शहिद नेत्र पार्क : ११ लाखको डाइनोसर कामै नलाग्ने, अधिकांश संरचना विग्रियो
बिर्तामोड । झापाको बिर्तामोड – ७ मा वेवारिसे बनेको शहिद नेत्र पार्कको कतिपय संरचना कामै नलाग्ने अवस्थामा पुगेका छ । निर्माण समितिहरुको गैरजिम्मेवारी र वन समितिको संरक्षण अभावले नेत्र पार्कको करोडौंको संरचना प्रयोग गर्न नसकिने अवस्थामा पुगेको छ ।
सुन्दर निचाझोडा सामुदायिक वनभित्र रहेको पार्कमा विभिन्न आर्थिक वर्षमा २ करोड ९३ लाखभन्दा बढि रकमको संरचना निर्माण भइसकेको छ । ०७१ सालदेखि निर्माण सुरु भएको पार्कमा ०७८ सम्म निरन्तर बजेट आइरहेको थियो । बिर्तामोड नगरपालिका, प्रदेश सरकार, पर्यटन कार्यालय, वन समिति र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले करिव ३ करोड लगानी गरिसकेको तत्कालिन निर्माण समितिका सचिव टिका खरेलले जानकारी दिए ।
पार्कमा ११ लााख लगानी गरेर निर्माण गरिएको डाइनोसर कामै नलाग्ने अवस्थामा पुगेको सचिव खरेलको भनाई छ । उनका अनुसार डाइनोसरको म्याद नै गुज्रिसकेको छ । पार्कको उत्तर भागमा जडित डाइनोसर विधुतीय माध्यमबाट सञ्चालन गर्ने बनाइएको थियो । अहिले डाइनोसरको सबैजसो पार्टपुर्जा विग्रिसकेका छन् । यहि अवस्थामा डाइनोसर चल्ने अवस्थामा नरहेको उनको भनाई छ ।
यस्तै, १० लाखको लगानीमा पार्कभित्र खानेपानीको लागि ट्यूवेल जडान गरिएको थियो । अहिले एक थान ट्यूवेल भेटिएका छैनन् । सोही बजेटबाट सरसफाईको समेत काम गरिएको सचिव खरेलले जानकारी दिए ।
यस्तै, पार्कमा निर्माण गरिएको स्वीमिङ पुलको संरचना मापदण्ड विपरित भएको कतिपयले आरोप लगाएका छन् । अहिले स्वीमिङ पुलको छेउ भागहरु दविएका छन् । स्वीमिङ पुल निर्माणमा दुई पटक गरेर चेन्जिङ रुम सहित १ करोड खर्च भएको छ ।
बिर्तामोड –७ का वडाध्यक्ष अविरल कृष्ण खरेलले स्वीमिङ पुल निर्माणमा हदैसम्मको लापरबाही भएको बताएका छन् । उनले पार्कभित्र निर्माण भएका अधिकांश संरचना गुणस्तरहिन र मापदण्ड विपरित रहेको उनको भनाई छ ।
पार्कमा रहेको सिमसारमा बोटिङ गर्न खरिद गरिएका २ थान डुंगा र बालबालिका खेल्ने केहि सामग्री विराटनगरबाट १० लाखमा खरिद गरिएको थियो । अहिले ति सामग्री गोदाममा थन्किएका छन् । कतिपय सामग्री विग्रिसकेको छ ।
यस्तै, बाल उद्यानका नाममा २५ लाख भन्दा धेरै लगानी भएको पाइएको छ । तर, अहिले बाल उद्यानको कुनै नामनिशाना भेटिदैन । उक्त संरचना जंगलले पुरिएको छ । बाल उद्यानको लागि बनाइएको ठुलो फलामे ढोका समेत चोरी भइसकेको सचिव खरेलले जानकारी दिए । वन समितिले पार्कको संरचना संरक्षण गर्न नसकेकोमा खरेलले दुखेसो पोखेका छन् ।
शहिद नेत्र पार्कको विश्राम घर चर्किएको छ । भित्ता र भुँई भाग नै चर्किएपछि बस्न समेत जोखिम हुने अवस्था बनेको छ । विश्राम घर र पानी निकासको संरचना निर्माणमा ५ लाख खर्च गरिएको थियो ।
आज विहान वडाध्यक्ष खरेल, तत्कालिन निर्माण समितिका सचिव खरेलसहित स्थानीयले पार्कको अनुगमन गरेका थिए । सो क्रममा वडाध्यक्ष खरेलले कुनै पनि हालतमा नेत्र पार्क सञ्चालन गरिनुपर्ने बताए । उनले कुनै पनि बहानामा राज्यको ठुलो लगानी नोक्सान हुन नदिन आग्रह गरेका छन् ।
तत्कालिन एमाले नेता नरेश खरेलको अगुवामा बनेको पार्क वनभित्र २६.२ हेक्टरमा फैलिएको छ ।