर्तामोड–७ ग्रामीण भू–भाग भएकाले यहाँ भौतिक पूर्वाधार मार्फत सडक निर्माण कै धेरै माग हुने गरेको बताए । उनले नागरिकको अधिक मागहरुलाई सम्बोधन गर्न पनि सडकमा लगानी गर्नु परेको बताएका छन् ।
विर्तामोड–७ का वडा अध्यक्ष खरेलले सडकलाई मात्र विकासको पहिलो आवश्यकता नमानेको पाइएको छ । उनले शिक्षा र स्वास्थ्य र स्वच्छ खानेपानीमा नागरिकको पहुँचलाई पनि विकासको रुपमा बुझेको उनको कामले देखाएको छ । उनले यसै आर्थिक वर्षमा पाँच लाख लगानी गरेर आफ्नो वडामा खानेपानीको पाईप विस्तार गरेका छन् । यसैगरी श्री लक्ष्मी आधारभूत विद्यालय, श्री जनता प्रा.वि. र श्री गरामनी क्याम्पसमा शैक्षिक सुधार कार्यक्रम सञ्चालन गरेका छन् ।
यस वडाले भौतिक पूर्वधारको आफ्नो बजेट मध्येबाट पाँच लाख रुपैयाँ ‘शैक्षिक सुधार कार्यक्रम’को निम्ति विनियोजन गरिएको देखिएको छ । यसै गरी छ लाख रुपैयाँ विद्युत पोल व्यवस्थापन तथा स्तान्नतरण गर्न विनियोजन गरेको पाइएको छ भने वडाले आफ्नो बजेटबाट झोलुङ्गे पुलसमेत निमार्ण गरिएको छ ।
यसै गरी भौतिक पूर्वधार तर्फ खालबाडी टोलको रेखा पैनी मर्मत संभार र रेखा टोल विकास संस्थाको भवन निर्माणको काम पनि गरेको पाइएको छ । यस वडाले सडक विकास तर्फ स्तरोन्नति, ह्युम पाईप जडान, पेवर्स, कालोपत्रे र सडकको मर्मत संभारका विशेष प्राथमिकता दिएको पाइएको हो ।
यसै गरी समाजिक क्षेत्रको प्रवद्र्धनात्मक विकास तर्फ मन्दिर, मस्जिद र सामुदायिक भवनहरुको मर्मत संभार र व्यवस्थापनमा अधिक रकम विनियोजन गरेको पाइएको छ । यसका साथै वातावरण बिपद् व्यवस्थापनका निम्ति दुई लाख रुपैयाँ विनियोजन गरेको पाइएको छ । यस चालूू आर्थिक वर्षमा यस वडाले प्रवद्र्धनात्मक विकास तर्फ दुई वटा मन्दिर, तीन वटा सामुदायिक भवन र तीन वटा मदरसा तथा मस्जिदको मर्मत संभार तथा व्यवस्थापन गरेको छ । साथै तीन लाख रुपैयाँ रकम युवा तथा खेलकुदको निम्ति पनि विनियोजन गरेको पाइएको छ ।
विर्तामोड–७ ले यस चालू आवमा सचेतना तथा लक्षित कार्यक्रम अन्तर्गत बालबालिका तथा जेष्ठ नागरिक प्रोत्साहन कार्यक्रम, आदिवासी जनजाति उत्थान विकास कार्यक्रम, महिला सशक्तिकरण तथा आयआर्जन कार्यक्रम, दलित लक्षित सशक्तिकरण कार्यक्रम, अशक्त तथा अपागंता भएका व्यक्तिहरुको क्षमता विकास कार्यक्रम र विपन्न परिवारलाई ट्युबेल जडान लगायतका कार्यक्रमहरु सम्पन्न गरेको छ ।
टोल विकास संस्थाको क्षमता विकास तथा विभिन्न तालिम कार्यक्रम, उच्च शिक्षाका लागि विपन्न परिवारका १० जेहेन्दार विद्यार्थीहरुलाई जनही १० हजारका दरले छात्रावृत्ति र कृषकहरुलाई उन्नत जातको धानको बिउ वितरण लगायतको कार्यक्रमहरु सम्पन्न गरिएको छ ।
यस आवमा एउटा पनि नगरस्तरीय योजनाहरु सञ्चालन भएको पाइएन । साथै प्रदेश सरकारको पनि एउटा मात्र योजना सञ्चालन भएको वडा अध्यक्ष खेलले जानकारी दिए । उनका अनुसार चालू आ.वमा यस वडामा शहिद नेत्र पार्क भित्रको सिमसारमा घेराबारा गर्ने २० लाखको योजना सम्पन्न भएको छ । साथै यस वडामा चालू आवमा संघीय सरकारको पनि कुनै योजना सञ्चालन भएनन् ।
अध्यक्ष खरेलले आफ्नो मुख्य लक्ष्य यस क्षेत्रमा हात्ती आतंकलाई रोक्ने रहेको बताएका छन् । बिर्तामोडको वडाहरु ६, ७ र ८ विशेष गरी हात्ती पीडित वडा रहेको र हात्तीको कारण वर्षेनी हजारौ नागरिकहरु प्रभावित हुने गरेको उनको भनाई छ । साथै यहाँ हात्तीको कारण मानिसहरुले ज्यान समेत गुमाएका छन् । अध्यक्ष खरेलले हात्ती नियन्त्रणको सहज र भरपर्दो उपाय सोलार फेन्सीङ भएकाले यसको निम्ति प्रदेश र संघीय सरकारसँग समन्वय भइरहेको बताए । प्रदेश र संघीय सरकारबाट यसै आवमा यो समस्याको सम्वोधन हुने आश्वसन पनि प्राप्त भएको उनले बताए । दिनरातको सबैभन्दा ठुलो समस्या भनेको यहाँको जंगली हात्ती हो । जंगली हात्तीको आक्रमणबाट कसले कति बेला ज्यान गुमाउनुपर्ने हो थाहा छैन । यसैले म वडाबासीको सुरक्षित जीवनका लागि जंगली हात्तीको उपद्रो नियन्त्रणका लागि क्रियाशिल छु, उनले भने ।
यसका साथै शिक्षा क्षेत्रमा धेरै काम गर्ने आफ्नो लक्ष्य रहेको उनको भनाई छ । उनले आफ्नो पालामा शिक्षामा काम गरेर भविष्यका निम्ति असल नागरिक उत्पादन गर्ने आफ्नो लक्ष्य रहेको सुनाए । उनले असल नागरिक उत्पादन भए मात्र अन्य विकासको महत्व हुने भएकाले शिक्षामा धेरै काम गर्ने लक्ष्य बनाएको बताएका छन् ।